काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व, सुशासन र शान्ति-सुरक्षा मजबुत बनाएर लगानीमैत्री वातावरण निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता भएको बताएका छन्।
शीतल निवासमा नेपाल उद्योग वाणिज्य महासंघ सहित निजी क्षेत्रका प्रतिनिधिसँग भेट गर्दै उनले लगानीकर्ताको मनोबल कमजोर हुनु देशको अर्थतन्त्रका लागि चिन्ताजनक संकेत भएको उल्लेख गरे।
भदौ २३ र २४ गतेका घटनामा सार्वजनिक तथा निजी सम्पत्तिमाथि भएको आगजनी र तोडफोडलाई राष्ट्रपति पौडेलले दुःखद भने। उद्योगी-व्यवसायीसँग प्रत्यक्ष संवादमा उनले हालको परिस्थितिले सिर्जना गरेको अनिश्चितता र निराशाबाट हतोत्साहित नहुन आग्रह गर्दै राज्य निजी क्षेत्रसँग रहेर सुरक्षा वातावरण मजबुत बनाउन प्रतिबद्ध रहेको बताए। ‘जुन घटना भयो, त्यो दुखद छ। तर उद्योगी व्यवसायीहरू हतोत्साहित नहुनुस्, राज्य तपाईंहरूको साथमै छ,’ राष्ट्रपति पौडेलले भने।
उनीले निजी क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै औद्योगिक तथा व्यवसायिक क्रियाकलाप सशक्त नभइ आर्थिक विकास सम्भव नरहेको टिप्पणी गरे। शान्ति-सुरक्षा बलियो बनाउँदै सरकारलाई तत्काल लगानीमैत्री वातावरण निर्माण गर्न आग्रह गरे।
उस्तै, निजी क्षेत्रका प्रतिनिधिहरूले हालैका आन्दोलनमा बाहिरी तत्वको घुसपैठ बढेपछि निजी तथा सार्वजनिक सम्पत्तिमा व्यापक क्षति पुगेको भन्दै यस्ता गतिविधि रोक्न राज्य संयन्त्रले कडाइका साथ कदम चाल्नुपर्ने माग राखे। उनीहरूले दण्डहीनता बढ्दै गएको र त्यसले लगानी वातावरणलाई थप जोखिममा पुर्याउने चेतावनी पनि दिए। आसन्न निर्वाचन कानूनतः तोकिएको समयमा सम्पन्न हुनुपर्ने र त्यसका लागि निजी क्षेत्रबाट आवश्यक सहयोग रहने धारणा पनि व्यक्त भयो।
महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले जेनजी आन्दोलनमा उठाइएका सुशासन तथा पारदर्शिताका मुद्दाहरू महासंघकै एजेण्डासँग मेल खाने भए पनि आन्दोलनका नाममा भएको घुसपैठले उद्योग-व्यवसायमा ठूलो क्षति पुगेको बताए। आम नागरिक र व्यवसायीको मनोबल गिरावटमा परेको उल्लेख गर्दै उनले औद्योगिक सुरक्षा र कानुनी प्रत्याभूतिको वातावरण राज्यले तत्काल सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले उजुरी दर्ता नलिने प्रवृत्ति र कारबाहीमा देखिने उदासीनताले दण्डहीनता झनै बढ्ने खतरा रहेको बताए। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले हालका घटनाले व्यवसायीको आत्मबल कमजोर बनाएको भन्दै शान्ति-सुरक्षा आजको पहिलो प्राथमिकता भएको टिप्पणी गरे।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले स्थायित्वबिना आर्थिक गतिविधि दिगो नहुने उल्लेख गर्दै औद्योगिक र व्यक्तिगत सुरक्षामा सरकारले तत्काल गम्भीरता देखाउनुपर्ने आवश्यकता औँल्याए। भेटमा सुरकृष्ण वैद्य, हेमराज ढकाल, भरतराज आचार्य, विनायक शाह, मिनबहादुर गुरुङ, निर्वाण चोधरी, साहिल अग्रवाललगायत उद्योगी-व्यवसायीहरूको उपस्थिति थियो।















