२०८१ माघ २५ शुक्रबार

नेपाल राष्ट्र बैंकबाट चलन चल्तीको लागि निष्कासन गरिएका रु.१।– र रु.२।– दरको सिक्काहरूको मौज्दात घट्दै गएको, नेपालमा सिक्काहरूको प्रयोग दैनिक कारोबारको लागि भन्दा पनि सामाजिक कार्यमा वढी हुने गरेको, सर्वसाधारणमा सिक्कालाई जतन गर्ने बानी नबसेको, सिक्का सटही गर्ने पद्घति एकतर्फी (बिक्री) मात्र भएको तथा एकपटक प्रयोग भइसकेपश्चात् सिक्कालाई चलन चल्तीको प्रणालीमा पुनः फर्काउन नसकिएको लगायतका समस्याले भविष्यमा यसबाट उत्पन्न हुन सक्ने बैंकको प्रतिष्ठामा आउन सक्ने जोखिमलाई बढ्न नदिई सिक्का व्यवस्थापनसम्बन्धी कार्यलाई समयमै व्यवस्थित गर्न सिक्कासँग सम्बन्धित नीतिगत व्यवस्था, सिक्का व्यवस्थापनमा हाल भोग्नुपरेका व्यावहारिक समस्या र सुधारको निम्ति केही सुझावहरू तयार गरिएको छ ।

सिक्कासम्बन्धी नीतिगत व्यवस्था
नेपाल राष्ट्र बैंक ऐन २०५८, को दफा ५२ मा लेखिएका छ, ‘बैंकलाई नेपालभित्र बैंक नोट तथा सिक्का निष्कासन गर्ने एकाधिकार हुनेछ । यस्तो नोट तथा सिक्का नेपालमा कानुनी ग्राह्य हुनेछ ।’
– दफा ५३ः ‘बैंकद्वारा कानूनी ग्राह्य बनाई निष्काशन गरिएका बैंक नोट तथा सिक्का नेपालभित्र सबै किसिमको सार्वजनिक तथा व्यक्तिगत ऋण चुक्ता गर्न त्यस्तो नोट वा सिक्कामा अङ्कित रकम सम्मको निमित्त सर्वस्वीकार्य हुनेछ ।’
– दफा ५६ः ‘बैंकले कुनै शुल्क वा दस्तुर नलिई नेपालभित्र कानुनी ग्राह्य हुने बैंक नोट वा सिक्कालाई समान मूल्यको एकै वा विभिन्न दरको बैंक नोट वा सिक्कासँग सटही गरी दिनेछ ।’
– सफा नोट नीति, २०७३ (संशोधन २०७७) मा चलन चल्तीमा रहेका नोटहरूको सम्बन्धमा विभिन्न व्यवस्थाहरू तोकिएको भए तापनि चलनचल्तीमा रहेका सिक्काको प्रयोग सम्बन्धमा कुनै नीतिगत व्यवस्थाहरू समावेश नभएको ।

वर्तमान अवस्था र समस्याहरू
सिक्काको अनिवार्य मौज्दात मापदण्ड नभएको : यस कार्यालयमा रहेका रु.१।– र रु.२।– दरका सिक्काको टकमरी मिति २०६६ उल्लेख भएकोले बैंकभित्र सोपश्चात् सिक्काको टकमरी भएको देखिँदैन । बैंकभित्र सामान्यतया नोटहरूको सम्बन्धमा दुई वर्ष छ महिनालाई पुग्ने मौज्दात राखिने गरिएको भए तापनि सिक्काको माग, आपूर्ति र भण्डारणका सम्बन्धमा कति मौज्दात रहन आवश्यक पर्दछ भन्ने मापदण्ड नभएका कारण अन्योल छ । उदाहरणको लागि सिद्घार्थनगर कार्यालयमा २०७७ पुस १२ गते रु.१।– दरको ३,८३,४०० थान र रु.२।– दरको ५,४८,६०० थान सिक्काको मौज्दात छ । दैनिक बिक्री भइरहेको औसत सिक्काको हिसाब गर्दा उक्त मौज्दातले आगामी केही महिनालाई मात्र पुग्ने देखिएको छ ।

लागत मूल्य अधिक रहेको : रु.१।– दरको सिक्काको अङ्कित मूल्यभन्दा लागत मूल्य अधिक रहेकोले उक्त दरको सिक्का टकमरीमा बैंकलाई नोक्सानी रहेको देखिन्छ । जस्तैः रु.१।– दरको सिक्को लागत मूल्य रु.१.८१ र रु.२।– दरको सिक्काको लागत मूल्य रु.१.३४ छ । यस्तो अवस्थामा सिक्काको प्रयोगलाई मितव्ययी र व्यवस्थित बनाउन र दुरुपयोगलाई नियन्त्रण गर्न अति नै आवश्यक देखिन्छ ।
नीतिगत व्यवस्थाको अभाव रहेको : यस बैंकबाट बजारमा चलनचल्तीको लागि सिक्काहरू बिक्री मात्र हुने तर खरिद गर्ने अभ्यास/प्रचलनमा रहेको देखिँदैन । चलनचल्तीमा रहने साना दरका सिक्कालाई सदैव गतिशील बनाउन खरिद÷बिक्री÷सटही र यसको प्रयोग विधिका सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्थाको अभाव रहेको छ ।

संस्थागत तथा ठूला खदिकर्ताले सक्रिय भूमिका निर्वाह नगरेको : सिक्काको मुख्य खरिदकर्ता भाटभटेनी सुपरमार्केटले मात्रै यस कार्यालयबाट मासिक झण्डै दुई लाखभन्दा बढीको सिक्का खरिद गर्ने गरेको छ । तर उक्त कम्पनीले ग्राहकहरूसँग सिक्का खरिद गर्नेे सम्वन्धमा संस्थागतस्तरमा योजना बनाएको देखिँदैन । यसको साथै, तुलादान वा अन्य धार्मिक प्रयोजनको लागि एकै व्यक्तिबाट एकैपटकमा रु.२०,०००।– (तौल ७० देखि ८० केजी) भन्दा बढीको सिक्का खरिद हुँदै आएको छ । तर यस्ता सिक्काहरू फर्केर आउने गरेको देखिँदैन । सिक्का बिक्री गर्दा संस्थागत र व्यक्तिगत खरिदकर्तालाई दिनुपर्ने अधिकतम सीमा कति हो ? भन्ने सम्बन्धमा नीतिगत व्यवस्थाको अभाव रहेको देखिन्छ । साथै, ठूलो मात्रामा सिक्का खरिद गर्ने व्यक्ति तथा संस्थाको रेर्कडसमेत राख्ने गरिएको छैन ।

निष्क्रिय सिक्काको परिमाण अधिक रहेको : साना दरका सिक्काहरू प्रायः सबै सर्वसाधारणको घरघरमा, कार्यालयभित्र कर्मचारीका टेबलमा, बालबालिकाको खुत्रुकेमा यत्रतत्र निष्क्रिय अवस्थामा रहेको पाइन्छ । मठ मन्दिरहरू, धार्मिकस्थल, दानपेटिकामा ठूलो परिमाणमा सिक्का रहेको पाइन्छ । यस्ता सिक्काहरूलाई सक्रिय प्रणालीमा ल्याउन उत्प्रेरित गर्ने मौद्रिक÷गैरमौद्रिक उपायहरू अवलम्बन हुन सकेको छैन ।

स्वदेशमा सिक्का टकमरी गर्ने कम्पनीको अभाव : बैंकभित्रको टक्सार महाशाखाबाट पछिल्लो समयमा साना दरका सिक्काहरू टकमरी गर्ने कार्य हुन नसकेकोले अन्यत्र मुलुकमा रहेका मिन्ट कम्पनीहरूबाट टकमरी गर्दा धेरै समय र लागत पर्ने गरेको छ । सिक्काको वजन धेरै हुने भएका कारण यसको ओसारपसार र भण्डारण गर्ने कार्यमा कठिनाइ रहने गरेको छ ।

सिक्का खरिद गर्दा सिष्टममा इन्ट्री गर्न कठिनाइ रहेको : यस बैंकमा कार्यान्वयनमा रहेको Olympic Banking System/GL मा सिक्का बिक्रीको इन्ट्री गर्न मिल्ने तर खरिदको इन्ट्री गर्ने व्यवस्था नभएकोले सर्वसाधारणबाट खरिद गरिएको सिक्कालाई एकमुष्ट खुद्रा मानी खुद्राअन्र्तगत लेखाङ्कन गर्नुपर्ने अवस्था छ । यस कार्यालयको खुद्रा मौज्दात रु.१।– अन्तर्गत रु.५०,०००।– सम्म लेखाङ्कन भएको देखिएको ।

जनगुनासो  : आपूmसँग सिक्काको मौज्दात पहिलेदेखि नै अधिक रहेको कारण देखाई यस क्षेत्रमा रहेका स्थानीय पसले÷बिक्रेताले सर्वसाधारणबाट सिक्का स्वीकार नगरेको भन्ने गुनासो आउने गरेको छ । यसका साथै, बैंकभित्रका विभाग तथा प्रदेशस्थित कार्यालयहरू र नोटकोषहरूले समेत सर्वसाधारणबाट सिक्का खरिद÷सटही नगरिदिएकोले असहजता भएको भन्ने विषयमा बारम्बार जनगुनासो आउने गरेको छ ।

राय/सुझाव
– विदेशबाट रु.१।– र रु.२।– दरका नयाँ सिक्का टकमरी गरी नेपालसम्म आइपुग्न कम्तीमा पनि एक वर्ष लाग्ने भएकोले बैंकबाट यस सम्बन्धमा यथाशीघ्र निर्णय लिनुपर्ने देखिएको ।
– सिक्काको चलनचल्ती र कारोबारलाई गतिशील बनाउन सिक्का खरिद बिक्री विनियमावली, नीति, कार्यविधि आदि कार्यान्वयनमा ल्याउने ।
– सिक्का खरिद÷बिक्री गर्दा केही प्रतिशत कमिसन दिने व्यवस्था भएमा यसले नयाँ सिक्का टकमरी गर्दा लाग्ने लागत र समयलाई बचत गर्न सकिन्छ । साथै, छोटो समयमा नै ठूलो परिमाणमा निस्क्रिय अवस्थमा रहेको सिक्कालाई सङ्कलन गर्न सकिन्छ । जस्तैः ५ देखि १० प्रतिशत कमिसन दिने ।
– सिक्काको खपत धेरै गर्ने ठूला व्यापारिक केन्द्रलाई निश्चित कमिसन दिई सिक्का खरिद गर्न तथा बिक्री गर्न अनुमतिपत्र दिने ।
– सिक्का सङ्कलन र बिक्री गर्ने कार्यलाई सहजीकरण गर्न सबै प्रदेशमा बैंक तथा वित्तीय संस्थालाई कमिसनसहित प्रोत्साहित गर्ने वा निर्देशन जारी गर्ने ।
– मठ मन्दिर र पर्यटकीय स्थलमा थन्किएर रहेको ठूलो परिमाणका सिक्काहरू सङ्कलन गर्न ढुवानी खर्चसहित कमिसन खर्च प्रदान गर्ने ।
– बैंकभित्रका विभाग÷कार्यालयमा सिक्काको मौज्दात ज्यादै न्यून तहमा पुगिसकेका कारण काउण्टरहरूबाट हाललाई प्रतिव्यक्ति अधिकतम रु.५००।– वा रु.१,०००।– सम्म मात्र सिक्का बिक्री गर्न सकिने गरी सीमा लगाउने ।
– धार्मिक प्रयोजनका लागि (जस्तै; तुला दान वा अन्य दान वा पूजा) ४० केजी, ५० केजी, ६० केजी र ८० केजीसम्मको तौल भएका सिक्काहरू टक्सार महाशाखाबाट अविलम्ब टकमरी गर्ने र त्यस्ता सिक्काहरूको रेकर्ड राखी पुनः खरिद गर्ने व्यवस्था मिलाउने ।
– व्यापारिक केन्द्रहरूलाई रु.५।– भन्दा मुनिको खुद्रा रकममा हुने कारोबारको लागि प्रविधिमा आधारित स्वचालित प्लाष्टिक कार्डहरू जारी गर्न अनुमति दिने । त्यस्ता प्लाष्टिक कार्डहरूमा जम्मा गर्न सकिने अधिकतम रकमको सीमासमेत तोकिदिने ।
– मठ, मन्दिर, तीर्थस्थल, पर्यटकीय स्थल, मनोरञ्जन पार्कहरूमा सिक्काबाट सञ्चालन हुने तथा सामान बिक्री गर्न सकिने सुविधा भएका अटोमटेड भेन्डिङ मेशिनहरू जडान गर्न निजी क्षेत्र तथा बैंक वित्तीय संस्थाहरूलाई प्रोत्साहन गर्ने ।
– ग्रामीण क्षेत्रमा रहेका सहकारी संस्था र विभिन्न महिला समूहमा अहिले पनि खुत्रुके बचत कार्यक्रमहरू लोकप्रिय भइरहेको परिप्रेक्ष्यमा त्यस्ता संस्था र क्षेत्र विशेषलाई लक्षित गरेर सिक्का सङ्कलन गर्ने÷गराउने ।
– विद्यालयमा अध्ययन गर्ने बालबालिकाबाट वर्षको एक पटक आ–आफ्नो घरमा रहेको खुत्रुके सिक्कालाई विद्यालयमार्फत सङ्कलन गर्न प्रोत्साहन गर्ने ।
– नेपाल राष्ट्र बैंकमा कार्यान्वयनमा रहेको Olympic Banking System/GL मा सिक्काको खरिद एवम् बिक्री दुवै कारोबारको इन्ट्री गर्न मिल्नेगरी System upgrade गर्नुपर्ने ।
– सिक्का नष्ट गर्ने कार्यलाई निरुत्साहन गर्ने तथा कानुनी रूपमा दण्डनीय बनाउने । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ५२ र ५३ अनुसार बैंकबाट निष्कासित सिक्का सर्वस्वीकार्य भएकोले सिक्कालाई चलतचल्तीमा लिन इन्कार गर्ने व्यक्ति, पसल, डिपार्टमेण्टल स्टोरलगायतलाई कानुनी कारवाही गर्न आवश्यक व्यवस्था मिलाउने ।
– सिक्का संरक्षणको लागि प्रचारप्रसार, जनचेतना र प्रर्वद्घन गर्ने ।
– सिक्काको माग र व्यावहारिक प्रयोगका सम्बन्धमा अध्ययन तथा अनुसन्धान गर्ने ।
– यस बैंकबाट निष्कासन भएका रु.५।– र रु.१०।– दरको सिक्काहरूप्रति सर्वसाधारणले अभिरुचि नदेखाएकाले आगामी दिनमा उक्त सिक्काहरू टकमरी नगर्ने ।
(निर्देशक, नेपाल राष्ट्र बैंक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय