काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ ठगी मुद्दामा गत गसोज १८ गते पक्राउ परे । सयौँको संख्यामा उनीविरुद्ध ठगीको उजुरी परेपछि उनलई प्रहरीले पक्राउ गरेको हो । हुन त केही वर्षअघि देखि नै इच्छाराजलाई प्रहरीले पक्राउ गर्न खोजेको थियो । तर राजनीतिक संरक्षणका कारणले पक्राउ गर्न प्रहरी असफल भएको भन्ने टिप्पणी हुँदै आएका छन् ।
केही वर्षकाे अन्तरपछि सरकार परिवर्तनसँगै प्रहरीले इच्छाराजलाई नियन्त्रणमा लिन भने सफल भएको छ । हाल इच्छाराज प्रहरी नियन्त्रणमै छन् । उनीविरुद्ध परेका उजुरी र ठगीमा उनको संलग्नताबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ ।
ठूलो संख्यामा जनशक्ति खटाएर इच्छाराजको ठगी प्रकरण अनुसन्धान भइरहेको सीआईबी प्रवक्ता श्यामकुमार महतो बताउनुहुन्छ । यो ठगी प्रकरण पनि केन्द्रीय अनुसन्धान ब्युरोमा हालसम्मकै ठूलो घटना भएको उहाँकाे भनाइ छ।
हाल घटना अनुसन्धानकै चरणमा रहेकोले धेरै कुरा भन्न नमिल्ने उहाँ बताउनुहुन्छ । अहिले इच्छाराजले अर्काको प्रोपटी (सम्पत्ति) कसरी ‘मिस युज’ गरे र कहाँ लगे भन्नेबारेमै अनुसन्धान भइरहेको उहाँले बताउनुभयाे ।
अनुसन्धान डकुमेन्ट १५ हजार पेजकाे
यो घटना अनुसन्धानका लागि त्यति सहज भने नरहेको प्रवक्ता महतो बताउनुहुन्छ । उहाँले भन्नुभयाे, ‘यति धेरै जना अनुसन्धानमा खटिएका छौँ, यो हालसम्मकै धेरै ठूलो ठगी मुद्दा हो । यो अनुसन्धानको डकुमेन्ट हेर्ने हो भने १५ हजार पेज नाघ्छ ।’
अहिले अनुसन्धान थालिएको ३३ दिन भएको र अझैँ २७ दिन अनुसन्धानको समय बाँकी रहेको उहाँको भनाइ छ । प्रहरीमा आएका उजुरीअनुसार इच्छाराजले १ हजार ३९० जनाबाट ५ अर्ब ४१ करोड ठगी गरेका छन् । उनी आफैँले विभिन्न २१ कम्पनी खडा गरेर सहकारीमार्फत उक्त रकम ठगी गरेका हुन् ।
अहिले आएका उजुरी र प्राप्त प्रमाणका बारेमा भेरिफाइ गर्दै अनुसन्धानलाई द्रुत गति दिइँदै गरेको प्रवक्ता महतोले बताउनुभयो ।
कसरी ठगी गरे इच्छाराजले ?
उनी आफैले विभिन्न कम्पनी खडा गरेर सहकारीमा रहेकाे निक्षेपबाट ५ अर्ब ४१ करोड रकम निकालेर दुरूपयाेग गरेकाे अनुसन्धानबाट खुलेको छ । ती कम्पनीका नाममा उनले सहकारीबाट ऋण निकालेका थिए । उनले सहकारीबाट निकालेको सबैभन्दा धेरै रकमको लगानी सिभिल होम्समा गरेको पाइएको अनुसन्धान अधिकृतहरुको भनाइ छ ।
कुरा २०६३ सालकै हो । करिब ११ सय घर तथा अपार्टमेन्टमा लगानी गरेर तामाङले पछि ती घरहरू बिक्री पनि गरे । यद्यपि बिक्री गरेपछि इच्छाराजले त्यहाँबाट उठेको रकम सहकारीलाई बुझाएनन् । बरू अरू थप घरजग्गामा लगानी पनि गरेका थिए । उक्त घर तथा अपार्टमेन्ट बेचेको रकम करिब ११ अर्ब हुने प्रहरी अनुसन्धानबाट पत्तो लागेको छ । तर इच्छाराजले त्यतिका रकम कहाँ लगे भन्नेबारे प्रहरी अनुसन्धानले पनि अहिलेसम्म पत्तो लगाउन सकेको छैन ।
