
काठमाडौं – नेपालबाट हुने वस्तु तथा सेवाको निर्यात ७२.७१ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्ष २०८१/८२ को १० महिना (साउन-वैशाख) को अवधिमा नेपालबाट दुई खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको हो । जुन गत वर्षको तुलनामा ७२.७१ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट कुल एक खर्ब २६ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको थियो । निर्यातमा उल्लेख्य वृद्धि भएसँगै आयातमा १३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म विभिन्न मुलुकबाट १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ ।
गत वर्षको सोही अवधिमा १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो । जुन चालु आर्थिक वर्षको तुलनामा १३.११ प्रतिशतले कमि थियो । गत वर्षको तुलनामा व्यापार घाटा भने ६.७२ प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्षको वैशाखसम्म नेपालको व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ थियो ।