![](https://businessbahas.com/wp-content/uploads/2021/08/export_import.jpg)
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ३ महिनामा नेपालको वैदेशिक व्यापारमा भएको वृद्धिले राजस्व संकलन समेत लक्ष्यभन्दा बढी भएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको प्रथम त्रैमासमा भन्सार राजस्व असुलीको लक्ष्य १ खर्ब २६ अर्ब रुपैयाँ रहेकोमा १ खर्ब ३६ अर्ब रुपैयाँ संकलन भएको छ ।
आयात निर्यातमा भएको वृद्धिले राजस्व संकलन समेत लक्ष्यभन्दा बढी भएको विभागका निर्देशक पुण्यविक्रम खड्काले बताएका छन् । कोभिड संक्रमणको दर घटेसँगै जनजीवन सामान्य बन्दै जानु, यातायात सञ्चालनमा वृद्धि र कतिपय वस्तुको पैठारीमा सरकारको नीतिगत व्यवस्थाले समेत आयात बढेको उनको भनाइ छ ।
सो अवधिमा नेपालबाट ६५ अर्ब रुपैयाँ बराबरको निर्यात हुँदा ४ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । आयात निर्यातमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा क्रमशः ६३.७ प्रतिशत र १०९.५ प्रतिशतले वृद्धि भएको हो । पेट्रोलियम पदार्थ, सवारीसाधन, सुनचाँदी, मोबाइल लगायत वस्तुको आयात उच्च रहेको विभागले जनाएको छ ।
कोभिड महामारीकै बीच गत आर्थिक वर्षमा नेपालको निर्यातको आकार पहिलोपटक १ खर्ब नाघेको थियो । भन्सार विभागका अनुसार सो अवधिमा १ खर्ब ४१ करोड रुपैयाँ बराबरको वस्तु निकासी भएको थियो । यस्तै आयात भने १५ खर्ब ३९ अर्बभन्दा बढीको भएको थियो ।