२०८१ मंसिर २३ आईतवार

काठमाडौं । नेपालमा विदेशी लगानी प्रतिबद्धताको तुलनामा निकै कम आउने गरेको पाइएको छ । उद्योग विभागका अनुसार हालसम्म ३ खर्ब ६४ अर्ब ४६ करोड रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । तर, उक्त प्रतिबद्धताको ३४ प्रतिशत अर्थात् १ खर्ब ८३ अर्ब रुपैयाँ मात्र भित्रिएको छ ।

लगानीमैत्री वातावरण नहुनु, राजनीतिक अस्थिरता, पूर्वाधार अभावलगायतका कारणले विदेशी लगानी प्रतिबद्धता अनुसार भित्रन नसकेको नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले बताए । उसो त सरकारले पछिल्लो समय लगानी आकर्षित गर्न नीति सहजीकरण समेत गरेको छ ।

लगानीकर्ताको सहजताका लागि एकल बिन्दु सेवा पनि संचालनमा छ । राष्ट्र बैंकले केही समय अघि मात्र राष्ट्र बैंकको स्वीकृतिविनै विदेशी लगानी ल्याउन पाउने व्यवस्था समेत गरेको छ । यसले लगानी भित्र्याउन केही सहज हुने भएकाले पनि आगामी दिनमा थप बढ्ने अनुमान रहेको पनि उनले बताए ।

उद्योग विभागका अनुसार हालसम्म उद्योग क्षेत्रमा २२ खर्ब ८३ अर्ब २८ करोड लगानी भएको छ । ८ हजार ५४३ वटा स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका छन् । रोजगारी सृजना र समग्र राष्ट्रको विकासका लागि प्रत्यक्ष वैदेशिक लगानी अपरिहार्य हुन्छ । त्यसकारण लगानीकर्तालाई सहज वातावरण बनाउन देशका कानुनी प्रावधान र प्रक्रियागत विषयमा समयसापेक्ष परिमार्जन गरी सरल बनाउन सरकारलाई उपाध्यक्ष ढकालको सुझाव छ ।

नेपालमा जलस्रोत, उद्योग, सेवा–प्रवाह, पर्यटन, उत्पादन, निर्माण, कृषि, खानेपानी, खनिज पदार्थ उत्खनन, ऊर्जालगायत सबै क्षेत्रमा लगानीकर्ता आकर्षित भई कार्यान्वयनमा समेत जुटिरहेका छन् ।
कोरोना महामारीकै बीच आर्थिक वर्ष २०७७–७८ मा नेपालमा लगानीको प्रतिबद्धता बढेको छ । उद्योग विभागका अनुसार स्वदेशी तथा विदेशी लगानीकर्ताले २०३ वटा नयाँ उद्योगका लागि १ खर्ब ५६ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता जनाएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा २७७ वटा उद्योगका लागि १ खर्ब ५२ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । गतवर्ष विदेशी लगानी प्रतिबद्धता भने अघिल्लो वर्षको तुलनामा ५ अर्ब कम अर्थात् ३२ अर्ब २ करोड रुपैयाँ बराबरको मात्र आएको विभागका महानिर्देशक जिवलाल भुसालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय