
अनेकौं अनिश्चितता, आकष्मिकता र जोखिमहरुलाई आत्मसात गर्दै भौतिक विकास, विज्ञान र प्रविधिमा अपूर्व क्रान्ति गरिरहेको पहिलो विश्वका लागि बीमा एक अनिवार्य शर्तजस्तै बनिसकेको छ । तथापि कहिले आन्तरिक कलह र गृहयुद्ध त कहिले प्राकृतिक विपद अनि राजनैतिक एवम् नीतिगत अस्थिरताको बीचमा पनि आर्थिक विकास र समृद्धिको प्रयत्न गरिरहेका नेपालजस्ता “तेश्रो विश्व“ भनिने विकासोन्मुख मुलुकहरुमा समेत बीमा क्षेत्रको सशक्त उपस्थितिलाई कम आँक्न मिल्ने देखिंदैन । बीमा एक यस्तो वित्तीय औजार हो जसले भविष्यमा सम्भाव्य जोखिमबाट सिर्जना हुन सक्ने क्षतिलाई न्यूनीकरणको प्रत्याभूति दिलाउँछ । जीबन, सम्पत्ति तथा दायित्वको सम्भावित वित्तीय नोक्सानीको उचित क्षतिपूर्ति तथा सुरक्षा प्रदान गर्ने सबैभन्दा उपयुक्त उपायको रूपमा बीमालाई लिने गरिन्छ ।
त्यस किसिमको नोक्सानीले व्यक्ति, परिवार वा संस्थालाई मात्र नभई समग्र मुलुककै अर्थतन्त्रमा समेत प्रत्यक्ष प्रतिकूल प्रभाव पर्दछ । यसरी जोखिम हस्तान्तरण तथा बाँडफाँडबाट वित्तीय एवम् सामाजिक सुरक्षा प्रदान गर्ने भएकाले नै आज विश्व अर्थतन्त्रमा बीमा क्षेत्रको भूमिकालाई उल्लेख्य मान्ने गरिन्छ । बीमा क्षेत्रको प्रतिष्ठित संस्था Swiss Re–Group को एक अध्ययन अनुसार सन् २०१९ मा विश्वको समग्र बीमा प्रिमियम वृद्धिदर २.९ प्रतिशत रहेको देखाएको थियो जसको करिब ८० प्रतिशत हिस्सा दशओटा ठूला देशहरुको रहेको थियो । सोही अध्ययनले खुद प्रिमियम संकलन कोभिड–१९ को महामारीको कारण सन् २०२० मा ३ प्रतिशतले ह्रास आउने तथा सन् २०२१ मा भने पुनः ३ प्रतिशतले नै रिकभर हुने प्रक्षेपण गरेको थियो । विश्वको बीमा क्षेत्रमा विकासोन्मुख देशहरुको हिस्सा निकै कम रहेको तर क्रमशः बढ्दो क्रममा रहेको अध्ययनहरुले देखाएका छन् ।
बीमाको पृष्ठभूमि खोज्दै जाँदा इशापूर्व ३००० तिरै हालको इराकमा पर्ने बेबिलोनिया र सुमर राज्यका व्यापारीहरुले जहाजमा हुने चोरी, डकैती तथा अन्य क्षतिबाट बच्नको लागि सामूहिकरूपमा कोष निर्माण गरी सोहीमार्फत जोखिमहरुको क्षतिपूर्ति गर्ने गरेकों पाइन्छ भने आधुनिक कालमा इटालीमा यहुदीहरूले बाह्रौँ शताब्दीमा गरेको सामुद्रिक बीमा तथा बेलायतको लण्डनमा सन् १९६६ मा भएको आगलागीपश्चात् सुरु गरिएको अग्नि बीमालाई बीमाक्षेत्रको विकासमा महत्वपूर्ण रूपमा लिने गरिन्छ । त्यस्तै, नेपालको सन्दर्भमा वि.सं. १९९४ मा नेपाल बैंक लिमिटेडको स्थापनापश्चात् बीमाको आवश्यकता महशुस भई वि.सं. २००४ मा नेपाल माल चलानी तथा बीमा कम्पनी स्थापना भएको देखिन्छ । मानव जीवनको क्षतिमात्र नभई स्वास्थ्यसम्बन्धी जोखिम, सम्पत्तिको नोक्सानी जस्ता अनिश्चित ठूला क्षतिहरुको विरुद्धमा तुलनात्मक रूपमा सानो रकमको विमाशुल्क मार्फत सुरक्षा प्राप्त गर्ने उपायको रूपमा बीमालाई लिने गरिन्छ । व्यक्तिगत दृष्टिकोणबाट मात्र नभई व्यावसायिक एवम् सामाजिक दृष्टिकोणबाट समेत बीमाको ठूलो महत्व रहेको हुन्छ ।
बीमा क्षेत्र आजको विश्व व्यवस्थाको अभिन्न हिस्सा भईसकेको छ । भविष्यमा आइपर्ने जोखिमबाट सम्भावित क्षतिको सुरक्षाको प्रत्याभूति दिलाउने साधन मात्र नभई राष्ट्रिय पूँजी निर्माणको एक आधार समेत हो । स्वाभाविक रूपमा विकासोन्मुख देशहरुमा जीबन, स्वास्थ्य तथा वित्तीय आदिको जोखिम समेत तुलनात्मक रूपमा धेरै हुने भएकाले देशको समग्र सकारात्मक परिवर्तन तथा विकासका लागि बीमा क्षेत्रको विकास तथा विस्तार एकदमै महत्वपूर्ण रहनेमा अत्युक्ति नहोला ।
जनसंख्याको ठूलो तप्का निरपेक्ष गरिबीको रेखामुनी रहेका नेपालजस्ता अल्पविकसित÷विकासोन्मुख देशहरुमा स्वभाविक रूपमा जीवन, जनस्वास्थ्य, मेसिनरी तथा अन्य संरचनाहरुको सवालमा समेत जोखिम बहन गर्न सक्ने क्षमता कम हुने गर्दछ । बीमा गर्दा कुनै पनि व्यक्ति वा संस्थाले दोश्रो पक्षलाई जोखिम हस्तान्तरण गर्ने भएकाले बीमितलाई घाटा हुँदैन । त्यसै गरी बीमा गर्ने कम्पनी (बीमक) स्वयंको समेत पुनर्बीमा हुने भएकाले बीमितलाई जोखिम निकै कम हुन्छ । त्यसै गरी बीमित र बीमकलाई मात्र नभई बीचमा माध्यम भई काम गर्ने एजेण्टहरुलाई समेत प्रोत्साहन हुने भएकाले आर्थिक संरक्षण, फाइदाजनक लगानी, मितव्ययिताको लागि प्रेरणा एवम् जीवनस्तरमा सुधारका लागि समेत बीमाले ठूलो महत्व राख्ने देखिन्छ । त्यसैगरी करछुटको सुविधा, समर्पण मूल्यको निश्चित प्रतिशतसम्म ऋण लिन सकिने व्यवस्था, जीवन तथा सम्पत्तिमा हुनसक्ने जोखिमबारे मानसिक सन्त्रासबाट मुक्ति लगायतका कारणले समेत हाम्रो जस्ता विकासोन्मुख देशहरुमा बीमाको महत्व बढी देखिन्छ ।
कुनै पनि देशको आर्थिक वृद्धि र बीमाको स्थिति बीच प्रत्यक्ष सकारात्मक सम्बन्ध रहने तथा आर्थिक विकासका लागि स्वस्थ बीमा तथा पुनर्बीमा बजार आवश्यक रहने तथ्यलाई UNCTAD (United Nations Conference on Trade and Development) ले समेत औपचारिक रूपमा स्वीकार गरेको पाइन्छ । बीमा क्षेत्रले लगानी तथा अन्वेषणको वातावरणलाई धेरै हदसम्म स्थिरता प्रदान गर्ने, तरलता सिर्जना एवम् बचत परिचालन, वित्तीय जोखिम व्यवस्थापन लगायतका माध्यमबाट दिगो विकासमा योगदान पु¥याउँछ भने बीमितहरुबाट संकलित प्रिमियमलाई लगानी तथा परिचालन गर्दै समग्र देशको विकासको लागि पूँजी निर्माणको श्रोतको रूपमा समेत काम गर्दछ । जसको सशक्त उदाहरणको रूपमा भारत, बंगलादेश, नाइजेरिया तथा अफ्रिकाको सहारा उपद्विपका राष्ट्रहरुलाई विज्ञहरुले प्रस्तुत गरेको पाइन्छ । त्यस किसिमको पूँजी परिचालन आवश्यकताअनुसार साना–ठूला उद्योग तथा वैदेशिक व्यापारमा समेत अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रूपमा योजनाबद्ध तरिकाले लगानी गर्ने गरेको देखिन्छ । मुलुकको धितोपत्र क्षेत्रमा लगानी गर्ने संस्थागत लगानीकर्ताको ठूलो हिस्साको रूपमा समेत बीमा कम्पनीहरु रहेका हुन्छन् ।
