काठमाडौं – चालू आर्थिक वर्ष सकिन अब १५ दिन मात्रै बाँकी रहँदा बैंक तथा वित्तीय संस्थाहरू कर्जा विस्तारको वार्षिक लक्ष्यभन्दा निकै पर रहेका छन्। नेपाल राष्ट्र बैंकले चालू आवमा कर्जा विस्तार १२.५ प्रतिशत अर्थात् करिब ६ खर्ब ८२ अर्ब रुपैयाँको लक्ष्य राखेको थियो। तर, जेठ मसान्तसम्म कर्जा प्रवाह ३ खर्ब ९५ अर्ब रुपैयाँमै सीमित रहेको देखिएको छ।
बाँकी एक महिनामा करिब २ खर्ब ८५ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्नुपर्ने भएपनि हालको आर्थिक र लगानी परिवेशमा उक्त लक्ष्य पूरा असम्भवजस्तै देखिएको छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंकहरूसँग कर्जा दिन सकिने ७ खर्ब ७० अर्ब रुपैयाँ बराबरको तरलता भएपनि लगानीयोग्य क्षेत्रमा मागको कमी, उद्योग व्यवसायमा सुस्ती र कर्जाको प्राथमिकता असुलीमा केन्द्रीत हुँदा कर्जा प्रवाहमा अपेक्षित गति आउन सकेको छैन ।
लगानीको माग कमजोर भएपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागि बुधबार ६३ दिनका लागि ५० अर्ब रुपैयाँ बजारबाट तानेको छ । यसअघि अधिकतम २१ दिनका लागि मात्र तरलता संकलन गर्दै आएको राष्ट्र बैंकले यो पहिलोपटक दीर्घकालीन उपकरणमार्फत यति ठूलो परिमाणमा रकम संकलन गरेको हो। चालु आर्थिक वर्षको साउनदेखि असारसम्म राष्ट्र बैंकले बजारबाट २९ खर्ब ६२ अर्ब रुपैयाँ तानेको छ।
बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार लगानी वातावरणमा सुधार नआउँदा बैंकहरूले कर्जा विस्तार गर्न सकेका छैनन्। केही बैंकहरूमा कोर क्यापिटलको दबाब समेत देखिएको उनले बताए। राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले ब्याजदर एकल अंकमा झरेपछि कर्जा विस्तारमा केही गति आउन सक्ने बताए। तर, समग्र मागमा सुधार नआएसम्म कर्जा प्रवाहले पूरा गती लिन नसक्ने उनको भनाइ छ।















