
पुँजी बजारमा उपलब्ध सूचनाका आधारमा धितोपत्रको मूल्यांकन हुने गर्दछ र त्यसैको आधारमा दोस्रो बजारमा धितोपत्रको नियमित कारोबार हुने गर्दछ । प्राप्त सूचनालाई विश्लेषण गरी लगानीकर्ताले खरिद वा बिक्री निर्णय गर्दछन् । वित्तशास्त्रमा उपलब्ध सूचनालाई लगानीकर्ताले विवेकपूर्ण विश्लेषण गरी सही निर्णय गर्छन् भन्ने सिद्धान्त वा मान्यता राखिएको हुन्छ । तर बजारको प्रवृत्तिमा यो सिद्धान्त झल्किएको हुँदैन । बजारमा कुनै नयाँ सूचना वा घटना हुँदा लगातार सूचांकहरुमा घटबढ भएको देखिन्छ । यसको कारण लगानीकर्ताले लगानी निर्णयमा पुग्न सूचनाको विवेकपूर्ण विश्लेषण नगरी छिट्टो निर्णयमा पुग्ने प्रवृत्ति हुनु, हल्लाको पछि लाग्नु, स्वनिर्णय नगरी अरुले गरेको निर्णयको पछि लाग्नु आदि हुन् ।
त्यसैले कुनै एक कम्पनी वा समग्र बजारलाई असर गर्ने सूचना वा घटना हुँदा बजारमा तीब्र उतार चढाब हुन्छ जसलाई आधार मानेर लगानीकर्ताले झन् धेरै अविवेकी निर्णय लिने सम्भावना भएकोले त्यस्तो अवस्थाको बजारलाई केहीवेर रोक्दा लगानीकर्ताले सम्हालिएर विवेकपूर्ण निर्णय लिने सम्भावना रहन्छ । यसका लागि सर्किट ब्रेकर लागू गरिन्छ । सर्वप्रथम सर्किट ब्रेकर शब्दको प्रयोग प्रसिद्ध वैज्ञानिक थोमस अल्वा एडिसनले सन् १८७९ मा बिजुलीको उच्च भोल्टेजबाट उत्पन्न हुने जोखिमबाट विद्युतीय उपकरणलाई बचाउने प्रयोजनका लागि प्रयोग गरेका हुन् । धितोपत्र बजारमा पनि लगानीकर्ताहरुलाई उच्च खरिद बिक्री चापबाट उत्पन्न हुन सक्ने जोखिम कम गर्न सर्किट ब्रेकर प्रयोग गरिन्छ । साधारणतया सर्किट ब्रेकर बजारको प्रचलित परिसूचकलाई आधार मानेर गणना गरिन्छ । साथै कम्पनीको मूल्यमा एक दिनभरि हुन सक्ने वृद्धि र कमीको रेन्जका अधारमा पनि हरेक कम्पनीका लागि ब्रेक राख्न सकिन्छ ।
सबैभन्दा पहिला सर्किट ब्रेकरको व्यवस्था सन् १९८७ देखि अमेरिकी बजारमा लागू गरिएको थियो । अक्टोवर १९, १९८७ मा त्यहाँको परिसूचक एकैदिन २२ प्रतिशतले घटेपछि त्यहाँ सर्किट ब्रेकरको व्यवस्था गरिएको थियो । तर विभिन्न अध्ययनहरुले सन् २००८ को अन्तर्राष्ट्रिय वित्तीय समस्याका कारण बजारमा आएको जोखिमलाई सर्किट ब्रेकरले घटाउन खासै सहयोग गर्न नसकेको देखाएको छ । कोभिड–१९ को असर र यस अवस्थामा सर्किट ब्रेकरको भूमिकाका सम्बन्धमा अझै अध्ययन हुन बाँकी नै छ ।
नेपाली बजारमा सर्किट ब्रेकर