रोजगारीको सिर्जना, सामाजिक सम्पत्तिको संरक्षण, सामाजिक खराबी एवम् उच्छृङ्खलताको कमी, जीवनस्तर उकास्नमा सहयोग आदि बीमाका अप्रत्यक्ष फाइदाहरु हुन् । व्यवसायमा हुने जोखिमहरुबाट धेरै हदसम्म बीमाले सुरक्षा प्रदान गर्ने भएकाले व्यवसाय तथा पेशाप्रति दक्षता र लगावमा सुधार तथा वृद्धिसमेत हुन्छ । त्यस्तै बीमा क्षेत्रमा संलग्न व्यवसायीहरुले हानी निवारणको लागि विभिन्न उपायहरुको अनुसन्धान, जनचेतना प्रवाह एवम् सोको लागि सम्बन्धित संघसंस्थाहरुसंग मिलेर विभिन्न कार्यहरु अगाडि बढाउन सक्दछन् । यसरी बीमाले केही हदसम्म लगानीको सुरक्षा तथा व्यवसायिकरूपमा वित्तीय स्थिरता प्रदान गर्न सघाउ पु¥याउने भएकाले हाम्रो जस्ता विकासोन्मुख देशहरुको सर्वांगीण विकासमा बीमा क्षेत्रको योगदानलाई उल्लेख्य मान्ने गरिन्छ ।
समग्र विश्वको कुल गार्हस्थ उत्पादनमा बीमा क्षेत्रको योगदान क्रमशः बढ्दै गैरहेको तथा सोको हिस्सा हाल सात प्रतिशत माथि रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । विकसित देशहरुको GDP मा बीमाक्षेत्रको हिस्सा ८–११ प्रतिशतसम्म रहेको तथा विकासोन्मुख देशहरुमा भने सो हिस्सा २–४ प्रतिशत रहेको पाइन्छ । त्यसैगरी कुल प्रिमियम संकलनमा भने विकसित देशहरुको हिस्सा सन् २००५ मा ८८ प्रतिशत हाराहारी रहेकोमा क्रमशः घट्दै जाने प्रक्षेपण अध्ययनहरुले गरेको देखिन्छ । त्यस्तै कम आय भएका मुलुकहरुको आर्थिक विकासमा जीवन बीमाको भूमिका उल्लेख्य रहेको तथा विकसित तथा विकासशील मुलुकहरुमा भने निर्जीबन बीमाको हिस्सा व्यापक रहेको अध्ययनहरुले देखाउँछन् । अधिकांश रूपमा बीमाले वित्तीय विकासमा सकारात्मक योगदान गर्ने देखिए पनि केही खण्डमा भने जालझेल र बेवास्तालाई बढावा दिएको पनि भेटिन्छ ।
नेपालको सन्दर्भमा आर्थिक वर्ष २०७५/७६ मा समग्र अर्थतन्त्रमा बीमा क्षेत्रको योगदान २.६ प्रतिशत रहेकोमा क्रमशः बढ्दै गैरहेको देखिन्छ जुन हिस्सा छिमेकी मुलुक भारतको हकमा ३.७ प्रतिशत रहेको देखिन्छ । नेपाली बीमा क्षेत्रको पहुँच वि.सं. २०७५ को सुरुवातमा कूल जनसंख्याको करिब दश प्रतिशतमा सीमित रहेकोमा आ.व. २०७६/७७ को अन्त्य सम्ममा करिब २७ प्रतिशत (वैदेशिक रोजगार म्यादी जीवन बीमा समेत) को हाराहारीमा पुगेको छ । त्यसैगरी रोजगारी सिर्जना समेत उल्लेख्यरूपमा बढेको तथ्यांकमा देखिन्छ । स्वाभाविक रूपमा विकासशील तथा राजनैतिक एवम् नीतिगत अस्थिरताले व्याप्त मुलुकहरुमा लगानी गर्न लगानीकर्ताहरु हिच्किचाउने गर्दछन् भने प्रतिफलको जोखिम समेत उच्च नै हुने गर्दछ । त्यस किसिमको जोखिमलाई न्यूनीकरण गर्दै लगानीको वातावरणलाई केही हदसम्म सुरक्षित बनाउन बीमा क्षेत्रले अहम् भूमिका खेलिरहेको हुन्छ ।
