
काठमाडौं । भारतको सुप्रसिद्ध मल्टिनेसनल अटोमेटिभ कम्पनी आइसर मोटर्सले नेपालस्थित स्थानीय साझेदार इष्टर्न एजेन्सिजलाई दक्षिण एसियाकै उत्कृष्ट डिलर घोषणा गर्दै पुरस्कृत गरेको छ । इष्टर्न एजेन्सिज बतास अर्गनाइजेसन अन्तर्गतको भगिनी संस्था हो । यसले नेपालमा आइसर ब्रान्डका कमर्सियल भेहिकल बिक्री गर्दै आएको छ ।
आइसर मोटर्सले सन् २०२०/२१ को बेष्ट डिलर अवार्ड इष्टर्न एजेन्सिज नेपाललाई प्रदान गरेको हो । बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले आइसर मोटर्सद्वारा प्रदान गरिएको बेष्ट डिलर अवार्ड हालै आयोजित एक कार्यक्रममा ग्रहण गर्नुभएको छ । अवार्ड ग्रहणपछि अध्यक्ष बतासले दक्षिण एसियाका अन्य मुलुकको तुलनामा नेपालमा आइसरको बजारीकरण तथा प्रवद्र्धनमा अथक परिश्रम गरेका कारण अवार्ड पाउन सफल भएको बताउनुभयो ।
अध्यक्ष बतासले नेपालको भौगोलिक अवस्था र कमजोर पूर्वाधारका कारण शक्तिशाली भेहिकलको आवश्यकता आइसरले पूरा गरेको बताउनुभयो । इष्टर्न एजेन्सिजको बृहत बिक्री सञ्जाल, बिक्रीपछिको सेवा, वित्तीय तथा प्राविधिक सहयोग एवं ग्राहकप्रतिको समर्पणका कारण आइसर ब्रान्ड नेपालमा लोकप्रियताको सिंढि चढिरहेको उल्लेख गर्दै अध्यक्ष बतासले यसको मूल्यांकनका लागि आइसर मोटर्स कम्पनीलाई धन्यवाद दिनुभयो ।