नेप्सेमा सर्वप्रथम सर्किट ब्रेकरसम्बन्धी व्यवस्था २०६४ सालबाट भएको हो । सुरुमा नेप्से इन्डेक्सको संख्या एवं प्रतिशत परिवर्तन दुवैका आधारमा सर्किट ब्रेकर लगाइएता पनि करिब एक वर्षपछि प्रतिशत परिवर्तनका आधारमा मात्र सर्किट ब्रेकर लगाइएको थियो । नेप्सेमा सर्वप्रथम असोज २१, २०६४ मा २० अंकले नेप्से इन्डेक्स घट्दा १५ मिनेट बजार बन्द भई सर्किट ब्रेकर लगाइएको थियो । सुरुका दिनहरुमा १५ अंक, २० अंक र २५ अंकको परिवर्तनमा पनि ब्रेकर लाग्ने हुँदा पटकपटक सर्किट ब्रेकर लाग्ने गरेकोले पहिलो एक वर्षमा नै ५६ पटक सर्किट ब्रेकर लागेको थियो । त्यसैगरी बजारमा तीब्र उतार चढाव आउँदा वि.सं २०६८–२०६९ मा पनि करिब ७५ पटक सर्किट ब्रेकर लागेको थियो । हालसम्म ४५ दिन उच्च प्रतिशत वा अंकका आधारमा बजारमा घटबढ हुँदा पूरा दिन बजार बन्द भएको देखिन्छ । वैशाख ३, २०६९ र वैशाख ४, २०६९ मा दुवैदिन ५ प्रतिशतले बजार वृद्धि भई सर्किट ब्रेकर लागेकोमा त्यसको भोलीपल्ट नै वैशाख ५, २०६९ मा ५ प्रतिशतले बजार घटी सर्किट ब्रेकर लागेको थियो । यसबाट हाम्रो बजार असाध्यै अस्थिर रहेको र लगानीकर्ताहरुले तथ्य र स्वविवेकभन्दा पनि आवेग र हल्लाका भरमा लगानी निर्णय गर्ने गरेको देखिन्छ । नेपालमा हाल नेप्से इन्डेक्सलाई आधार मानेर सर्किट ब्रेकर लागू गरिएको छ जसअनुसार ४%, ५% र ६% ले नेप्से परिसूचक बढ्दा वा घट्दा बजार क्रमशः २० मिनेट, ४० मिनेट र बाँकी दिनका लागि बजार बन्द हुन्छ । त्यसगैरी हरेक कम्पनीको बजार मूल्य एकदिनमा बढीमा १० प्रतिशतसम्म वृद्धि वा कमी हुन सक्छ ।
कोभिड–१९ को असरका कारण नेपाली बजारमा लागेको सर्किट ब्रेकर
सन् २००८ को वित्तीय संकटको अवस्थामा पनि सर्किट ब्रेकर नलागेको अमेरिकी शेयर बजारलगायत अन्य केही शेयर बजारमा सन् २०२० मा को भिड–१९को असरका कारण निरन्तर सर्किट लाग्ने अवस्था सृजना भयो । नेपालमा पनि कोभिड–१९ को असर बजारमा २०७६ चैत महिनाको सुरुवाततिर परेको थियो । लकडाउन आंशिक रुपमा खुलेपछि २०७७ असार १५ बाट बजार पनि नियमित सञ्चालन भयो । धेरै लामो समयपछि बजार खुल्नु, कोभिड–१९ को असर पुँजी बजारमा धेरै हुन सक्ने आशंका लगानीकर्तामा हुनु आदि कारणले सुरुवाती दिनहरुमा बजार निकै अस्थिर भयो ।
यसैबीच नेपाल राष्ट्र बैंकबाट जारी भएको मौद्रिक नीतिले पुँजी बजारमा थप तरलता सृजना हुने अवस्था आउँदा धेरै घटेको बजारमा एकाएक लगानीकर्ता उत्साहित भई मौद्रिक नीति आएको पहिलो दिन जम्मा करिब ८ मिनेट बजार सञ्चालन भयो । बजार खुलेको ६ मिनेट ३३ सेकेन्डमा ४% इन्डेक्स घटी २० मिनेट बजार बन्द भयो भने त्यसपछि खुलेको बजारमा थोरै समय मात्र कारोबार सञ्चालन हुँदा नेप्से इन्डेक्सको वृद्धि ५% र ६% पुगेर बजार बन्द हुन गयो । दोस्रो दिनको सर्किट ब्रेकर नेपाली पुँजी बजारका लागि अनौठो किसिमको थियो । दिनको ११ बजे बजारको नियमित शत्र सुरु भएको केही सेकेन्डमा नै ४% ले बजार बढ्न गई २० मिनेटका लागि बजार बन्द भयो । हुन त यो दिन ५% को सर्किट ब्रेकरपछि बजार घट्न सुरु भई पूरै दिन बजार सञ्चालन भयो । तर केही सेकेन्डमा ४% ले बजार घट्नु नेपालको दोस्रो बजारमा नौलो विषय थियो ।