त्यसैगरी प्राकृतिक प्रकोपबाट सिर्जना हुन सक्ने क्षतिलाई हस्तान्तरण/बाँडफाँडबाट मिलेको राहतको अनुभूतिको उदाहरण खोज्न हामीलाई धेरै टाढा जानु नपर्ने देखिन्छ । वि.सं. २०७२ को भूकम्पको क्षति न्यूनीकरणमा बीमाक्षेत्रको ठूलो योगदान रहेको छ । विकासशील मुलुकहरुमा हुने विकास निर्माणका कार्यहरुमा काम गर्ने श्रमिक÷जनशक्तिको जीवन बीमा देखि लिएर मेसिनरी÷ औजारहरूको बीमा, संरचनाहरुको बीमा, अग्नि बीमा, प्राकृतिक जोखिमको बीमा लगायतले धेरै हदसम्म जोखिमबाट सुरक्षाको प्रत्याभूति दिएका हुन्छन् । नेपाललगायतका विकासोन्मुख देशहरुमा मुख्य रूपमा बीमा क्षेत्रले जोखिम व्यवस्थापन तथा पूँजी परिचालन एवम् व्यापार व्यवसायको प्रवद्र्धन मार्फत योगदान पु¥याइरहेको पाइन्छ, जसलाई मुलभूत रूपमा निम्नानुसार व्याख्या गर्न सकिन्छ :
जोखिम व्यवस्थापन
सबै प्रकारका जोखिमहरुको व्यवस्थापन बीमामार्फत गर्न नसकिए तापनि धेरैजसो भने बीमाबाट बहन गर्न सकिने देखिन्छ । मुलतः परिवारको मुख्य हेरचाहकर्ताको जीवन तलमाथि पर्न गएको खण्डमा आश्रित परिवारलाई बीमा मार्फत धेरै नै राहत हुने स्थिति हाम्रो जस्तो विकासशील देशहरुमा देख्न सकिन्छ । सम्पत्तिको हकमा वास्तविक क्षतिको मूल्यांकन पश्चात् सो वापतको बीमा रकम सम्बन्धित बीमितलाई उपलब्ध गराउने गरिन्छ । बीमा मार्फत व्यवस्थापन हुन सक्ने मुख्य जोखिमहरू निम्नानुसार उल्लेख गर्न सकिन्छ :
जीवनको जोखिम : कुनै पनि व्यक्तिको दुर्घटना वा अन्य कारणले हुने मृत्युपश्चात् नजिकका आफन्तलाई केही भए पनि राहत होओस् भन्ने अभिप्रायले जीवन बीमा गर्ने गरिन्छ । मानिस अजम्बरी हुँदैन र एकदिन मर्नेपर्ने हुन्छ । कुनै व्यक्तिको मृत्युपश्चात् परिवारमा आइपर्ने आर्थिक कठिनाईमा जीबन बीमाले राहत पु¥याउँछ । जीबन बीमा सावधिक, आवधीक, म्यादी लगायतका हुन्छन् ।
स्वास्थ्यको जोखिम : बिमारी, दुर्घटना, अपाङ्गता, महामारी लगायतका कारणले हुनसक्ने जोखिमलाई व्यवस्थापन गर्न विभिन्न विमा पोलिसीहरुको व्यवस्था गरिएको हुन्छ । नेपालको सन्दर्भमा वैदेशिक रोजगारी–उपचार बीमा, यात्रु स्वास्थ्य–उपचार बीमा, Hospital cash plan, Group mediclaim, Mediclaim for students, Child health policy लगायतका स्वास्थ सम्बन्धी बीमाहरु प्रचलनमा रहेका छन् । हाम्रो जस्तो कम आय रहेका विकासशील मुलुकहरुमा जटिल रोगहरुको उपचार तथा दुर्घटना हरुबाट हुन सक्ने स्वास्थ्य जोखिमलाई व्यवस्थापन गर्न बीमाको अनिवार्यता देखिन्छ ।
