काठमाडौं । नेपाल टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने फाइबर टु द होम (एफटीटीएच) सेवा साउन २८ सम्ममा मुलुकका ५४ जिल्लाका कुल एक लाख ७२ हजारभन्दा बढी ग्राहकलाई वितरण गरिएको जनाएको छ ।
२०७५ मा एक हजार सात सय ३८ ग्राहकलाई मात्र उक्त सेवा उपलब्ध भएकोमा २०७६ मा ३० हजार आठ सय ७९ ग्राहकलाई र २०७७ मा एक लाख सात हजार सात सय एक ग्राहकलाई उपलब्ध भएको थियो ।
त्यस्तै २०७८ वैशाख, जेठ, असार र साउन २८ गतेसम्म करिब चार महिनामा ६४ हजार दुई सय नयाँ लाइन वितरण गरिएको कम्पनीले जनाएको छ । नेपाल टेलिकमले एफटीटीएच सेवाअन्तर्गत मुख्यतः भ्वाइस र डाटा सेवामात्र उपलब्ध गराइरहेकामा २०७७ पुस १७ देखि एनटी टिभी ब्रान्डमा आईपी टिभी सेवासमेत उपलब्ध गराउँदै आएको छ ।
सुरुमा काठमाडौं उपत्यका र बनेपामा मात्र उपलब्ध गराइएकोमा हाल भरतपुर, हेटौंडा, लाहान, टाँडी, धुलिखेल, नगरकोट, पोखरा, सौराहा, बुटवल, बर्दघाट, बागलुङ, तौलिहवा, सन्धिखर्क, भैरहवा, पाल्पा, सिसुवा, तम्घास, दमौली, धादिङ, परासी, मंगलापुर र सिरहालगायत स्थानमा पनि विस्तार भइसकेको छ ।
उच्च गतिको भरपर्दो इन्टरनेट सेवाका लागि उपयोग भइरहेको एफटीटीएच सेवाले भ्वाइस टेलिफोनका लागि तामाको तारको विकल्पका रूपमा फाइबर उपलब्ध गरेको छ भने सोही फाइबरबाट टेलिभिजन सेवा पनि उपलब्ध भएपछि ट्रिपल प्लेको अवधारणा कार्यान्वयन भएको छ ।
चालु आवमा मुलुकभरका ६५ जिल्लामा एफटीटीएच सेवाको विस्तार गर्ने योजना रहेको कम्पनीका प्रवक्ता राजेश जोशीले जानकारी गराउनुभएको छ ।