दोस्रो बजारमा प्रारम्भिक सत्र (Pre Open Session)
संसारका प्रायः सबै स्टक एक्स्चेन्जहरु बजारको नियमित कारोबार सुरु गर्नुभन्दा अघि केही मिनेटका लागि एक छुट्टै सत्र सञ्चालन गर्छन् जसलाई प्रारम्भिक सत्र भनिन्छ । नियमित सत्रमा मूल्य, समय प्राथमिकतामा आदेशहरु म्याच भई कारोबार हुन्छ भने प्रारम्भिक सत्रमा EOQ आधारमा आदेशहरुको कारोबार हुन्छ । यो सत्र राख्नुको मुख्य कारण कारोबारको नियमित सत्रका लागि प्रारम्भिक मूल्य गणना गर्नु हो । साथै कुनै नयाँ घटना वा सूचनाको आधारमा बजार वा कुनै कम्पनीमा धेरै असर गर्ने रहेछ भने त्यस्ता नयाँ सूचनाका कारण मूल्यमा पर्ने असर प्रारम्भिक सत्रमा नै परी नियमित सत्रलाई कम जोखिमयुक्त बनाउँछ भन्ने मान्यता रहेको छ । भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान लगायत धेरै देशका बजारहरुमा भन्दा नेपालमा प्रारम्भिक सत्रको प्रयोग केही फरक ढंगले भएको देखिन्छ । नेपालमा यो सत्रमा अघिल्लो दिनको अन्तिम मूल्यका आधारमा ५% सम्म मूल्य घटबढ गरी आदेश राख्न पाइन्छ भारतमा २०% सम्म तलमाथि आदेश राख्न पाइन्छ ।
तर नेपालमा यस सत्रमा कारोबार भएको मूल्य नियमित सत्रमा कायम भएको मूल्य र परिसूचकलाई नियमित सत्रमा लगिएपनि सर्किट ब्रेकर लगाउँदा अघिल्लो दिनको अन्तिम मूल्य र परिसूचकलाई नै आधार मानिन्छ जबकि भारत लगायत अन्य बजारमा प्रारम्भिक सत्रमा कारोबार भएपछि आउने मूल्य नियमित सत्रका लागि सुरुवाती मूल्य कायम हुन्छ र नियमित स्तरको सुरुवाती मूल्यमा सर्किट ब्रेक लाग्छ । उदाहरणका लागि भारतमा १०% को सर्किट ब्रेकर लाग्दा अघिल्लो दिनको परिसूचकको अन्तिम अंकको १०% घटबढको आधारमा नभई प्रारम्भिक सत्रमा कायम भएको परिसूचकको अन्तिम अंकको १०% घटबढको आधारमा सर्किट ब्रेकर लगाइन्छ । प्रारम्भिक सत्र सञ्चालन गर्नुको एक प्रमुख कारण कुनै बाह्य कारणले बजारमा असर गर्दैछ भने त्यस्ले बजारको नियमित कारोबार सत्रलाई असर नगरोस् भन्ने हो ।
यसले गर्दा नयाँ सूचना वा घटनाका आधारमा आउने उतार चढाब प्रारम्भिक सत्रमा नै परी नियमित सत्र सहज चल्छ । अन्तर्राष्ट्रिय दोस्रो बजारमा प्रारम्भिक सत्रलाई बजार बढी स्पेकुलेटिभ हुँदा यस सत्रले स्थिरीकरण गर्छ भन्ने मान्यता रहेको हुन्छ । नेपालमा पनि २०६४ सालमा नेप्सेले सेमी अटोमेटेड प्रणाली सञ्चालन गरेदेखि नै नियमित सत्र सुरु हुनुअघि १५ मिनेटका लागि प्रारम्भिक सत्र सञ्चालन गरेको थियो । नियममा व्यवस्था नभए पनि अन्तर्राष्ट्रिय प्रचलन अनुसार सुरु गरिएको प्रारम्भिक सत्र सुरु गरिएको