२०८२ माघ २८ बुधबार

काठमाडौं – कर राजस्व, गैरकर राजस्व तथा विविध प्राप्तिबाट हुने सरकारको कुल आम्दानी चालु आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यअनुसार नहुने प्रक्षेपण गरिएको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आवको अर्धवार्षिक समीक्षा प्रतिवेदन अनुसार राजस्व संकलन र विविध प्राप्तिको संशोधित अनुमान घटाएर १२ खर्ब ९८ अर्ब रुपैयाँमा सीमित गरिएको छ। यसअघि सरकारले कुल १४ खर्ब ८० अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको थियो।

सरकारले सुरुमा कर राजस्वबाट १३ खर्ब २५ अर्ब रुपैयाँ उठ्ने अनुमान गरेको भए पनि पुस मसान्तसम्म ५ खर्ब १६ अर्ब रुपैयाँ मात्र कर राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ। बाँकी छ महिनामा कर राजस्वबाट ६ खर्ब ५० अर्ब रुपैयाँ संकलन हुने संशोधित अनुमान गरिएको छ।

अर्थ मन्त्रालयका अनुसार चालु आवमा गैरकर राजस्व १ खर्ब २७ अर्ब रुपैयाँ मात्र उठ्ने अपेक्षा गरिएको छ, जुन प्रारम्भिक लक्ष्यभन्दा उल्लेखनीय रूपमा कम हो।

मन्त्रालयले भने बाँकी अवधिमा हुने निर्वाचन प्रक्रियाले आर्थिक गतिविधि बढ्ने र त्यसको सकारात्मक असर राजस्व संकलनमा पर्ने अपेक्षा गरेको छ। निर्वाचन लक्षित खर्च, उपभोग तथा सेवा–व्यापार बढ्दा आम्दानीमा केही सुधार आउने विश्लेषण अर्थको छ।

यस्तै, पछिल्लो समय वैदेशिक व्यापारमा देखिएको सुधारका कारण आयातबाट हुने राजस्व संकलन भने लक्ष्यअनुसार नै हुने अर्थ मन्त्रालयको दाबी छ। आगामी १५ जेठमा आउने नयाँ बजेट केन्द्रित आर्थिक गतिविधिले पनि राजस्व संकलनमा सहयोग पुग्ने मन्त्रालयको निष्कर्ष छ।

तर समग्रमा हेर्दा आर्थिक सुस्तता, अपेक्षाकृत कमजोर कर आधार विस्तार र सरकारी खर्चको दबाबका कारण चालु आवमा राजस्व लक्ष्य पूरा गर्न चुनौती कायमै रहेको अर्थ मन्त्रालयको अर्धवार्षिक समीक्षाले स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर