
काठमाडौं । यो साताको पाँचै कारोबार दिन शेयर बजार बढेको छ । बजार अलिकति बढ्नसाथ प्रोफिट बुकिङ्गमा लागिहाल्ने शेयर कारोबारीहरु हाबी हुन नसक्दा बजारको उकालो यात्रा जारी रहेको हो ।
बजार तल्लो विन्दुमा पुग्दा शेयर किन्नेहरु शेयर बेच्न हतारीए पनि लाभांशमा आधारित रहेर लगानीगर्नेहरुको उपस्थिति बलियो बनेपछि बजारको वृद्धि टिकेको हो । सूचिकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेपछि द्धिर्घकालिन लगानीकर्ताहरुले लगानी बढाउन थालेका छन् ।
अल्पकालिन कारोबारीहरु बजारमा सक्रिय हुँदा सूचकमा उतारचढाब देखापरे पनि लगानीकर्ताहरु बजारमा क्रमश हाबी हुन थालेका छन् । जसले गर्दा औसत कारोबार पनि ५ अर्ब माथि पुगेको छ । केहि समय अघि दैनिक कारोबार २ अर्ब भन्दा कममा खुम्चिसकेको अवस्था थियो ।
यो साताको आइतबारदेखि बढेको बजार विहीबारसम्म आइपुग्दा निरन्तर उकालो लागेको छ । बजारले सुधारात्मक लय समाएपछि कारोबार रकममा समेत सुधार आउन थालेको छ । यसले आगामी दिनमा बजार अझै माथि उक्लने संकेत गरेको एक लगानीकर्ताले बताए ।
बिहीबार नेप्से सूचक १३.०४ अंकले बढेर २७८२.१६ अंकमा पुगेको छ । साताको पहिलो दिन आइतबार नेप्से २७.५१, सोमबार ८३.६३, मंगलबार ७८.८२ र बुधबार १८.०६ अंकले बढेको थियो । गत भदौ २ मा हालसम्मकै सर्वाधिक ३१९९ अंक पुगेको बजा २५१४ अंकसम्म झरेको थियो । यो साता मात्रै बजार २२१ अंकले बढिसकेको छ। बिहीबारको वृद्धिपछि नेप्से परिसूचक २७८२.१६ अंकमा उक्लिएको छ ।