
काठमाडौँ । कृषि विकास बैङ्कले डिजिटल बैकिडका थप सेवा सञ्चालनमा ल्याएको छ । अनलाइनका माध्यमबाट एकै समयमा धेरै भन्दा धेरै सुविधा प्रवाह गर्ने गरी स्थापित खाता खोल्ने प्रणालीको बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले शुभारम्भ गर्नुभएको छ ।
सेवा अन्तरगत बैङ्कमा खाता भएका ग्राहकहरूले विना झन्झट अनलाइनका माध्यमबाट डिम्याट खाता, मेरो सेयर खाता, सि.आर.एन, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा एटिएम कार्ड सेवाका लागि निवेदन दिन सक्नेछन् । बैङ्कमा खाता भई ग्राहक पहिचान विवरण अद्यावधिक गरेका सक्रिय खाता ग्राहकले स्वदेश तथा विदेशबाट अनलाइन निवेदनका आधारमा उक्त सेवाहरूको लागि अनुरोध गर्न सक्ने गरी नयाँ प्रविधिको सुरुवात गरेको हो ।
यसका अलावा बैङ्कमा खाता नभएका ग्राहकहरूले समेत देश विदेशबाट अनलाइनका माध्यमबाट समेत चल्ती, बचत र खातासहित सबै सेवा प्रयोगका लागि अनलाइनको माध्यबाट अनुरोध गर्न सक्ने छन् ।
सेवा सुचारु भए पश्चात् स्वचालित रुपमा इमेल तथा SMS का माध्यमबाट ग्राहकलाई जानकारी गराउने व्यवस्था प्रणालीमा रहेको बैङ्कले जनाएको छ ।