२०८३ बैशाख ९ बुधबार

काठमाडौं – नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपको रूपमा लगानी गर्नका लागि इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूबाट ब्याजदरको प्रस्ताव आह्वान गरेको छ। बैंकले २०८२ साउन १८ देखि २०८३ साउन १८ सम्मका लागि ३६६ दिन अवधिको मुद्दती निक्षेप गर्न चाहेको हो।

सो रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकहरूमा ८० करोड रुपैयाँ, ‘ख’वर्गका राष्ट्रियस्तरका विकास बैंकहरूमा १५ करोड रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरूमा ५ करोड रुपैयाँसम्म सीमित गरी लगानी गरिनेछ। प्रस्ताव पेश गर्न चाहने संस्थाहरूले बैंकले तोकेको मापदण्ड पुरा गरी २०८२ साउन १३ गते साँझ ७ बजेसम्म आवेदन दिन सक्नेछन् ।

यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्नेछ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष कायम हुनुपर्नेछ।

त्यसैगरी, निक्षेप लिनको लागि निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने छ । खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने छ । कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने छ ।

शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको हुनुपर्ने छ। समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याईएको सेयर जारी गरिसकेको हुनुपर्ने जस्ता शर्तहरु तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर