
काठमाडौँ । यो वर्ष तिहारमा १५ करोड रुपैयाँ भन्दा बढीको सयपत्री, मखमली र गोदावरी लगायतका फूलको कारोबार भएको छ ।
गत वर्ष कोरोना महामारीले व्यवसाय खुम्चिएको फुलको व्यापार यस पटक व्यवसायीहरूको अनुमान अनुसार नै कारोबार भएको छ ।
यसपाली तिहारमा करिब १५ करोड २० लाख ७५ हजार रुपैयाँको सयपत्री, मखमली र गोदावरी बिक्री भएको फोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिनुभयो ।
बजारको अवस्था हेरेर एसोसिएसनले कारोबारको आकार अनुमान गरेको थियो । गत वर्ष कोभिडले माग घट्दा १० करोड ७३ लाख रुपैयाँको फूल बिक्री भएको थियो ।
तिहारमा साँढे १८ लाखको सयपत्री–मखमलीको माला बिक्री हुने अनुमान थियो, सयपत्रीको माला मात्रै पनि करिब १८ लाख १५ हजार बराबरको बिक्री भएको अध्यक्ष तामाङले बताउनुभयो ।
तिहारमा मात्र ५२ लाख ५० हजारको गोदावरी फूलको माला बिक्री भएको छ । तिहारमा एक लाख मखमली मालाको निर्यात भएको एसोसिएसनले जनाएको छ प्रतिमाला ३० रुपैयाँको दरले ३० लाख रुपैयाँको माला निर्यात भएको छ ।
यस पटक भारतीय फूलको प्रभाव अनुमान गरे भन्दा बढी नै परेको फूल व्यापारीहरुले बताएका छन् । भारतीय फुलको कारण नेपाली सयपत्री फुलको कारोबार समेत खस्केको उनीहरुको भनाइ छ ।