
काठमाडौं । तीनपटकसम्म म्याद थप भैसकेका आयोजना चौथोपटक नथपिने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले यस अघि नै तीनपटक म्याद भएका आयोजनामा चौथोपटक म्याद नथप्ने बताएकी छन्। उनले तीन पटक म्याद थप्दा पनि काम सुरु नगर्ने निर्माण व्यवसायीलाइ कारबाही गर्ने दाबी गरिन्।
मन्त्रालयका धेरै आयोजना पटक पटक म्याद थप हुँदा पनि कामै नहुने भएपछि यस्तो निर्णय गरेको बताएकी छन्। उनले निर्माण व्यवसायीलाई काम गर्ने अवसर दिने तर काम सुरु नगरे कारवाही अघि बढाउने बताइन्।
‘म्याद थप्दा थप्दा बनेको सडकहरु पनि बिग्रिन थालिसकेको हुन्छ।’, उनले कर्मचारीहरुलाई भनिन्,’तपाइहरु नडराउनुस् हामी विकास गर्ने हो। उसैबाट काम गराउने हो । मरि गएनी काम गर्दिन भन्नेलाई कारबाही गर्ने हो।’ त्यस्ता आयोजनाहरुको विवरण संकलन गर्न निर्देशन दिएको उनले बताइन्।
५० देखि ६० प्रतिशत अहिलेको समस्या निर्माण व्यवसायीकै कारण भएको उनको भनाइ छ। खरिदमा प्रक्रियामा नै समस्या रहेकाले संशोध गर्न लागिएको उनले दाबी गरेकी छन्।
सबैभन्दा कम कबोल गर्ने कम्पनीलाई ठेक्का दिने प्रावधान रहेका कारण समस्या भएको उनको भनाइ छ। यसैगरी सात दिनभित्र देशभरि सबै रोकिएका काम पुन: सुरु गर्न मन्त्री यादवले निर्देशन दिएकी छन्।