
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट हिजोदेखि बिजुली उत्पादन शुरु भएको छ ।
४ सय ५६ मेगावाट क्षमताको आयोजना प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभयो । ३५ अर्बको लागतमा ५ वर्षमा सक्नेगरी सुरु भएको यो आयोजना निर्धारित समय भन्दा ५ वर्ष ढिला पूरा भएको हो । यसको लागत बढेर ८० अर्ब रुपैयाँ पुगेको छ ।
४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले स्वदेशी लगानीमा बनेको नेपालको हालसम्मकै सबैभन्दा ठूलो आयोजना हो । २०६२ सालमा पूर्वाधार निर्माणको काम शुरु भएको यो आयोजनाको मुख्य संरचनाको निर्माण भने २०६७ बाट शुरू भएको हो।
पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको भएपनि २०७२ को विनाशकारी भूकम्प, नाकाबन्दी, वाढी पहिरो र पछिल्लो कोरोना सक्रमण लगायतको कारण समेत आयोजना पूरा हुन ५ वर्ष भन्दा ढिला भएको हो ।
नेपालको जलविद्युत् विकासको १ सय १० वर्षको इतिहासमा सबै भन्दा ठुलो जलबिद्युत आयोजनाको रुपमा माथिल्लो तामाकोशीलाई लिइएको छ । यो १ सय १० वर्षमा नेपाल विद्युत प्राधिकरणले बनाएका र सञ्चालन गरेका सबै जलविद्युत आयोजनाबाट साढे ५ सय मेगावाट बिजुली निस्किरहेको छ । तर तामाकोशीबाट त्यो भन्दा १ सय मेगावाट कम अर्था ४ सय ५६ मेगावाट बिजुली निस्कने छ ।
अहिले देशभरबाट उत्पादन भएको कुल विद्युतको एक तिहाई विजुली अब तामाकोशीबाट थपिने छ । प्राधिकरण र निजी क्षेत्रले गरी अहिले कुल साढे १३ सय मेगावाट बिजुली उत्पादन भइरहेको छ । अहिले देशभर उच्च विद्युत माग भएको अवस्थामा १४ सय १० मेगावाट बिजुली खपत हुन्छ ।
तामाकोशीले पूर्ण क्षमतामा बिजुली उत्पादन गरेको स्थितिमा बिजुली नै खेर जाने स्थिति छ । माथिल्लो तामाकोशी आयोजनाबाट वार्षिक करीब दुई अर्ब २८ करोड युनिट ऊर्जा उत्पादन हुने छ । यस आयोजनामा ४ देखि ६ घण्टालाई पुग्ने पिकिङ जलाशयको व्यवस्था छ । जसबाट हिउँदमा उच्च माग भएको साँझको बेलामा पूर्ण क्षमतामा पनि बिजुली निकाल्न सकिन्छ ।
यस आयोजनाले नेपालको जलविद्युत् विकासमा स्वदेशी पूँजीबाटै गर्न सकिन्छ भन्ने समेत सन्देश दिएको छ । तामाकोशीको विद्युत् शतप्रतिशत देशभित्रै बिक्री गर्न सकेमा यसबाट मात्र वार्षिक करिब १० अर्ब रुपैयाँ नाफा हुने देखिन्छ ।
जलस्रोतमा बिश्वकै दोश्रो धनी देश भए पनि जलश्रोतको उपयोग हामीले पूर्ण रुपमा गर्न पाएका छैनौँ । यस्तो स्थितिमा माथिल्लो तामाकोशीका कारण नेपालको जलबिद्युत क्षेत्रमा नयाँ आयाम थपिदिएको छ र यसले स्वदेशी लगानीमा राष्टिय गौरवका आयोजना सम्पन्न हुनुले नेपालको आर्थिक समृद्धिको लागि समेत ठुलो टेवा पुग्ने देखिन्छ ।