
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा अघिल्लो आर्थिक वर्षको तुलनामा चालु खाता घाटा झण्डै १० गुणाले बढेको नेपाल राष्ट बैकले जनाएको छ । केन्द्रीय बैंकले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा सो कुरा उल्लेख गरिएको हो ।
अघिल्लो आर्थिक वर्षमा चालु खाता घाटा तीन खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा चालु खाता घाटा ३३ अर्ब ७६ करोड रुपैयाँले घाटामा थियो ।
चालु खाता घाटाले यथार्थ समयमा मुलुकमा भित्रिएको र बाहिरिएको विदेशी मुद्राको हिसाब देखाउने हुँदा अर्थतन्त्र कति मजबुत छ भन्ने मापन गर्ने प्रबल सूचक मानिन्छ । २०७७/७८ मा मुलुकमा भित्रिएको भन्दा बाहिरिएको रकम तीन खर्ब ३३ अर्ब रुपैयाँले धेरै छ ।
चालु खाता, पुँजी खाता र वित्तीय खाताले भने समग्र शोधनान्तरको स्थितिलाई प्रतिबिम्बित गर्छ । पुँजीखातामा भने वैदेशिक लगानी, विदेशी ऋण तथा अनुदान, वाणिज्य बैंकहरूले विदेशी मुद्रामा विदेशमा गरेको लगानी तथा नेपालका बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रले विदेशबाट ल्याएको ऋणसमेत समावेश हुन्छ । पुँजी खाताको दायित्व दीर्घकालीन हुनेहुँदा शोधनान्तर स्थिति बचत भएपनि दीर्घकालको दायित्व समेत त्यसमा समावेश भएको हुन्छ ।
त्यसैगरी आर्थिक वर्ष २०७७/७८ मा शोधनान्तर बचत १ अर्ब २३ करोड रुपैयाँमात्र बचतमा रहेको छ । यस्तो बचत २०७६/७७ को अन्त्यमा २ खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो । शोधनान्तर स्थिति भन्नाले मुलुकमा भित्रिएको र बाहिरिएको रकमको यथार्थ स्थिति हो ।
निश्चित समयावधि भित्र आवासीय र गैर–आवासीय व्यक्ति, संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारहरूको सारांश नै शोधनान्तर स्थिति हो । शोधनान्तर बचत भएमा वाह्य क्षेत्र कारोबारबाट तरलताको प्रवाह र घाटा भएमा प्रशोचन हुन्छ ।
गत आर्थिक वर्षमा कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७५ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १०.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
कोरोना कहरकाबीच गत आर्थिक वर्ष २०७७/०७८ मा ९ खर्ब ६१ अर्ब ५ करोड रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षमा ९.८ प्रतिशतले वृद्धि भई ९६१ अर्ब ५ करोड विप्रेषण भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्ष विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ८.२ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.३ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ६२.८ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्ष यस्तो संख्या २०.५ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३४.७ प्रतिशतले घटेको थियो ।
त्यस्तै, गत आर्थिक वर्षमा ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, यो त्यसभन्दा अघिल्लो वर्षको तुलनामा झण्डै १० प्रतिशतले बढी हो । त्यसैगरी आर्थिक वर्ष २०७७/७८ मा वार्षिक औसत उपभोक्ता मुल्यबृद्धि ३ दशमलब ६० प्रतिशत रहेको छ ।
अघिल्लो आर्थिक वर्ष यस्तो मुल्यबृद्धि ६ दशमलब १५ प्रतिशत रहेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ मा घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तिजन्य पदार्थ र यातायात उपसमूहको वार्षिक औसत मुल्यवृद्धि क्रमशः १७ दशमलब ५४ प्रतिशत, १० दशमलब ६५ प्रतिशत, ९ दशमलब ८३ प्रतिशत र ६ दशमलब ४१ प्रतिशत रहेको छ ।
गत असार मसान्त सम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलब १९ प्रतिशत रहेको छ । २०७७ असारमा यस्तो मुद्रास्फीति ४ दशमलब ७८ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ तर्फ आर्थिक वर्ष २०७७/७८ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ५ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा उक्त समूहको मुद्रास्फीति ८ दशमलब १६ प्रतिशत रहेको थियो ।
गैर–खाद्य तथा सेवा तर्फ आर्थिक वर्ष २०७७÷७८ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति २.५१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ४.६१ प्रतिशत रहेको थियो । क्षेत्रगत उपभोक्ता मुल्यतर्फ आर्थिक वर्ष २०७७/७८ मा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ३.३३ प्रतिशत, तराईमा ३.६८ प्रतिशत, पहाडमा ३.८७ प्रतिशत र हिमालमा २.८७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मुद्रास्फीति क्रमशः ६.९६ प्रतिशत, ६.२९ प्रतिशत, ५.१० प्रतिशत र ४.९१ प्रतिशत रहेको थियो ।