लघुवित्त वित्तीय संस्थाहरूले नेपालका ग्रामीण तथा पिछडिएको वर्गका मानिसहरूलाई वित्तीय सेवा प्रदान गर्दा विभिन्न प्रकारका जोखिमहरू सिर्जना भई सोको व्यवस्थापन गरिरहेका हुन्छन् । उक्त वित्तीय सेवाहरूमा कर्जा जोखिम, सञ्चालन जोखिम, ब्याजदर जोखिम, तरलता जोखिमलगायतका विभिन्न प्रकारका जोखिमहरू अन्तर्निहित रहेका हुन्छन् । संस्थालाई दीर्घकालसम्म सञ्चालन गर्न तथा स्थायित्वका लागि जोखिमको व्यवस्थापन गर्न आवश्यक रहेको हुन्छ । संस्थाले प्राप्त गर्ने नाफा नै जोखिम बहन गरेवापतको पुरस्कार हो । जोखिमको कुशल व्यवस्थापनबाट नै संस्थाले नाफा आर्जन गरी संस्थाका लगानीकर्ता, बचतकर्तालगायत सम्बद्ध पक्षको चासो पूरा गरिरहेका हुन्छन् । जोखिमको सही व्यवस्थापन गर्न नसक्दा संस्था व्यावसायिक नोक्सानमा जाने, बचतकर्ताहरूको बचतको सुरक्षा गर्न नसकी संस्था दीर्घकालमा कुशल रूपमा सञ्चालन गर्न नसक्ने हुन्छ । साथै, संस्थाले सामाजिक तथा वित्तीय उद्देश्यहरूसमेत पूरा गर्न नसक्ने हुन्छन् ।
लघुवित्त वित्तीय संस्थामा जोखिम व्यवस्थापनको आवश्यकता
नेपालमा हाल छ दर्जनभन्दा बढी लघुवित्त वित्तीय संस्था रहेकाले ती संस्थाहरूको अनुपालनाका आधारमा निरीक्षण र सुपरिवेक्षण गर्न नेपाल राष्ट्र बैंकलाई चुनौती नै छ । नेपाल राष्ट्र बैंकले आगामी दिनमा संस्थाले हांसिल गरेको वित्तीय एवम् सञ्चालन प्रगतिका साथै व्यावसायिक क्रियाकलापमा देखिन सक्ने सम्भावित जोखिमको पहिचान र सोको व्यवस्थापन, जोखिमको असर न्यूनीकरणका लागि तयार गरेको संयन्त्र आदि विषयलाई समेत समेटेर जोखिमका आधारमा संस्थाको निरीक्षण तथा सुपरिवेक्षण गर्न आवश्यक रहेको छ । संस्थामा रहने जोखिमको व्यवस्थित रूपमा पहिचान गर्ने, जोखिमको मापन गर्ने, अनुगमन तथा व्यवस्थापन गर्ने निरन्तर प्रक्रिया नै जोखिम व्यवस्थापन हो । संस्थाले जोखिम अभिलेखका आधारमा जोखिमको पहिचान, मापन, अनुगमन र नियन्त्रण गर्नुपर्दछ ।
जोखिम व्यवस्थापन गर्दा संस्थाको कार्यबाट सिर्जना हुन सक्ने जोखिमका बारेमा निर्णयकर्तालाई जानकारी हुने, सञ्चालक समितिले तय गरेको रणनीतिक योजना, जोखिम सीमा, उद्देश्य एवम् लक्ष्यभित्र रही व्यावसायिक कार्य गरी जोखिम लिने, जोखिमको मात्रा अनुसार क्षतिपूर्ति पाइने, जोखिमसम्बन्धी निर्णयहरू स्पष्ट र पारदर्शी हुने, जोखिम लिएअनुरूप पँुजी व्यवस्थापन गर्न सकिने आदि कारणले जोखिम व्यवस्थापन कार्यको आवश्यकता दिनानुदिन बढ्दै गएको छ । हाल नेपालका लघुवित्त वित्तीय संस्थाहरूमा देखिएका कर्जा जोखिम, ब्याजदर जोखिम, सञ्चालन जोखिम, तरलता आदि जोखिमसम्बन्धी कमीकमजोरीका कारण संस्थाको व्यावसायिक क्रियाकलापको सञ्चालनमा कठिनाइ थपिँदै गएको छ ।
संस्थाको संस्थागत सुशासन, सम्पत्तिको गुणस्तर, लगानी, कोष व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली आदिका बारेमा संस्थाको सञ्चालक तथा उच्च व्यवस्थापन जानकार हुन संस्थाको कार्यक्षेत्र तथा संरचनाको कारणले कठिनाइ हुने भएकोले जोखिम बढी भएको क्षेत्रमा बढी ध्यान दिनका लागि समेत संस्थामा जोखिम व्यवस्थापनको आवश्यकता रहेको हुन्छ । संस्थाको व्यावसायिक गतिविधिमा निहित जोखिमको स्तर, जोखिम बहन क्षमता निर्धारण, जोखिम व्यवस्थापनको लागि विकास गरेको रणनीति, नीतिगत व्यवस्था र मार्गदर्शनको नियमित पुनरावलोकनजस्ता जोखिम व्यवस्थापन कार्यबाट दिगो रूपमा संस्था सञ्चालनमा रहन सक्छ ।
जोखिम व्यवस्थापन इकाईले देखेका जोखिम र त्यस्ता जोखिम न्यूनीकरणका उपायहरूसहितको प्रतिवेदन संस्थाको उच्चस्तरीय जोखिम व्यवस्थापन समितिमा पेश गर्ने संयन्त्रको निर्माण गर्नुपर्दछ । उक्त उच्चस्तरीय जोखिम व्यवस्थापन समितिले नियमित रूपमा संस्थाको विद्यमान जोखिम पहिचान तथा व्यवस्थापन प्रणालीको पर्याप्तता र उपयुक्तता सम्बन्धमा सञ्चालक समितिलाई जानकारी गराउने र उपयुक्त प्रणालीको विकासका लागि आवश्यक सुझाव दिने, संस्थाको जोखिमको आँकलन, मूल्याङ्कन, नियन्त्रण तथा अनुगमन के कसरी भइरहेको छ सो सम्बन्धमा छलफल गर्ने र सञ्चालक समितिमा आवश्यक सुझाव दिने, अर्थतन्त्रको कुनै क्षेत्रमा उत्पन्न हुने समस्या वा परिवर्तनले संस्थाको वित्तीय अवस्थामा पार्न सक्ने असरका सम्बन्धमा अध्ययन गरी सोको निराकरणका लागि के कस्तो नीति अवलम्बन गर्नुपर्ने हो सोको सुझाव पेश गर्ने लगायतका कार्यहरू गरिरहनुपर्छ ।
जोखिम व्यवस्थापन संरचना
संस्थाको सङ्गठनात्मक संरचना, उद्देश्य एवम् क्रियाकलापका आधारमा जोखिम व्यवस्थापनसम्बन्धी कार्य फरक हुन सक्छ । एक संस्थामा अवलम्बन गरिएको जोखिम व्यवस्थापन कार्य अन्य संस्थाका लागि अनुपयुक्त हुन सक्छ । संस्था अनुसार जोखिम फरक हुने कारणले सबै संस्थाहरूलाई एकै प्रकारका जोखिम व्यवस्थापन प्रणाली अपनाउन सकिँदैन । संस्थामा समयअनुसार नयाँ प्रविधिको प्रयोग, अन्वेषण, सूचना प्रणाली एवम् बजार सक्षमता आदिका कारण संस्थामा नयाँ जोखिमहरू सिर्जना भइरहेको हुन्छ । ती सिर्जित जोखिमहरूको न्यूनीकरणका लागि हरेक संस्थाले छुट्टाछुट्टै जोखिम व्यवस्थापन कार्यक्रमहरू तयार गरी कार्यान्वयमा ल्याउनुपर्दछ । व्यवस्थापन गर्न सकिने जोखिमको क्षेत्र, जोखिम व्यवस्थापन प्रणाली र प्रक्रियाहरू, सङ्गठनात्मक संरचनामा रहेका पक्षहरूको भूमिका र जिम्मेवारीका सम्बन्धमा स्पष्ट व्यवस्था गरी संस्थाले तयार गरिएको संरचनालाई नै जोखिम व्यवस्थापन संरचना भनिन्छ । प्रभावकारी जोखिम व्यवस्थापन प्रणालीमा निम्न तत्वहरू रहेका हुन्छन् :
Active board and senior management oversight
संस्थाको सञ्चालक समिति र उच्च व्यवस्थापन नै जोखिम व्यवस्थापन र यसको प्रभावकारिता बारेमा जानकार रहेको हुन्छ । सङ्गठनको जोखिम बहन गर्ने अन्तिम जिम्मेवारी सञ्चालक समितिको हुने भएकोले लघुवित्त वित्तीय संस्थाले आफ्नो व्यावसायिक कार्यमा जोखिम बहन गर्ने चाहना (risk appetite), जोखिम बहन गर्ने क्षमता (risk tolerance) र जोखिम लिने रणनीतिको तय गर्ने काम सञ्चालक समितिबाट गर्नुपर्दछ । संस्थाको जोखिम व्यवस्थापन गर्ने समग्र जिम्मेवारी सञ्चालक समितिको हुने र संस्थाको व्यवस्थापनको प्रमुख कर्तव्य समितिबाट स्वीकृत जोखिम रणनीति कार्यान्वयनको लागि आवश्यक नीति तथा प्रक्रियाहरू तयार गरी कार्यान्वयन गराउनु हो ।
जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि संस्थाले जोखिम रणनीतिलाई आवश्यक नीति तथा प्रक्रियाहरू तयार गरी कार्यान्वयन गराउनुपर्दछ । संस्थाले सम्पादन गर्ने तथा सम्पादन गरिसकेका व्यावसायिक क्रियाकलापबाट सिर्जना हुन सक्ने जोखिमको बारेमा उच्च व्यवस्थापन पूर्ण रूपमा सचेत हुनुपर्दछ । उच्च व्यवस्थापनले संस्थाको जोखिम अभिलेखका बारेमा निरन्तर अध्ययन गर्नुपर्दछ र उक्त जोखिम अभिलेख संस्थाको सञ्चालक समिति र जोखिम व्यवस्थापन समितिमा नियमित रूपमा समीक्षाको लागि पेश गर्नुपर्दछ । जोखिम व्यवस्थापन समिति र सञ्चालक समितिले जोखिम अभिलेखको समीक्षा गरी त्यसमा देखिएका कमीकमजोरी सुधारका लागि व्यवस्थापनलाई निर्देश गरेको हुनुपर्दछ ।
Adequate policies, procedures
लघुवित्त वित्तीय संस्थाहरूको व्यावसायिक कार्य तथा दैनिक कार्य सञ्चालन गतिविधिबाट उत्पन्न हुने जोखिमको व्यवस्थापनका लागि संस्थाको सञ्चालक समिति तथा उच्च व्यवस्थापनले जोखिम व्यवस्थापन सम्बन्धी नीति तथा प्रक्रियाहरू पर्याप्त मात्रामा तयार गरी कार्यान्वयन गराउनुपर्दछ । यी नीति तथा प्रक्रियाले संस्थाको जोखिम रणनीति कार्यान्वयनका लागि सहयोग गर्दछ । यी नीति र प्रक्रियामा कुनै एउटा विशेष जोखिम मात्र समावेश नभई कर्जा जोखिम नीति, तरलता जोखिम व्यवस्थापन नीति, सञ्चालन जोखिम व्यवस्थापन नीति लगायत समग्र जोखिम व्यवस्थापनलाई आवश्यक सम्पूर्ण नीति तथा प्रक्रियाहरू समावेश भएको हुनुपर्दछ । संस्थाको व्यवस्थापनले यस प्रकारका जोखिम नीति तथा प्रक्रियाहरूको नियमित रूपमा समीक्षा गरी अद्यावधिक गर्ने गर्नुपर्दछ । साथै, यस प्रकारका नीति तथा प्रक्रियाको समय समयमा आन्तरिक लेखापरीक्षण गराई नीतिको प्रभावकारिताका बारेमा समीक्षा गर्नुपर्दछ ।
Management information system (MIS)
जोखिम अनुगमन तथा व्यवस्थापनका लागि संस्थाको व्यवस्थापन सूचना प्रणाली प्रभावकारी हुनुपर्दछ । व्यवस्थापन सूचना प्रणालीले नियमित रूपमा संस्थामा देखिएका जोखिमका मुख्य सूचकहरू तयार गरेको हुनुपर्दछ । उक्त सूचकहरूमा देखिएका जोखिमको स्तरलाई संस्थाका जोखिम अधिकृतहरूले निरन्तर रूपमा अनुगमन गरी जोखिम न्यूनीकरणका लागि आवश्यक उपायहरू अपनाउनका लागि संस्थाको उच्च व्यवस्थापन र सञ्चालक समितिमा जानकारी गराउनुपर्दछ । यस प्रकारको प्रतिवेदनमा दैनिक तथा साप्ताहिक रूपमा संस्थालाई आवश्यक तरलता प्रतिवेदन (liquidity gap reports), महत्वपूर्ण कर्जाहरूको विवरण (खराब कर्जा, ठूला कर्जा, भुक्तानी अवधि समाप्त भइसकेको कर्जा आदि) आदिलाई समावेश गरिनुपर्दछ । उक्त व्यवस्थापन सूचना प्रणालीले नियामक निकायलाई आवश्यक पर्ने सूचना, जानकारी एवम् प्रतिवेदनहरू तयार गर्नसक्ने हुनुपर्दछ । साथै, उक्त प्रणालीले संस्थामा देखिने अपवादहरू र सोको समाधानको उपायहरूसमेत पहिचान गरी जानकारी गराउनसक्ने हुनुपर्दछ । साथै, संस्थामा देखिने उक्त विचलनहरूको समाधानको लागि स्पष्ट प्रक्रियाहरूसमेत उक्त व्यवस्थापन सूचना प्रणालीले उपलब्ध गराउनसक्ने हुनुपर्दछ ।
Comprehensive internal controls and limits
लघुवित्त वित्तीय संस्थामा देखिने जोखिमहरूको व्यवस्थापनको लागि आन्तरिक नियन्त्रण प्रणालीको भूमिका महत्वपूर्ण हुन्छ । संस्थाले विस्तृत रूपमा तयार गरेको आन्तरिक नियन्त्रण संरचनाले व्यवस्थापनलाई संस्थाको जोखिम लिने चाहना (risk appetite), जोखिम लिनसक्ने क्षमता (risk tolerance) र जोखिम रणनीतिभित्र रही जोखिम लिन सक्षम बनाउन सक्छ । प्रभावकारी आन्तरिक नियन्त्रण प्रणालीले अख्तियारीको तहगत संरचना र उपयुक्त कामको बाँडफाँड गराउँछ । संस्थामा विभिन्न कार्यहरूमा तोकिएको सीमा नै आन्तरिक नियन्त्रणको प्रमुख संरचना हो । लघुवित्त वित्तीय संस्थाहरूमा आन्तरिक नियन्त्रणका लागि कर्जा स्वीकृतीको सीमा, तरलताको सीमालगायतका विभिन्न सीमाहरू संस्थाको सञ्चालक समितिबाट तयार गरी कार्यान्वयन गरेको हुन्छ ।
यस प्रकारका सीमाहरूबाट व्यवस्थापनले व्यावसायिक लक्ष्य पूरा गर्नका लागि अधिक जोखिम लिन नसक्ने भई संस्थामा जोखिम व्यवस्थापन गर्न सहज हुन्छ । आन्तरिक लेखापरीक्षणले संस्थामा रहेको आन्तरिक नियन्त्रण प्रणालीलाई नियमित रूपमा परीक्षण तथा समीक्षा गरिरहनु पर्दछ । आन्तरिक लेखापरीक्षणले समेटेको क्षेत्र, प्रक्रिया र प्रतिवेदनमा उल्लेखित कैफियत तथा सुझावहरू आन्तरिक नियन्त्रणका लागि बढी नै महत्वपूर्ण हुने भएकोले संस्थाको लेखापरीक्षण समिति र सञ्चालक समितिले संस्थाको जोखिम व्यवस्थापन कार्यलाई पर्याप्त मात्रामा समीक्षा गरी त्यसमा देखिएका कमीकजोरीलाई तत्काल सम्बोधन गर्नुपर्दछ ।
Risk management unit and committees
लघुवित्त वित्तीय संस्थामा समग्र जोखिम व्यवस्थापनको लागि एउटा छुटै स्वायत्त जोखिम व्यवस्थापन इकाईको गठन गरिनुपर्छ । सो इकाईमा हरेक प्रकारका जोखिमहरू हेर्ने जिम्मेवारी तोकी जोखिम अधिकृतको नेतृत्वमा दक्ष तथा अनुभवी कर्मचारीको पर्याप्त व्यवस्था गर्नुपर्छ । उक्त इकाइका प्रमुख कार्य निम्नानुसार रहेको हुन्छ ।
· जोखिम व्यवस्थापन नीति तथा प्रक्रियाको तयार गरी स्वीकृतिको लागि पेश गर्ने,
· व्यावसायिक इकाईहरूसँग समन्वय गरी आवश्यक पर्ने कार्यविवरण तयार गर्ने,
· संस्थामा देखिएका जोखिम व्यवस्थापन कार्यको अध्ययन गर्ने, सो अध्ययनको प्रतिवेदन तयार गरी जोखिम व्यवस्थापन समितिमा पेश गर्ने,
· जोखिम व्यवस्थापनसम्बन्धी कार्यहरू कार्यान्वयनका लागि आवश्यक सहयोग गर्ने,
· जोखिम व्यवस्थापन समितिबाट भएका निर्देशनहरूको कार्यान्वयन गर्ने गराउने ।
संस्थाको अन्य व्यावसायिक एवम् कार्य सञ्चालन इकाईहरूको कार्यमा संलग्न नहुने स्वायत्त इकाईमार्फत जोखिम व्यवस्थापन गर्ने व्यवस्था मिलाउनुपर्दछ । जोखिम लिई व्यावसायिक कार्यमा संलग्न हुने कर्मचारीलाई संस्थाका जोखिमको अनुगमन तथा मूल्याङ्कन गर्ने कार्यमा संलग्न गराउनु हुँदैन । कर्जा जोखिम व्यवस्थापन इकाइमा पर्याप्त अधिकारसहित संस्थाका उच्च तहका कर्मचारीलाई जोखिम अधिकृतको रूपमा जिम्मेवारी तोक्नुपर्दछ । निज जोखिम अधिकृतको जोखिम व्यवस्थापन समितिमा सीधा पहुँच हुने गरी सङ्गठन संरचना तयार गर्नुका साथै, नियमित रूपमा उक्त इकाईले सीधै जोखिम व्यवस्थापन समितिमा प्रतिवेदन पठाउने व्यवस्था गर्नुपर्दछ । जोखिम व्यवस्थापन इकाईमा पर्याप्त संख्यामा दक्ष तथा अनुभवी कर्मचारीको व्यवस्था गर्ने र प्रभावकारी रूपमा जोखिम व्यवस्थापन गर्नका लागि आवश्यक बजेटको समेत व्यवस्था गर्नुपर्दछ ।
कार्यात्मक जोखिम तालिकाको निर्माण गरी कार्यान्वयन गर्ने
लघुवित्त वित्तीय संस्थाले व्यावसायिक गतिविधिहरू सञ्चालन गर्दा कर्जा जोखिम, तरलता जोखिम, ब्याजदर जोखिम र सञ्चालन जोखिमलगायतका आधारभूत जोखिमहरू सिर्जना भएको हुन्छ । यस प्रकारका आधारभूत जोखिमको स्तर त्यस्ता व्यावसायिक गतिविधिको प्रकृति र क्षेत्रका आधारमा फरकफरक हुन्छ । एक प्रकारको जोखिम संस्थाको धेरै प्रकारका गतिविधिमा रहन सक्छ भने एउटा व्यावसायिक गतिविधिमा धेरै प्रकारका जोखिमहरू अन्तर्निहित हुन सक्छ । त्यस्तै, एक प्रकारको जोखिमबाट अर्को जोखिमसमेत उत्पन्न हुन सक्दछ । तसर्थ, संस्थाले आफ्नो व्यावसायिक गतिविधिको आधारमा कार्यात्मक जोखिम तालिका (functional risk matrix) तयार गरी संस्थामा देखिने र देखिन सक्ने सबै प्रकारका जोखिमको आँकलन गरी सोको व्यवस्थापन गर्ने संयन्त्र तयार गर्नुपर्दछ । संस्थाको व्यावसायिक क्षेत्र र गतिविधिको आधारमा आधारभूत जोखिमको स्तर फरकफरक हुने भएकोले संस्थाको कार्यात्मक जोखिम तालिका संस्थापिच्छे फरकफरक हुने गर्दछ ।
लघुवित्त वित्तीय संस्थाहरूको व्यावसायिक कार्य क्षेत्रमा कर्जा लगानी तथा व्यवस्थापन, कोष लगानी, सम्पत्ति तथा दायित्व व्यवस्थापन, लगानी सञ्चालन, ससाना लघुवित्तसम्बन्धी गतिविधि, बचत सङ्कलन, भुक्तानी प्रणाली, व्यवस्थापन सूचना प्रणाली आदि रहेका छन् । यी कार्यात्मक गतिविधिबाट नै लघुवित्त वित्तीय संस्थाको व्यावसायिक क्रियाकलाप सञ्चालन भएको हुन्छ । लघुवित्त वित्तीय संस्थाले व्यवस्थापनको रणनीतिक योजना, नयाँ व्यावसायिक गतिविधि विस्तार योजना एवम् नयाँ सेवाको सुरुआत, संस्थाको वासलातको आकार र मुख्य आम्दानीको स्रोतका आधारमा संस्थाको कार्यात्मक गतिविधिको क्षेत्र तोक्नुपर्दछ । यसरी, तयार गरिने कार्यात्मक जोखिम तालिकामा संस्थाको कार्यात्मक क्षेत्रको पहिचान, प्रकार र आधारभूत जोखिम तथा सेवाको प्रकारका बारेमा स्पष्ट व्याख्या गरिनु पर्दछ ।
लघुवित्त वित्तीय संस्थाहरूले आफ्ना व्यावसायको कार्यक्षेत्रमा देखिन सक्ने आधारभूत जोखिमहरूलाई उक्त कार्यात्मक जोखिम तालिकामा समावेश गर्नु पर्दछ । उदाहरणको रूपमा कर्जा सञ्चालनमा सामान्यत कर्जा जोखिम रहेको हुन्छ, साथसाथै तरलता जोखिम र ब्याजदर जोखिम पनि सिर्जना हुन सक्ने सम्भावना रहन्छ । तसर्थ, संस्थाले तयार गर्ने कार्यात्मक जोखिम तालिकामा कर्जा सञ्चालनमा कर्जा जोखिमलगायत तरलता जोखिम र ब्याजदर जोखिमलाई समेत समावेश गर्नुपर्दछ ।
दीर्घ कालसम्म संस्था सञ्चालन गर्नका लागि संस्थामा देखिएका जोखिमहरूको व्यवस्थापन गरी सोको असरलाई न्यूनीकरण गर्नु संस्थाको प्राथमिक दायित्व हो । प्रभावकारी जोखिम व्यवस्थापनबाट नै संस्थाले नयाँ व्यावसायिक अवसर पाउनुका साथै व्यावसायिक चुनौतीको सामना गर्न सक्षम हुन्छ । संस्थाहरूले जोखिम व्यवस्थापन गर्न जोखिम व्यवस्थापन प्रणालीका लागि न्यूनतम मापदण्डहरू तय गर्ने र सो प्रावधानहरूसहित जोखिम व्यवस्थापनका लागि आवश्यक थप प्रावधानहरूसमेत समावेश गरी छुटै जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका तयार गरी लागू गर्नुपर्दछ । उक्त निर्देशिकामा संस्थामा देखिन सक्ने कर्जा जोखिम, सञ्चालन जोखिम, ब्याजदर जोखिम, तरलता जोखिमलगायत संस्थामा देखिने समग्र जोखिमको आँकलन गर्ने, मूल्याङ्कन गर्ने, जोखिम न्यूनीकरणका लागि आवश्यक संयन्त्रहरू तयार गर्नेलगायतका प्रक्रियासमेत समावेश गर्नुपर्ने हुन्छ ।
संस्थामा जोखिम व्यवस्थापनका सम्बन्धमा सञ्चालक तथा उच्च व्यवस्थापनबाट प्रभावकारी रूपमा निगरानी गरिरहनु, आन्तरिक नियन्त्रण प्रणाली एवम् जोखिम व्यवस्थापनका सम्बन्धमा संस्थामा पर्याप्त मात्रामा नीति एवम् प्रक्रियाहरू तयार गरी कार्यान्वयनमा ल्याउनु, संस्थाको कार्यका सम्बन्धमा स्वायत्त एवम् चुस्त आन्तरिक नियन्त्रण प्रणाली तयार गर्ने, संस्थाको काम कारबाहीमा कम्तीमा द्वय नियन्त्रण प्रणाली अपनाउने र अधिकार तथा निर्णयको क्षेत्राधिकारमा सीमा कायम गर्नु अपरिहार्य छ । साथै, कायम गरिएका ती सीमाका सम्बन्धमा समयसमयमा पुनरावलोकन गरी सोको पालना स्थितिका बारेमा आन्तरिक लेखापरीक्षकबाट लेखापरीक्षण भएको हुनुपर्दछ ।
त्यस्तै, संस्थामा देखिएका जोखिमको व्यवस्थापनका लागि अन्य व्यावसायिक गतिविधिमा संलग्न नभएका उच्च पदस्थ कर्मचारीहरू रहेको जोखिम व्यवस्थापन इकाई गठन गर्ने र सो इकाईबाट संस्थाको सम्पूर्ण जोखिमको व्यवस्थापन गर्ने व्यवस्था मिलाउनुपर्दछ । साथै, जोखिम व्यवस्थापन इकाईले देखेका जोखिम र त्यस्ता जोखिम न्यूनीकरणका उपायहरूसहितको प्रतिवेदन संस्थाको उच्चस्तरीय जोखिम व्यवस्थापन समितिमा पेश गर्ने संयन्त्रको निर्माण गर्नुपर्दछ । उक्त उच्चस्तरीय जोखिम व्यवस्थापन समितिले नियमित रूपमा संस्थाको विद्यमान जोखिम पहिचान तथा व्यवस्थापन प्रणालीको पर्याप्तता र उपयुक्तता सम्बन्धमा सञ्चालक समितिलाई जानकारी गराउने र उपयुक्त प्रणालीको विकासका लागि आवश्यक सुझाव दिने, संस्थाको जोखिमको आँकलन, मूल्याङ्कन, नियन्त्रण तथा अनुगमन के कसरी भइरहेको छ सो सम्बन्धमा छलफल गर्ने र सञ्चालक समितिमा आवश्यक सुझाव दिने, अर्थतन्त्रको कुनै क्षेत्रमा उत्पन्न हुने समस्या वा परिवर्तनले संस्थाको वित्तीय अवस्थामा पार्न सक्ने असरका सम्बन्धमा अध्ययन गरी सोको निराकरणका लागि के कस्तो नीति अवलम्बन गर्नुपर्ने हो सोको सुझाव पेश गर्ने लगायतका कार्यहरू गरिरहनुपर्छ । यसबाट संस्थामा रहेको जोखिम व्यवस्थापन प्रणाली प्रभावकारी एवम् चुस्त हुने सम्भावना रहन्छ ।
(अधिकारी नेपाल राष्ट्र बैंकमा उप–निर्देशक हुनुहुन्छ)