वित्तीय जोखिम : बेरोजगारी, व्यावसायिक असफलता, प्रविधि एवम् वाणिज्यको जोखिम लगायतको लागि बीमाको व्यवस्था भएको हुन्छ । तथापि नेपालमा भने बेरोजगारीको जोखिमलाई बीमा गर्ने प्रावधान रहेको छैन ।
सामाजिक जोखिम : अपराध, घरेलु हिंसा, चोरी÷डकैती जस्ता जोखिमहरु विकासशील देशहरुमा देखा परिरहने जोखिम हुन् । जसको उचित बीमालेखले आर्थिक तथा मानसिक रूपमा ठूलो अर्थ राख्दछ ।
वातावरणीय तथा प्राकृतिक विपद सम्बन्धी जोखिम : प्रदुषण, बनजंगल विनाश, बाढीपहिरो, अत्यधिक वर्षा, खडेरी, भूकम्पलगायतका कारणले विकासशील मुलुकहरुलाई गाँजेको पाइन्छ । ती जोखिमहरुबाट हुने क्षतिलाई न्यूनीकरण गर्न उपयुक्त किसिमका बीमा पोलिसीहरुले महत्वपूर्ण भूमिका खेल्दछन् ।
श्रोत/पूजी परिचालन
बीमितहरुबाट संकलित प्रिमियम तत्कालै खर्च गर्नु नपर्ने भएकोले त्यसलाई सरकार, बैंक तथा वित्तीय संस्था एवम् पूँजीबजारका माध्यमबाट विभिन्न उत्पादनमूलक क्षेत्रहरुमा बीमा कम्पनीहरुले लगानी गर्दछन् जुन राष्ट्रिय पूँजी निर्माणको अभिन्न अंग रहेको देखिन्छ । विभिन्न विकास आयोजना तथा संरचनाहरुमा प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा एउटा परिधिभित्र रहेर बीमा क्षेत्रबाट गरिने लगानी विकासशील देशहरुका लागि अत्यावश्यक देखिन्छ ।
अन्तर्राष्ट्रिय व्यापार, उद्योग, वाणिज्य तथा कृषि प्रवद्र्धन
प्राय विकासशील देशहरुको अर्थतन्त्र आयातमुखी नै रहेको हुन्छ भने उचित किसिमको बीमा बिना अन्तर्राष्ट्रिय व्यापार÷बाणिज्य लगभग असम्भव नै हुन्छ । बीमाले त्यस किसिमको व्यापारमा हुने जोखिम न्यूनीकरण गनुर्का साथै व्यवसायीहरुलाई आर्थिक तथा मानसिकरूपमा सुरक्षाको प्रत्याभूति समेत दिलाउँछ । नेपालजस्ता विकासोन्मुख देशहरुको अर्थतन्त्रमा कृषि,लघु तथा घरेलु उद्योगको हिस्सा धेरै हुने गर्दछ । त्यस किसिमका लघु उद्यमी एवम् कृषकहरुलाई ध्यानमा राखी गरिने बीमाले जनताको जीबनस्तर उकास्न, आत्मनिर्भर बनाउन, चेतनास्तर अभिवृद्धि गर्न एवम् सामाजिक तथा राज्यकै आर्थिक समुन्नतिका लागि योगदान दिन सक्दछ । हाल प्रचलनमा रहेका अन्नबाली बीमा, पशुपंक्षी बीमा, उद्यमी दायित्व बीमा, विश्वष्तता बीमा लगायतले देशको अर्थतन्त्र प्रवर्द्धनमा ठूलो सघाउ पुर्याउने देखिन्छ ।
बीमा क्षेत्र आजको विश्व व्यवस्थाको अभिन्न हिस्सा भईसकेको छ । भविष्यमा आइपर्ने जोखिमबाट सम्भावित क्षतिको सुरक्षाको प्रत्याभूति दिलाउने साधन मात्र नभई राष्ट्रिय पूँजी निर्माणको एक आधार समेत हो । स्वाभाविक रूपमा विकासोन्मुख देशहरुमा जीबन, स्वास्थ्य तथा वित्तीय आदिको जोखिम समेत तुलनात्मक रूपमा धेरै हुने भएकाले देशको समग्र सकारात्मक परिवर्तन तथा विकासका लागि बीमा क्षेत्रको विकास तथा विस्तार एकदमै महत्वपूर्ण रहनेमा अत्युक्ति नहोला ।
(शर्मा बीमा समितिमा कार्यरत हुनुहुन्छ)