![](https://businessbahas.com/wp-content/uploads/2021/08/bus-t-mk-e1628124326443.jpg)
काठमाडौं- दसैं मनाउन उपत्यका बाहिर जानेहरूका लागि असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ।
शुक्रबार यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीचको बैठकले असोज १० गतेबाट टिकट बुकिङ खुल्ला गर्ने सहमति गरेको हो।
यसअघि यातायात व्यवस्था विभागले असोज दोस्रो सातादेखि बुकिङ खुल्ला गराउने प्रस्ताव गरे पनि भाडाको विषयलाई लिएर व्यवसायी सकारात्मक देखिएका थिएनन्। प्रदेशमा पनि भाडा नबढेसम्म बुकिङ खुल्ला नगर्ने अडान लिएका व्यवसायी ब्याक भएसँगै बुकिङ खुल्ला गर्ने निर्णय भएको हो।
सङ्घीय सरकारले पछिल्लो पटक गत असार २७ गते भाडादर समायोजन गरेको थियो। त्यसै आधारमा सबै प्रदेश सरकारले र स्थानीय तहले भाडा समायोजन गर्नुपर्ने व्यवसायीहरुको माग थियो । व्यवसायीले भाडादर समायोजन चाँडो गर्न माग गर्दै आएका छन्।
विगतका वर्षहरूमा दसैंमा ठूलो संख्यामा यात्रुहरू उपत्यकाबाहिर जाने गरेका थिए। तर कोरोना महामारी सुरु भएसँगै विगतका तुलनामा केही कम यात्रुले सार्वजनिक यातायातका साधनमार्फत् उपत्यकाबाट बाहिरिने गरेका छन्।