२०८१ माघ २७ आईतवार

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ७ हजार ८ सय ३५ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ७७ र ४ हजार ६३ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय २ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ६ लाख ९० हजार ९ सय ७४ पुगेको छ । त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ९ हजार २ सय ९१ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ३ सय ३३ जना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना मुक्त हुनेको कूल संख्या ६ लाख १४ हजार ३ सय २७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाका ५ सय ४३ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ३ सय ९०, भक्तपुरमा ६७ र ललितपुरमा ८६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २६ हजार ५ सय ४४ रहेका छन् । हाल उपत्यकाका तीनसहित कास्की, चितवन, मकवानपुर, झापा, मोरङ र सुनसरीमा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी छन् ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को तेस्रो लहर आउन सक्ने भन्दै सबै मिलेर सामना गर्नुपर्ने जनाएको छ । तेस्रो लहरको संक्रमणको जोखिम कम गर्न नागरिकको तर्फबाट जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्न मन्त्रालयले अनुरोध गरेको छ । बुधबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले पछिल्लो समय देखिएको कोरोनाभाइरस हावाबाट पनि सर्न सक्ने भएकाले कार्यास्थलहरुमा सकेसम्म खुला ठाउँमा रहन तथा सतर्कता अपनाउन आग्रह गरे ।

नेपालमा अहिले कोभिड–१९ का डेल्टा ए वाई १ र कप्पा भेरियन्ट सक्रिय रहेको मन्त्रालयले जनाएको छ । गएको वैशाख २६ देखि जेठ २० गतेसम्मको नमुना परीक्षणमा मुख्य रुपमा डेल्टाको म्युटेन्ट रुप एवाई १ र कप्पा भाइरस सक्रिय रहेको पाइएको डा. पौडेलले जानकारी दिए ।
कोभिडको दोस्रो लहरमा डेल्टा र एवाई १ भेरियन्ट सक्रिय देखिएकोमा पछिल्लो समय कप्पा थपिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय