२०८२ बैशाख ११ बिहीबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विगत २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठुला करदाताबाट असुल गर्न पञ्चेबाजासहित टोल टोलमा पुगेको छ ।

बक्यौता रकम असुल गर्न महानगरले पटक पटक सार्वजनिक सूचना जारी गर्दासमेत सम्बन्ध भएका निकाय सम्पर्कमा नआउँदा यस किसिमको अभ्यास थालेको हो ।

बुधवारदेखि महानगरले पञ्चेबाजासहित कर असुलसम्बन्धी लोक तथा दोहोरी गीत बजाएर घरजग्गा र सम्पत्ति कर नतिर्ने ठुला करदातासमक्ष पुगेको छ ।

दुई चरणमा गरिएको सार्वजनिक सूचनाको धेरैले बेवास्ता गरी सम्पर्कमा पनि नआउने र विवरणसम्म पेस नगरेकाले महानगरले ताकेता गर्नुपरेको राजस्व महाशाखा प्रमुख डा शिवराज अधिकारीले जानकारी दिनुभयो ।

करदातालाई कर बुझाउन रचनात्मक दबाब दिँदै विभागले बुधवार दरबारमार्ग, न्यूरोड र नयाँ बजारका करदाताको घर–आँगनमा पञ्चेबाजासहित नाचगान गरेका छन् ।

आफ्नो विवरण लिएर सम्पर्कमा आए नियमानुसार महानगरबाट दिइने कर छुट सुविधा प्राप्त गर्न सकिने र अझै आलटाल गरिरहे थप समस्या हुने जनाउँदै इमान्दार भएर कर तिर्न निजी र अर्धसरकारी सङ्घ संस्थालाई महानगरले अनुरोध गरेको छ ।

मुख्य गरी कर नतिर्नेमा नेपाल स्काउट, साझा भण्डार, राष्ट्रिय नाचघर, चेम्बर भवन, कर्मचारी सञ्चय कोष भवन, नेपाल रेडक्रस सोसाइटी, नेपाल विद्युत् प्राधिकरण, नेशनल ट्रेडिङ लिमिटेड, जय नेपाल हल, इम्पेरियल अपार्टमेन्ट, कान्तिपुर होटेल लगायत रहेको महानगरपालिकाले जनाएको छ ।

सार्वजनिक सूचना जारी गरेपछि कापमाले तीन करोड बक्यौता कर असुल गरेको जनाएको छ । यसअघि कापमाले गत असार १६ गते र साउनको अन्तिम साता गरी कर नतिर्ने ७२ ठुला करदाताको नाम सार्वजनिक गरी ३० दिनभित्र सम्पर्क गरी विवरण पेस गर्न आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर