२०८१ मंसिर २४ सोमबार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ठूला जलाशय र अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकतासाथ अगाडि बढाउने भएको छ । प्राधिकरणले आठ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्त र एक हजार ६१ मेगावाटको माथिल्लो अरुण तथा दुई सय १० मेगावाटको चैनपुर सेती अर्धजलाशययुक्त जलविद्युत् आयोजना एकसाथ अगाडि बढाउन लागेको छ ।

तीनवटै आयोजना हाल विस्तृत अध्ययनको अन्तिम चरणमा रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तीनवटा जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियरिङलाई अन्तिम रूप दिने, निर्माणका लागि ठेकेदार छनोटका टेन्डर कागजात तयार गर्ने, पहुँच सडक, जग्गा अधिग्रहण, वित्तीय व्यवस्थापनका लागि स्वदेशी वित्तीय संस्था तथा अन्तर्राष्ट्रिय दातृ निकायसँगका छलफललगायतलाई समानान्तररूपमा अगाडि बढाइएको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘दैनिक एवं मौसमी विद्युत् माग र आपूर्तिको सन्तुलन कायम गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् छिमेकी मुलुकमा निर्यातका लागि समेत जलाशययुक्त र अर्धजलाशययुक्त आयोजनालाई उच्च प्राथमिकतामा राखी निर्माण अघि बढाउन लागिएको हो, एक वर्षभित्रमा निर्माणअघि सम्पूर्ण काम सकेर निर्माणमा लैजाने गरी तीव्रताका साथ काम गरिरहेका छौं ।’

अर्थ मन्त्रालयमार्फत् एसियाली विकास बैंक (एडीबी) को नेतृत्वमा दूधकोसीमा लगानीका लागि युरोपेली लगानी बैंक (ईआईबी), एसियाली पूर्वाधार लगानी बंैक (एआईआईबी) र कोरियाली एक्जिम बैकसँग छलफल भइरहेको घिसिङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले कार्यान्वयनमा ल्याएको नेपालको पानी, जनताको लगानी कार्यक्रमअन्तर्गत सर्वसाधारण नागरिकसमेतलाई सेयर निष्काशन गरी रकम जोहो गर्नेछौं, यसबाट आयोजनाबाट प्राप्त हुने प्रतिफल नागरिक तहसम्म नै पुग्छ ।’

उक्त लगानी कार्यक्रममार्फत् सर्वसाधारण नागरिकलाई पनि सेयर निष्काशन गरी माथिल्लो अरुण र चैनपुर सेतीमा लगानी जुटाइने पनि घिसिङले बताउनुभएको छ । दूधकोसीको अनुमानित आधार लागत एक अर्ब ५३ करोड डलर अर्थात् करिब एक खर्ब ७८ अर्ब रुपैयाँ र निर्माण अवधिको व्याज, करसहित सम्पूर्ण लागत करिब दुई अर्ब डलर अनुमान गरिएको छ । अध्ययन भएका जलाशययुक्त आयोजनामध्ये लागत र ऊर्जा उत्पादनका आधारमा दूधकोसी तुलनात्मकरूपमा सस्तो र आकर्षक मानिएको छ ।

खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा पर्ने आयोजनाबाट वार्षिक तीन अर्ब ४४ करोड युनिट ऊर्जामध्ये हिउँद र बर्खामा क्रमशः एक अर्ब ३६ करोड र दुई अर्ब आठ करोड युनिट ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाले पहुँच सडक निर्माण र बाँध निर्माणस्थलभन्दा माथि डुबान क्षेत्रमा पर्ने खोटाङतर्फको करिब १३ हजार रोपनी जग्गा अधिग्रहणका लागि सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ ।

ओखलढुंगा र सोलुखुम्बुतर्फको जग्गा अधिग्रहण प्रक्रिया छिट्टै सुरु हुने पनि प्राधिकरणले जनाएको छ । आयोजनाको निर्माणका लागि सात वर्ष लाग्ने अनुमान गरिएको छ । उत्पादित विद्युत् प्रस्तावित सुनकोसी-ढल्केबर चार सय केभी प्रसारण लाइनमार्फत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

त्यसैगरी घिसिङले अर्धजलाशययुक्त माथिल्लो अरुणलाई उच्च प्राथमिकतामा राखी ‘गेम चेन्जर’ आयोजनाका रूपमा अगाडि बढाइने बताउनुभएको छ । ‘जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत चार अंकको जडित क्षमता (१०६१ मेगावाट) र प्राधिकरणले निर्माण गर्न लागेको अहिलेसम्मकै ठूलो यस आयोजनामा ४९ प्रतिशत सर्वसाधारणको सेयर र विश्व बंैक, युरोपेली लगानी बंैकको सहुलियतपूर्ण ऋण तथा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषजस्ता स्वदेशी वित्तीय संस्थाको लगानी रहने मोडलमा वित्तीय व्यवस्थापन गरी निर्माण अगाडि बढाइने उहाँले बताउनुभयो । आयोजनामा संघीय, प्रदेश र स्थानीय सरकारको पनि लगानी रहनेछ ।

विद्युत् बढी माग हुने हिउँदका छ महिनामा दैनिक छ घण्टा पूर्ण क्षमतामा चलाउन सकिने आयोजनाको अनुमानित लागत निर्माण अवधिको व्याजबाहेक करिब एक अर्ब २० करोड अमेरिकी डलर रहेको छ ।

कुल लागतमध्ये ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणबाट जोहो गर्ने प्राधिकरणको योजना छ । आयोजनाबाट वार्षिक चार अर्ब ५३ करोड युनिट विद्युत् उत्पादन हुनेछ । प्राधिकरणले माथिल्लो अरुणकै अंग रहने गरी ३० मेगावाटको इखुवासमेत अघि बढाएको छ । इखुवा पनि जनता जलविद्युत् कार्यक्रममा समावेश भएको आयोजना हो ।

प्राधिकरणका अनुसार बझाङमा पर्ने चैनपुर सेतीलाई सुदूरपश्चिम प्रदेशको गेम चेन्जर आयोजनाका रूपमा अघि बढाइनेछ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निर्माण गरिने आयोजनामा संघीय, प्रदेश र स्थानीय सरकार, आयोजना प्रभावित, मुलुकभरका सर्वसाधारण नागरिकको लगानी रहनेछ ।

आयोजनालाई इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा निर्माणका लागि टेन्डर कागजपत्र तयार, पहुँच सडक निर्माण, जग्गा अधिग्रहणलगायतका काम भइरहेको प्राधिकरणले जनाएको छ । हिउँदमा छ घण्टा पूर्ण क्षमतामा चल्न सक्ने आयोजनाबाट वार्षिक एक अर्ब १६ करोड युनिट विद्युत् उत्पादन हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय