२०८२ जेष्ठ ४ आईतवार

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माणमा ढिलाई हुँदै जाँदा यसको लागत पनि बढिरहेको छ । राष्ट्रिय योजना आयोगले हालै मध्यकालीन बजेट अनुमान तथा त्रिवर्षीय खर्च प्रक्षेपण गर्दै त्यस्ता आयोजनामा बजेट विनियोजन वर्षेनि बढाउने संकेत गरेको हो ।

सरकारले आव २०६८/६९ देखि मुलुकको आर्थिक सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने ठूला पूर्वाधार निर्माण र संस्कृति एवम् वातावरण संरक्षणसम्बन्धी रणनीतिक महत्त्वका आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा कार्यान्वयनमा ल्याउँदै आएको छ ।

यो रकम काठमाडौ–तराई मधेश फास्ट ट्र्याक, पुष्पलाल राजमार्ग (मध्यपहाडी राजमार्ग), उत्तर दक्षिण राजमार्ग (कर्णाली, कालीगण्डकी र कोशी), हुलाकी राजमार्ग (पुलहरू समेत), रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजना, बूढीगण्डकी जलविद्युत् आयोजना, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४५६ मेवा), मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल, बबई सिँचाइ आयोजना, सिक्टा सिँचाइ आयोजना, रानी जमरा कुलरिया सिँचाइ आयोजना (प्रणाली आधुनिकीकरण समेत), भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, मेलम्ची खानेपानी आयोजनालगायत राष्ट्रिय गौरवका आयोजनामा खर्च हुँदै छ ।

तीन वर्षको अवधिमा २१ ओटा रूपान्तरणकारी आयोजनामा खर्च हुने लागतको समेत प्रक्षेपण आयोगले गरेको छ । प्रादेशिक सन्तुलन कायम गर्दै उच्च आर्थिक वृद्धिदर प्राप्त गर्न बृहत् प्रभावी र विशिष्ट प्रकृतिका आयोजनालाई रूपान्तरणकारी आयोजनाका रूपमा छनोट गरी राष्ट्रिय योजना आयोगले पन्ध्रौं योजनामार्फत त्यस्ता कार्यक्रम अघि बढाउँदै आएको आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल बताउँछन् ।

२१ ओटा रूपान्तरणकारी आयोजनाका लागि त्रिवर्षीय खर्चको प्रक्षेपण गर्दै आयोगले आगामी वर्ष २०७८/७९ मा मात्रै रू. ७७ अर्ब ५३ करोड ९२ लाख खर्च हुने जानकारी दिएको छ भने आर्थिक वर्ष २०७९/८० मा रू. १ खर्ब ४ अर्ब २ करोड २० लाख र आव २०८०/८१ मा रू. १ खर्ब १४ अर्ब २५ करोड ५७ लाख प्रक्षेपण गरिएको छ ।

अहिले रूपान्तरणकारी आयोजनाअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना, समृद्धिका लागि बन, जग्गा प्रशासन सुदृढीकरण तथा अनौपचारिक भूसम्बन्ध व्यवस्थापन कार्यक्रम, औद्योगिक पूर्वाधार विकास कार्यक्रम (विशेष आर्थिक क्षेत्र), राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम, राष्ट्रपति महिला सशक्तीकरण परियोजना, गल्छी (त्रिशूली)मैलुङ–स्याफ्रुबेंशी–रसुवागढी सडक आयोजना, पूर्वपश्चिम राजमार्ग स्तरोन्नति आयोजना, सासेक राजमार्ग सुधार आयोजना, क्षेत्रीय व्यापारिक मार्ग, विस्तार आयोजना, काँकडभिट्टा–इनरुवा–पथलैया–नारायणघाट खण्ड, नयाँ शहर आयोजना, शहरी कोरिडोर आयोजना लगायतलाई राखिँदै आइएको छ ।

२० ओटा राष्ट्रिय गौरवका आयोजनाहरूमा मात्रै गरिएको खर्च प्रक्षेपणअनुसार आगामी आर्थिक वर्ष २०७८/७९ मा रू. ८० अर्ब ३५ करोड १५ लाख खर्च हुँदै छ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा रू. १ खर्ब ६ अर्व ९८ करोड ९४ लाख र २०८०/८१ मा रू. १ खर्ब २१ अर्व २३ करोड ७३ लाख प्रक्षेपण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय