२०८१ मंसिर २२ शनिबार

काठमाडौं। जापान सरकारले नेपाललाई अनुदानमा दिएको खोप एस्ट्राजेनेकाको पाँच लाख मात्रा शनिबार काठमाडौं आइपुगेको छ। कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणको एस्ट्राजेनेका खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले बताए।

जापानले नेपाललाई कोरोना रोकथाममा सघाउन १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप दिने प्रतिबद्धता गरेको थियो । आइतबार थप तीन लाख खोप नेपाल आउनेछ। बाँकी खोप एक साताभित्र नेपाल आउने मन्त्रालयले जनाएको छ।

यसअघि भुटानबाट दुई लाख ३० हजार मात्रा कोभिशिल्ड खोप शुक्रबार आइपुगिसकेको छ। जापानबाट प्राप्त खोप यसअघि कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई दिने मंत्रालयको योजना छ। नेपालले खरिद गरेको खोप भारतले उपलब्ध नगराउँदा कोभिशिल्ड खोप लगाएका १४ लाख ५० हजार जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन्।

जापान र भुटानबाट आएको खोप कोभिशिल्डको दोस्रो मात्रा नपाएकालाई लगाइने मन्त्रालयले जनाएको छ। हालसम्म खरिद र अनुदान गरेर करिब एक करोड मात्रा खोप नेपाल आइपुगेको छ। नेपालले ६० लाख मात्रा खोप खरिद गरेको छ। चीनबाट ४० लाख भेरोसेल र भारतबाट २० लाख कोभिशिल्ड खोप खरिद गरिएको छ। भारतबाट खरिद गरिएकामध्ये १० लाख मात्रा खोप अझैसम्म आपूर्ति भएको छैन।

यसैगरी भारतबाट अनुदानमा ११ लाख कोभिशिल्ड (नेपाली सेनासहित) प्राप्त भएको छ। चीनबाट १८ लाख मात्रा भेरोसेल खोप अनुदानमा प्राप्त भएको छ। यस्तै गाभीबाट तीन लाख ४८ हजार कोभिशिल्ड र अमेरिकाबाट १५ लाख ३४ हजार जे एण्ड जे खोप अनुदानमा प्राप्त भएको मन्त्रालयले जनाएको छ।

खोपको नियमित आपूर्ति हुन थालेपछि सरकारले खोप केन्द्र पनि थप गरेको छ । खोप केन्द्रमा भीडभाड देखिएको र खोप लगाउनेबाटै संक्रमण फैलन सक्ने देखिएपछि सरकारले एक हजार ४३३ खोप केन्द्र थप गरेको हो। पहिले दुई हजार ९८९ खोप केन्द्र भएकामा अहिले त्यो संख्या चार हजार ४२२ पुर्याइएको छ। काठमाडौं उपत्यकामा ८३ खोप केन्द्र थप गरी १४९ पुर्याइएको छ । उपत्यकामा पहिले ६६ खोप केन्द्र थिए ।

अहिलेसम्म नेपालमा ४४ लाख तीन हजार २१ जनाले पहिलो मात्रा र २२ लाख ८ हजार ५५ ले पूर्णमात्रामा खोप लगाइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय