काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले विद्युतीय प्रणालीबाट गरिने रकमको भुक्तानीको सीमा बढाएको छ । बैङ्कले मङ्गलवार भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोबाइल बैंकिङ्ग मार्फत हुने कारोबारको सीमा बढाएको हो ।
राष्ट्र बैङ्कले बैङ्क खाताबाट वालेटमा रकम पटाउँदा प्रतिकारोबार ५० हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना १० लाख रुपैयाँ रकमान्तर गर्न सकिने गरी सीमा तोकेको छ । त्यस्तै वालेटबाट बैङ्क खातामा पैसा पटाउँदा समेत सोही सीमा लागु हुने भएको छ ।
यसैगरी एक वालेटबाट अर्को वालेटमा रकम पठाउँदाको सीमामा भने केन्द्रीय बैङ्कले कुनै परिवर्तन गरेको छैन । वालेटमार्फत अर्को वालेटमा पैसा पटाउँदा प्रति कारोबार २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना ५ लाख रुपैयाँ सीमा तोकिएको छ ।
संस्थागत ग्राहक र एजेन्ट बाहेक प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्रै रकम जम्मा गर्न सकिने व्यवस्था समेत निर्देशिकामा गरिएको छ ।
राष्ट्र बैङ्कले एकीकृत निर्देशनमा क्युआर कोड मार्फत हुने भुक्तानीको सीमा समेत बढाएर मोबाइल बैङ्किङको कारोबार प्रतिदिन अधिकतम २ लाख रुपैयाँ पुर्याएको छ भने इन्टरनेट बैङ्किङ मार्फत हुने भुक्तानीको सीमा प्रतिदिन २० लाख रुपैयाँ तथा इन्टरनेट बैंकिङ्ग मार्फत हुने कारोबारको सीमा १० लाख पुर्याएको छ ।
बैङ्क तथा वित्तीय संस्थाका ग्राहकहरूले मोबाइल बैङ्किङ मार्फत विद्युतीय रकमान्तर गर्दा बैङ्कहरूले ५० हजार रुपैयाँसम्म प्रति कारोबार अधिकतम १० रुपैयाँ, ५० हजारदेखि १ लाख रुपैयाँसम्म प्रतिकारोबार अधिकतम २० रुपैयाँ र १ लाख रुपैयाँभन्दा माथि प्रतिकारोबार अधिकतम ३० रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था पनि एकीकृत निर्देशनमा उल्लेख गरिएको छ ।