काठमाडौं। एक सातामा सुनको कारोबार मूल्य तोलामा २४ सय घटेको छ भने चाँदी पनि ४५ रुपैयाँ सस्तिएको छ। आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९० हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत शुक्रबारका तुलनामा १५ सय र गत आइतबारका तुलनामा २४ सय घटेको हो। शुक्रबार प्रतितोला ९१ हजार ५ सय थियो भने त्यसअघि गत आइतबार ९२ हजार ४ सय रुपैयाँ थियो।
चाँदी पनि सस्तिएर प्रतितोला १२ सय ४० रुपैयाँ भएको छ। गत आइतबार १२ सय ८५ रुपैयाँ प्रतितोला रहेको चाँदी शुक्रबार १२ सय ६५ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको कारोबार मूल्य अस्थिर छ। गत सातादेखि घटिरहेको बजारमा लगानीकर्ता सुनचाँदी छाडेर अन्य क्षेत्रमा लगानीमा आकर्षित हुनुको असर परिरहेको देखिएको छ।
गत शुक्रबार प्रतिऔंस १८२७.४१ डलर रहेको सुन कारोबार खस्किँदै आइतबार १७६३.६९ डलर भएको छ। चाँदी पनि घटेर प्रतिऔंस २४.३४ डलरमा कारोबार भइरहेको छ। गत शुक्रबार २५.११ डलर थियो।