तर सर्किट ब्रेकर गणना गर्न भने अघिल्लो दिनको अन्तिम मूल्य र परिसूचकलाई लिइएको थियो । नेप्सेले कारोबार सम्बन्धी विनियमावली २०७५ लागू गरेपछि प्रारम्भिक सत्र र सर्किट ब्रेकर नियममा नै व्यवस्था भयो । तर नियमित सत्रमा सर्किट ब्रेक लगाउने प्रचलन विगतमा जस्तै अघिल्लै दिनको अन्तिम मूल्य र परिसूचकका आधारमा गणना भयो । यसले गर्दा प्रारम्भिक सत्र सञ्चालन गर्नुको एक प्रमुख उद्देश्य पूरा हुन पाएन भने प्रारम्भिक सत्र किन चाहियो भन्ने प्रश्न समेत उठ्यो । कोलोम्बो स्टक एक्सचेन्जमा कोभिड–१९ का कारण ५१ दिन बजार बन्दपछि मे ११, २०२० मा बजार खुल्दा ३८ सेकेन्ड समयमा इन्डेक्स १०% घट्दा पूरै दिनका लागि बजार बन्द भएको थियो । श्रीलंकामा बजार घट्दा मात्र सर्किट लाग्ने नियम रहेको छ ।
नेपालमा गर्नुपर्ने परिवर्तन
अन्तर्राष्ट्रिय अभ्यासलाई समेत मध्यनजर गरी बजार प्रभावित गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न नेप्से सूचकांक बढ्दा वा घट्दा सर्किट ब्रेक लाग्ने व्यवस्थालाई समसामयिक बनाउनु पर्ने देखिन्छ । विदेशी बजारमा कमै मात्र सर्किट ब्रेकर लाग्ने भए पनि नेपालमा केही वर्षमा नै धेरैपटक सर्किट ब्रेकर लागेको देखिन्छ । माथि उल्लेखित अभ्यासहरुलाई दृष्टिगत गर्दा विकसित बजारहरुमा नेपालमा प्रयोग भएको भन्दा बढी प्रतिशतको घटबढमा सर्किट ब्रेकरको व्यवस्था भएको छ । तर त्यस्ता बजारहरुमा सट्टेबाज तथा अल्पकालीन लगानीकर्ताहरुलाई अलग्गै प्रकृतिका कारोबार उपकरणको व्यवस्था रहनाले शेयर बजारमा रहेको जोखिम कम हुन जान्छ ।
त्यसैले बजारको आवश्यकता, हालै भएका केही उतार चढाबलाई समेत मध्यनजर गर्दा सर्किट ब्रेकरमा हाल प्रयोग भएको प्रतिशत एवं त्यसको फरकलाई केही वृद्धि गर्न उपयुक्त देखिन्छ । त्यसैगरी प्रारम्भिक सत्रका सम्बन्धमा हालको ५% को फरकमा आदेश प्रविष्टि गर्न पाउने नियम यथावत राखेर यो सत्रमा कारोबार भएको मूल्य र परिसूचकलाई निरन्तर सत्रको सुरुवाती मूल्यको रुपमा लिने, यो सत्रमा कारोबार नभएका कम्पनीहरुका लागि मात्र अघिल्लो दिनको अन्तिम मूल्यलाई सुरुवाती मूल्यका रुपमा व्यवस्था गर्नु उपयुक्त हुन्छ । प्रारम्भिक सत्रमा कम्तिमा १०० कित्ता मात्र आदेश राख्न सकिने गरी परिवर्तन गर्दा मूल्यलाई अस्वाभाविक असर पार्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सकिने देखिन्छ । उपरोक्त अनुसार नेपालको पुँजी बजारमा सर्किट ब्रेकर प्रारम्भिक सत्रको व्यवस्थालाई परिमार्जित गर्दा दीर्घकालमा बजारमा सकारात्मक असर पर्ने र भविष्यमा बजारमा तरलता थप भई बढीभन्दा बढी लगानीकर्ताहरु आकर्षित हुने देखिन्छ ।
(लेखक नेपाल स्टक एक्सचेन्जमा सम्बद्ध हुनुहुन्छ)