
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँ लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताउनुभएको छ ।
आइतवार कान्ति बाल अस्पताललाई बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना विरुद्धको १ करोड खोप आउने सुनिश्चितता भइसकेको बताउनुभयो ।
यसका लागि ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको उहाँले बताउनुभयो । दशैँलगत्तै १ लाख फाइजर खोप आउने उहाँले जानकारी दिनुभयो । फागुनसम्ममा क्रमश खोप आउने र बालबालिकालाई उपलब्ध गराइने उहाँले बताउनुभयो ।
राज्यमन्त्री श्रेष्ठले सरकारले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै तिनै तहको अस्पतालको व्यवस्थापकिय पक्षलाई सुधार्न नीति बनाउने तयारी सरकारले गरेको बताउनुभयो ।
सरकारले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउन ध्यान दिएको उहाँको भनाई छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणको सम्बन्धमा मृत्यु भएका स्वास्थ्यकर्मीको बालबच्चालाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने पनि उहाँले बताउनुभयो ।
एक कार्यक्रमकाबिच बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पताललाई २५ वटा भेन्टीलेटरलगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
कोरोना संक्रमणको पहिलो लहरदेखि नै सरकारलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्दै फाउण्डेशनले संक्रमणको तेस्रो लहर आउनसक्ने सम्भावनालाई ध्यान दिदैँ पूर्वतयारी स्वरुप स्वास्थ्य सामग्री हस्तान्तरण गरेको फाउण्डेशनको नेपाल प्रतिनिधि महेश नकर्मीले बताउनुभयो ।
फाउन्डेशनले ४१ करोड ४८ लाख ४९ हजार ३०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री कान्ति बाल अस्पताललाई हस्तान्तरण गरेको बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनका नेपाल प्रतिनिधि महेश नकर्मीले जानकारी दिनुभयो ।