काठमाडौं । बाणिज्य बैंकले चालु आर्थिक बर्ष ऋण एक खर्ब ८२ अर्ब रुपैयाँले बढाएका छन्। निक्षेप भने २२ अर्ब रुपैयाँले घटेको छ।
बैंकर्स संघले उपलब्ध गराएको असोज ८ गतेसम्मको तथ्यांक अनुसार, एक सातामै बैंकहरुले ३१ अर्ब रुपैयाँले ऋण बढाएका छन्। जबकी पछिल्लो साता ८ अर्ब रुपैयाँले मात्र निक्षेपमा सुधार आएको छ।
उच्च दरको ऋण बिस्तार र घटेको निक्षेपका कारण कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ८८.३९ प्रतिशत छ। संघ स्रोतका अनुसार, केही बैंकको सीडी रेसियो राष्ट्र बैंकले तोकेको ९० प्रतिशतभन्दा माथि छ।
सञ्चालनमा रहेका २७ बाणिज्य बैंकहरुले नयाँ आर्थिक बर्ष लागेपछि कम्तिमा ९ अर्ब र अधिकतम ३१ अर्ब रुपैयाँसम्म सातामै ऋण बढाएका छन्। पछिल्लो साता सर्वाधिक ऋण बिस्तार भएको हो।
अहिले बाणिज्य बैंकहरुसँग कुल ऋण ३९ खर्ब ३ अर्ब पुगेको छ। यसमा २ अर्ब विदेशी मुद्राको ऋणको योगदान छ। निक्षेप ४१ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ।