काठमाडौं । कक्षा १२ को परीक्षा स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ । यसबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक समेत बोलाइएको छ ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार कोरोना संक्रमण फैलिँदै गरेको अहिलेको अवस्थामा सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरिएको हो ।
उनले ट्वीटरमार्फत भनेका छन्, ‘कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु ।’
यही साउन ३१ गतेदेखि ९ दिनसम्म कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सरकारी तयारी भएपनि संक्रमणको भयावह स्थिति भएकाले स्थगित गर्न चौतर्फी दवाब बढ्दै गएको थियो । तर राष्ट्रिय परीक्षा बोर्डले सबै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने बताउँदै आएको थियो ।