२०८३ बैशाख ९ बुधबार

काठमाडौं – वित्तीय प्रणालीमा अत्यधिक तरलता थुप्रिएको छ। वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको निक्षेप ७० खर्ब नाघेको छ भने सो अनुपातमा कर्जा लगानी हुन नसक्दा राष्ट्र बैंकलाई व्यवस्थापनमा हम्मेहम्मे परेको छ।

राष्ट्र बैंकको तथ्यांक अनुसार, चालु आर्थिक वर्षको असार ९ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा जम्मा ७० खर्ब २० अर्ब रुपैयाँ निक्षेप छ। तर, त्यसबापत ५५ खर्ब ७२ अर्ब रुपैयाँमात्रै कर्जा लगानी भएको छ। वाणिज्य बैंकहरूको मात्र हिसाब गर्ने हो भने, उनीहरूसँग ६२ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप रहेको छ भने कर्जा लगानी ४९ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ।

कर्जा लगानीको गतिमा सुधार नआएपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि ‘निक्षेप संकलन उपकरण’मार्फत बजारबाट पैसा तान्न थालेको छ। राष्ट्र बैंकले हप्तामा दुई दिन आइतबार र बुधबार विभिन्न अवधिका लागि पैसा संकलन गर्दै आएको छ।

राष्ट्र बैंकका सहायक सूचना अधिकारी भागवत आचार्यका अनुसार, अहिले ३५, ४२, ६३ दिनसम्मको अवधिका लागि पैसा तानिएको छ। उदाहरणस्वरूप, असार १ गते ४० अर्ब, असार ४ गते ९० अर्ब, असार ८ गते ६० अर्ब, र असार ११ गते ५० अर्ब रुपैयाँ निक्षेप तानिएको थियो। आइतबार (असार १५) मा पनि ३० अर्ब रुपैयाँ ६३ दिनको लागि तानिएको छ।

निक्षेपमा ३ प्रतिशतसम्म ब्याज दिएर राष्ट्र बैंकले पैसा संकलन गर्दै आएको छ। हालसम्म २ खर्ब ५५ अर्ब रुपैयाँ राष्ट्र बैंकमा थन्किएको छ, जुन परिपक्व हुन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर