काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण नेपालको पर्यटन क्षेत्रमा गम्भीर असर पुर्याएको छ । आन्दोलनपछि दिनचर्या करिब सामान्य अवस्थामा फर्किसकेको भए पनि पर्यटकहरूमा त्रास कायमै देखिन्छ । सेप्टेम्बर विदेशी पर्यटकका लागि मुख्य सिजन हो । तर यही महिनामा पर्यटन आगमनमा उल्लेख्य कमी आएको छ ।
नेपाल पर्यटन बोर्ड, होटल एसोसियसन नेपाल (हान) र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा) सबैले नकारात्मक प्रचार र सुरक्षा जोखिमले पर्यटनमा गिरावट आएको बताएका छन् । नाटाका अध्यक्ष कुमारमणि थपलियाका अनुसार नकारात्मक प्रचार र सुरक्षा जोखिमको गलत सन्देशका कारण पर्यटक आगमनमा भारी गिरावट आएको छ ।
बुकिङ रद्द हुने क्रम पनि बढेको छ । सामान्यतया सेप्टेम्बर र अक्टोबरमा मासिक करिब एक लाख पर्यटक नेपाल आउने गरेका थिए । ‘सेप्टेम्बर ८ सम्म दैनिक करिब ३ हजार पर्यटक आइरहेका थिए, तर अहिले त्यो सङ्ख्या एक हजारमा झरेको छ,’ थपलियाले रातोपाटीसँग भने ।
बुकिङ रद्द हुनुको मुख्य कारणमा सुरक्षासम्बन्धी विश्वव्यापी बजारमा फैलिएको भ्रम र गलत सूचना प्रमुख रहेको पर्यटन व्यवसायीहरू बताउँछन् । विशेष गरी सांस्कृतिक, माइल्स र २०–२५ जनाको नियमित समूहका भ्रमण धेरै रद्द भएका छन्, जबकि साहसिक पर्यटनमा भने तुलनात्मक रूपमा कम असर परेको छ ।
‘मुख्यतः दुई कुराले विश्व बजारमा चिन्ता बढाएको छ,’ थपलियाले भने, ‘एउटा, हतियार खोसिएको वा लुटिएको भन्ने समाचार । अर्को, आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरू जेलबाट छुटेको भन्ने हल्ला छ ।’
यसबाहेक भारतको ‘इन्डिया टुडे’ जस्ता मिडियामा सिंहदरबार अगाडि बन्दुक बोकेको व्यक्तिको तस्बिर सार्वजनिक भएपछि नेपालमा लुटपाट र अराजकता बढेको भन्ने गलत सन्देश प्रवाह भएको पाइएको छ । ‘हाम्रो देश नै अराजक र सुडानतिरको जस्तो गाडीमा बन्दुक लिएर हिँडेको जस्तो छाप मान्छेको दिमागमा परेको छ,’ उनले भने ।
पर्यटक आगमन ३७ प्रतिशतले घट्यो, २५ सय रोजगारी जोखिममा
नेपाल पर्यटन बोर्ड (एनटीबी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक जोशीका अनुसार आन्दोलनका कारण पर्यटक आगमन ३७ देखि ३८ प्रतिशतले घटेको छ भने २ हजार २०० देखि २ हजार ५०० जनाको रोजगारी जोखिममा परेको छ । सेप्टेम्बरमा दैनिक करिब ३ हजार २०० देखि ३ हजार ३०० र अक्टोबर–नोभेम्बरमा ४ हजार भन्दा बढी पर्यटक आउने गरेकोमा अहिले यो सङ्ख्या घटेर २ हजार २०० को हाराहारीमा पुगेको जोशीले बताए ।
हानका अध्यक्ष विनायक शाहका अनुसार आन्दोलनका कारण देशभर करिब ३० वटा होटल र रेस्टुरेन्टमा आंशिक क्षति पुगेको छ भने दुई केबलकारको बेस स्टेसन पनि प्रभावित भएका छन् । चार–पाँचवटा होटलहरूमा भने बढी क्षति भएकाले ती ६ महिनादेखि एक वर्षसम्म सञ्चालनमा आउन नसक्ने स्थिति छ, जसले ठुलो संख्यामा रोजगारी गुमाउन सक्ने अवस्था सिर्जना गरेको छ ।
असुरक्षाको भावना र त्रासको वातावरणलाई पर्यटक आगमनमा कमी आउनुको मुख्य कारण सीईओ जोशीले औंल्याएका छन् । कैदीहरू बाहिरै रहेको अवस्था, हातहतियार बाहिरै रहेको जानकारी, भाटभटेनी जस्ता ठाउँमा भएको तोडफोड तथा लुटपाट र होटलहरूमा भएको आक्रमणका घटनाले बाह्य मुलुकमा नकारात्मक सन्देश गएको उनको भनाइ छ ।
सुधार गर्न के भइरहेको छ प्रयास ?
नेपाल सरकार र पर्यटन निकायहरूले पर्यटकलाई आश्वस्त तुल्याउन विभिन्न पहल गरिरहेका छन् । ट्राभल एडभाइजरीहरूलाई ‘माइल्ड’ बनाउने प्रयास भइरहेको छ । प्रधानमन्त्रीले नै विश्व बजारलाई नेपाल सुरक्षित रहेको र भ्रमण गर्न सकिने भन्दै आश्वस्त पार्ने गरी सम्बोधनको आवश्यकता महसुस गरिएको नाटा अध्यक्ष थपलियाले बताए ।
नेपाल पर्यटन बोर्डले विदेशीहरूलाई नेपालको वर्तमान अवस्थाबारे जानकारी दिन दैनिक बिहान र बेलुका हेरिटेज साइटहरू बसन्तपुर, पाटन, भक्तपुर, बौद्ध, पोखरा, मनास्लु, लुक्ला, चितवन लगायतका पर्यटकीय गन्तव्यबाट पर्यटकका गतिविधिहरूको प्रत्यक्ष प्रसारण गरिरहेको छ । यसबाट केही हदसम्म बुकिङ रद्द हुने क्रम घटेको र पर्यटकहरूमा सकारात्मक सन्देश गएको जोशीले बताए ।
बोर्डले नेपाली डायस्पोरा, कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्थाहरू र डिजिटल प्लेटफर्ममार्फत पनि सकारात्मक सन्देश फैल्याइरहेको उनले बताए । साथै, मुख्य स्रोत बजारबाट इन्फ्लुएन्सर, मिडिया र विशिष्ट व्यक्तित्वहरूलाई नेपाल भ्रमण गराई वास्तविकता देखाउने योजना पनि छ ।
‘पर्यटकमैत्री व्यवहार गरिरहेका छौं’
होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले हालै देशमा देखिएको छोटो अवधिको राजनीतिक आन्दोलनपछि नेपालको पर्यटन क्षेत्र सामान्य अवस्थामा फर्किसकेको बताएका छन् । उनले पर्यटकहरूलाई नेपाल भ्रमणका लागि ढुक्क भएर आउन आग्रह गर्दै सबै होटल, रेस्टुरेन्ट र हवाई सेवा सामान्य रूपमा सञ्चालन भइरहेको बताएका छन् । अध्यक्ष शाहले २३–२४ घण्टे आन्दोलनले सुरुमा केही बुकिङ रद्द भएको स्वीकार गरे ।
तर ‘३६ घण्टाभित्रै हामी सामान्य अवस्थामा फर्किसकेका थियौँ’ भनेर आश्वस्त पार्ने काम गरेको उनी बताउँछन् । आन्दोलनको समयमा नेपालमा रहेका करिब ३ हजार पर्यटकलाई नेपाल पर्यटन बोर्ड, नेपाल सरकार, निजी क्षेत्र र नेपाली सेनाको सहकार्यमा सुरक्षित रूपमा गन्तव्यमा पुर्याइएको उनले बताए ।
यस्तै पर्यटन बोर्डले विश्वभरि ‘नेपाल नाउ’ नामक अभियान सञ्चालन गरिरहेको छ । यस अभियानमार्फत नेपाल पर्यटन बोर्ड, नेपाल सरकार र विश्वभरि रहेका नेपाली दूतावासहरूले नेपालको वर्तमान सामान्य अवस्थाबारे जानकारी दिइरहेका छन् । बोर्डले हनुमानढोका, पाटन र भक्तपुर जस्ता सांस्कृतिक तथा पर्यटकीय स्थलहरूमा भइरहेका गतिविधिहरूलाई ‘लाइभ’ प्रसारण गरेर विश्व समुदायलाई नेपाल सुरक्षित रहेको सन्देश दिइरहेको जनाएको छ ।
‘पर्यटकले नेपालमा आएर आफूले इच्छा गरेका सम्पूर्ण कुराहरू बिना रोकटोक, आफ्नो बजेटअनुसार गर्न सक्छन्,’ जोशीले भने । यस्तै हानका अध्यक्ष शाहले नेपालका होटलहरू पर्यटकमैत्री नै रहेको बताए । ‘हाम्रोमा मूल्यमा पनि कुनै वृद्धि भएको छैन, बरु सस्तो नै छ,’ शाहले भने ।
‘दुई महिनाभित्र फर्काउन सक्छौँ’
एनटीबीका सीईओ जोशीले आन्दोलनको बेला पनि पर्यटकहरूलाई लक्षित नगरिएको तथ्यलाई जोड दिए । बन्द हडतालका बेला पनि पर्यटक बोक्ने सटल बसहरू निर्बाध चलेको र पर्यटकका गाडीहरूलाई कतै पनि डिस्टर्ब नगरिएको उनले बताए ।
विगतका सङ्कटका बेलामा पनि पर्यटकहरू लक्षित आक्रमण वा घटना नभएको इतिहास रहेको र युवाहरूले सुशासनका लागि आन्दोलन गरेको सन्देश पनि सकारात्मक रहेको उनले उल्लेख गरे ।
जोशीले यदि थप कुनै नकारात्मक घटना भएनन् भने दुई महिनाभित्रमा पर्यटन क्षेत्र पुरानै लयमा फर्किन सक्ने अपेक्षा गरेका छन् । पर्यटन आफैँमा एक ’रिजिलियन्ट’ व्यवसाय भएकाले छिट्टै पुनरुत्थान हुने सम्भावना रहेको उनको भनाइ छ ।
हान अध्यक्ष शाहका अनुसार नेपालमा सामान्य अवस्थामा दैनिक औसत ३ हजार विदेशी पर्यटक आउने गरेकोमा यो सङ्ख्या नोभेम्बर र डिसेम्बर महिनामा ५ हजारसम्म पुग्ने अपेक्षा छ । असोज ११ गते (अक्टोबर २६) मनाइने विश्व पर्यटन दिवसको अवसरमा राज्यका प्रमुखबाटै नेपाल भ्रमणका लागि विश्व समुदायलाई आह्वान गर्ने तयारी भइरहेको छ । एक विदेशी पर्यटकले ९ देखि ११ जनाको प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने शाहले बताए ।















