काठमाडौं – बैंकहरुको आवासीय घर कर्जामा आएको सुस्तता कायम नै रहेको छ । अर्थतन्त्रमा आएको मन्दीको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाहमा परेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुको प्राथमिकता घरजग्गा कर्जा परेपनि अपेक्षाअनुसार उक्त क्षेत्रमा कर्जा प्रवाह हुन सकेको छैन । केन्द्रीय बैंकको वैशाख मसान्तसम्मको तथ्यांक हेर्ने हो भने २ करोडसम्मको आवासीय कर्जा १२ अर्ब ७२ करोडले मात्रै बढेको छ ।
यसअवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट २ करोडसम्मको आवासीय कर्जा ३ खर्ब २५ अर्ब ३६ करोड रुपैयाँ प्रवाह भएको छ । २०८१ को वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट ३ खर्ब १२ अर्ब ६३ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको थियो । उक्त तथ्यांकलाई हेर्ने हो भने २ करोडसम्मको आवासीय कर्जा १ वर्षमा जम्मा ४.०७ प्रतिशतले मात्रै बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको ब्याज दर निकै तल आएको छ । ब्याजदर घट्दा पनि बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह भएको छैन । कर्जा प्रवाह नहुँदा बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताको अवस्था छ । यसैबीचबैंक तथा वित्तीय संस्थाको मुख्य प्राथमिकतामा घरजग्गा कर्जा रहेको छ । उनीहरुको जोड भने घर–जग्गा कर्जामा रहेको बढी रहेको देखिन्छ ।
वाणिज्य बैंकहरुले आधार दरमा १ प्रतिशतभन्दा पनि कम प्रिमियम दरमा नै घर जग्गा कर्जाको लागि अफर गर्दै आएका छन् । बैंकरहरुको जोडबलका बीच यो क्षेत्रमा प्रवाह हुने कर्जा केही बढेको छ । तथापि, सन्तोषजनक अवस्था भने नरहेको बैंकरहरुले बताएका छन् । यता, केन्द्रीय बैंकले पनि घरजग्गा क्षेत्रमा कर्जा प्रवाह बढाउन लचक नीति लिंदै आएको छ ।
बेस रेटमै कर्जा दिंदा पनि अपेक्षा अनुसार यो क्षेत्रमा प्रवाह हुने कर्जा बढ्न नसक्नुमा मुख्य कारण आर्थिक मन्दी र त्यसले सर्वसाधारण नागरिकको दैनिक जीवनमा पारेको प्रभाव नै हो । सर्वसाधारणले कर्जा लिने क्षमतामै ह्रास आएको छ । अधिकांशको व्यक्तिगत आम्दानीका स्रोतहरुमा धक्का लागेको छ । लघु, साना तथा मझौला व्यवसायको कारोबार पनि खस्किएको छ । यता, धेरैले कर्जा लिनका लागि आम्दानीको स्रोत पुष्टि गर्न पनि नसक्दा समस्या भइरहेको बैंकरहरु बताउँछन् ।
घर–जग्गा व्यवसायमा देखिएको चरम मन्दीले पनि यो क्षेत्रमा प्रवाह हुने साना कर्जासमेत प्रभावित भएको हो । यसअघि कर्जा लिएकाहरुले पनि समयमा साँवा–ब्याज भुक्तानी गर्न नसक्दा समस्या भइरहेको छ । बैंकहरुको खराब कर्जा बढेको छ । गैर बैंकिङ सम्पति पनि बेस्सरी बढेको छ । यसैकारण, कतिपय बैंकहरुले अहिले कर्जा प्रवाहभन्दा पनि रिकोभरीमा बढी फोकस गरिरहेको बैंकरहरु बताउँछन् ।
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले २ करोडसम्मको आवासीय कर्जामा ३ खर्ब २५ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यो गत वर्षको भन्दा ४.०७ प्रतिशतले बढी हो । गत वर्षको यसैअवधिमा वाणिज्य बैंकहरुले ३ खर्ब १२ अर्ब ६३ करोड रुपैयाँभन्दा धेरै लगानी गरेका थिए ।
२ करोडसम्मको आवासीय कर्जामा सबैभन्दा धेरै लगानी गर्ने बैंकमा एनआइसी एसिया बैंक रहेको छ । बैंकले यस क्षेत्रमा ४८ अर्ब ७० करोड रुपैयाँ लगानी गरेको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकले ३९ अर्ब ९४ करोड रुपैयाँ लगानी गरेको छ । १ वर्षमा १४ बैंकको २ करोडसम्मको आवासीय कर्जामा लगानी बढेको छ भने ७ बैंकको घटेको छ ।















