
काठमाडौँ । नेपाल टेलिकमले सियूजी सेवामा आबद्ध हुने ग्राहकलाई अन लिमिटेड कलदेखि डाटासम्मको छुटको घोषणा गरेको छ ।
टेलिकमले कर्पोरेट युजर ग्रुप–सियूजी सेवामा आबद्ध हुने ग्राहकको सङ्ख्यामा वृद्धि हुने क्रम जारी रहेकाले कुनै संस्था र कार्यालयमा कार्यरत न्यूनतम दश मोबाइल प्रयोगकर्तालाई सियूजी समूहमा आबद्ध गराएर छुट दिन सकिने जनाएको हो ।
सियूजी सेवामा आबद्ध सदस्यबिच निःशुल्क रूपमा अन लिमिटेड भ्वाइस कल गर्न, सस्तो दरमा डाटा चलाउन र एसएमएस पठाउन सकिने तथा सियूजीमा आबद्ध नभएका नेपाल टेलिकमको नेटवर्कभित्रका अन्य नम्बरमा कुराकानी गर्न सकिने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो ।
कम्पनीले उपलब्ध गराएको सेवामा प्रिपेड मोबाइलका ग्राहकले २०० को प्याकेजअन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अन लिमिटेड कलबाहेक १०० मिनेट अननेट र १० मिनेट अफ नेट भ्वाइस सुविधा तथा ५० वटा अन नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने एक जिबी डाटा सुविधा प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी पोस्टपेड मोबाइलका ग्राहकले ५०० को प्याकेज अन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अन लिमिटेड कल बाहेक ५०० मिनेट अन नेट र ५० मिनेट अफ नेट भ्वाइस सुविधा तथा १०० अन नेट एसएमएस र ३० वटा अफ नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने पाँच जिबी डाटा सुविधा प्राप्त गर्न सक्ने नेपाल टेलिकमले जनाएको छ ।