२०८१ मंसिर २३ आईतवार

काठमाडौं। वित्तीय संस्थाहरुबाट डलरको माग उच्च दरमा भएपछि नेपाल राष्ट्र बैंकले टोली नै पठाएर बैंकहरुको अनुगमन गर्न थालेको छ। राष्ट्र बैंकले नेपालमा डलर कम आउने, बरु उल्टै राष्ट्र बैंकसँग खरीदका लागि धेरै माग आउन थालेपछि अनुसन्धान थालेको हो।

नयाँ आर्थिक बर्ष लागेपछि सटहीका लागि राष्ट्र बैंक डलर खासै गएको छैन। डलर बाहिरबाटै नआएको हो कि वा यहाँ बैंकहरुले लुकाए भनेर अनुगमन गरिएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्।

बैंकहरुले प्राथमिक पुँजीको ३० प्रतिशतसम्म डलर आँफैसँग राख्न सक्छन्। त्योभन्दा बढि भए राष्ट्र बैंकलाई लगेर बिक्री गरिहाल्नु पर्छ। त्यसैले डलर ९० प्रतिशतभन्दा बढि राष्ट्र बैंकसँग हुन्छ। राष्ट्र बैकको अनुमान अनुसार डलर नआएपछि उसले निगरानी बढाएको हो।

‘ठूलो समस्या होइन। तर डलर नआएपछि के रहेछ भनेर हेरिएको हो’ राष्ट्र बैंक विदेशी विनिमय ब्यवस्थापन विभाग स्रोतले भन्यो, ‘बैंकहरुले आयात बढि भएर भएकै पैसा अपुग भएको भनेका छन्। नभन्दै आयात पनि बढिरहेको छ।’

बैंकरहरु भने अहिले राष्ट्र बैंकले डलरका बारेमा गम्भीर अनुसन्धान गरिरहेको बताउँछन्। पछिल्लो समय डलरको नगद सटहीमा कडाइ गरिएको छ। यसबाहेक बैंकहरुले खाताबाट खातामै गर्ने डलरको कारोबारमा पनि निगरानी बढाएको छ।

बैंकहरुले पछिल्लो समय सीमाभन्दा बढि डलर लुकाएर राखेको हो कि भन्ने आशंका राष्ट्र बैंकलाई छ।

‘डलर अभाव भएपछी राष्ट्र बैंकमा किन्न जानेहरुको संख्या बढेको छ। यसले गर्दा उसले अलिकति बढि नै निगरानी गरेको छ,’ एक बैंकरले भने, ‘अचेल राष्ट्र बैंक हामी (बैंकहरुले) बेच्न जाँदा दङ्ग परेर किन्छ अनि उसले बेच्नु पर्यो भने मरेजस्तो गर्छ। कागज धेरै नै देखाउनु पर्छ। एकदमै खोजिनिधि बढेको छ।’

अहिले आयात उच्च भएर डलरको माग बढेको हो। साउनमा १ खर्ब ५० अर्बको आयात भयो भने भदौमा एक खर्ब ६२ अर्बको भएको छ। सामान आयातका लागि (भारतबाहेकमा) डलर भुक्तानी गर्नु पर्छ। अर्कोतिर डलरको प्रमुख स्रोत रेमिटेन्स घटेको छ भने पर्यटक आय निक्कै कम छ। यो बीचमा विदेशी मुद्रा आर्जन हुने बैदेशिक ऋण र सहायता पनि आएको छैन।

साउनमा विदेशी मुद्राको सञ्चिति नै ४४ अर्ब २१ करोडले घटेको छ। मासिक रेमिटेन्स आइ पनि १५ अर्ब १५ करोड रुपैयाँले घटेको छ। शोधनान्तर घाटा ३८ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। योबीचमा डलरको भाउ पनि घटेको छ। डलरको भाउ घट्दा विगतमा जस्तै यसपाली पनि रेमिटेन्स आय घटेको छ। साथै न्यूनबिजकीकरणमा सामान आयात गर्न रेमिटेन्स बिदेशमै होल्ड पनि हुन थालेको छ।

‘डलरको भाउ घटेको छ भनेपछि आयात गर्ने ब्यापारीहरुले फरवर्डमा डलर लक गर्न आउँछन्। फरवर्डको कारोबार ह्वात्तै बढ्छ। त्यसैले डलर थप अभाव हुन गयो,’ एक बैंकरले भने, ‘डलर अभाव भएपछि ग्राहकको एलसीको भुक्तानी पठाउन बैंकहरुले राष्ट्र बैंकसँगै सटही सुविधा लिए।’

डलरको माग लगातार उच्च दरले बढेपछि राष्ट्र बैंकले अनुसन्धान सुरु गरेको हो। ‘राष्ट्र बैंकलाई फेरि बैंकहरुनै पद्माश हुन् भन्ने लाग्छ। बैंकहरु चोर हुन् भन्ने कोणबाट सोचेर अनुसन्धान गर्ने बानी राष्ट्र बैंकको छ,’ ती बैंकरले भने, ‘खासमा प्वाल आयातका कारणले परेको हो। त्यस बारेमा राष्ट्र बैंक सचेत देखिएको छैन।’

राष्ट्र बैंकले रेमिटेन्स कम्पनीहरुको पनि अनुसन्धान थालेको छ। उताबाट रेमिटेन्स आएको तथ्यांक र यहाँ भुक्तानी गरेको तथ्यांक हेर्न थालेको छ। यद्यपी यसको कुनै गुञ्जायस नहुने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्। उनीहरुका अनुसार, पहिले यहाँ भुक्तानीका लागि कोष राख्ने भएकाले डलर उता होल्ड गर्ने संभावना कम हुन्छ।

राष्ट्र बैंकले केही दिनअघि मात्रै बैंकहरुलाई बोलाएर डलरको नगद सटही २०० डलरभन्दा बढि नदिन निर्देशन दिएको छ। पर्यटन भिसामा प्रति पासपोर्ट १५ सय डलर सटही सुविधा पाइन्छ। तर राष्ट्र बैंकले २ सय डलर नगद मात्र दिन भनेको छ। बाँकी कार्डको प्रयोग गर्न भनेको छ। अहिले राष्ट्र बैंकसँग नगद नोटको अभाव भएर सटहीमा कडाइ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय