
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बढी कर्जा प्रवाह हुँदा तरलता अभाव भएको बताएका छन् ।
नेपाल बैंकर्स सङ्घको ३५ औँ साधारणसभामा गभर्नर अधिकारीले आर्थिक वर्षको सुरुमै सोचेअनुरुप रेमिट्यान्स नआउनु, आयात बढेर बाह्य क्षेत्रमा दबाब परेको र सरकारी खर्च बेलैमा नहुँदा तरलतामा चाप परेको बताए । गभर्नर अधिकारीले बैङ्क तथा वित्तीय क्षेत्रहरूलाई कर्जा लगानी र ब्याजदर समायोजन गर्दा संयमता अपनाउन आग्रह पनि गरे ।
उनले अर्थतन्त्रको पुनःरूत्थान चाँडो हुन ऋण विस्तार सहयोगी भएकाले पनि अभाव भएको उल्लेख गर्दै संयमित भएर ऋण विस्तार र ब्याज समायोजन गर्न आग्रह गरे ।
उनले नाफा मात्र खोज्ने प्रवृत्ति हुँदा ऋण विस्तार भएको भन्दै बैंकरमा अनुशासन कायम हुन जरुरी भएको बताए । उनले कोभिडको असहज अवस्थामा पनि बैंकले अर्थतन्त्र र वित्तीय क्षेत्र जोगाउन महत्वपूर्ण योगदान गरेको उल्लेख गरे ।