उता इच्छाराजले भने उक्त सम्पत्ति अन्य कम्पनी स्थापना गर्ने क्रममा सकिएको प्रहरीसामु बताउँदै आएका छन् । तर त्यसमा पत्याउन नसकिने अनुसन्धान अधिकृतहरु बताउँदै आएका छन् । उनको वैदेशिक कारोबार पनि त्यति नभएको खुलेको छ ।
यसबारे अझै थप अनुसन्धानका लागि उनको परिवारका अन्य सदस्य तथा शंकास्पद व्यक्तितिर पनि अनुसन्धान भइरहेको अनुसन्धान व्युरो बताउँछ । सहकारीबाट लिएको ऋणको अन्य अंश कता प्रयोग भएको छ भन्ने पनि अझै आनुसन्धाकै क्रममा छ ।
राजश्वमा घाटा देखाइयाे
इच्छाराजले २०७० सालसम्म ४ अर्ब ऋण पुर्याइसकेका रहेछन् । त्यसयता उनले थप १ अर्ब ४१ करोड पुर्याएको पाइएको छ । उनले सिभिल ग्रुपमा कारोबार गर्दा राजश्व न्यायाधिकरणमा घाटा व्यहोरेको देखाएका छन् । तर त्यो समयमा उनले ११ अर्बको कारोबार गरेको पाइएको छ । जो घाटा होइन ।
सोही कम्पनीको कारोबारलाई सहकारीमा थप ऋण निकाल्दा नाफा भएको अडिट रिपोर्ट देखाएको पाइएको अनुसन्धान अधिकृतको भनाइ छ । फेरि उता राजश्व कार्यलयमा भने कम्पनी घाटामा भएको रिपोर्ट देखाइएको थियो । तर यो कर छली गर्ने दाउ भएको हुनसक्ने अनुसन्धान अधिकृतको भनाइ छ । यतिसम्म कि उनले सहकारीको ऋण पनि तिरेनन्, उता कर पनि तिरेनन् । यो अवस्थामा त्यतिका रकम कता गयो भन्ने विषय अझै रहस्यमय बनेकाे छ ।
यसरी लिन्थे सहकारीबाट रकम
सिभिल सहकारीमा करिब ८ अर्ब रकम शेयर सदस्यहरुबाट उठेकाे थियाे, जसमा इच्छाराजकै आफन्तको मात्रै १ अर्ब निक्षेप थियो । बाँकी ७ अर्ब रुपैयाँ अन्य सदस्यको थियो । उनले बचतकर्ताहरुलाई विभिन्न आकर्षक प्याकेजका साथै अन्य कम्पनीहरु देखाएर लगानी गर्ने भन्दै ऋण लैजाने गरेको निक्षेपकर्ताहरुको भनाइ छ ।
कर्मचारीहरुले पनि सहकारीले धेरै ब्याज दिने र नदिएको अवस्थामा अपार्टमेन्ट छँदैछ भन्ने गरेको थियो ।
पारिवारिक पृष्ठभूमि
इच्छाराज ओखलढुंगामा जन्मिएका भए पनि उनको परिवार पछि उदयपुर बसाइँ सरेको थियो । उनी सामान्य परिवारमा जन्मेका हुन् । तर पढाइमा ट्यालेन्ट थिए । एसएलसीमा उनले उदयपुरबाट जिल्ला टप पनि गरेका थिए ।
त्यसपछि उनी पुल्चोक इन्जिनियरिङ क्याम्पसमा ओभरसियर पढ्न थाले । त्यहाँ पनि उनी उनको ब्याचमा टप नै बने । त्यसपछि उनी छात्रवृत्तिमा इन्जिनियरिङ पढ्न रसिया पुगेका थिए । त्यसयता उनी काठमाडौँ फर्केर २०५० सालदेखि शिक्षण पेसामा आबद्ध समेत रहे भने त्यससँगै व्यवसायमा लागेका थिए ।
राजनीतिक आबद्धता
नेकपा एमाले आबद्ध रहेका इच्छाराज पूर्वसांसद समेत हुन् । उनलाई एमालेले संविधानसभा सदस्य समेत बताएको थियो । उनी संसदको अर्थसमिति सदस्य समेत बनेका थिए । सहकारीमार्फत ठगी गरेको आरोपमा उजुरी परेका बेला इच्छाराजलाई पक्राउ नगर्न प्रहरीलाई तत्कालीन एमाले सरकारकाे दबाब एवं संरक्षरण रहेकाे बताइन्छ । अहिले कांग्रेस नेतृत्वमा गठबन्धन सरकार रहेका बेला उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।
– कृष्ण कन्दङ्वा लिम्बू