
काठमाडौं – बैंकहरुको निक्षेपभन्दा कर्जा वृद्धिदर धेरै भएको छ । चालु आर्थिक वर्षको १० महिनासम्म आइपुग्दा वाणिज्य बैंकहरुको निक्षेपको वृद्धिभन्दा कर्जाको वृद्धि धेरै देखिएको हो ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार गत असार मसान्तदेखि वैशाख मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुको कर्जा लगानी ७.४४ प्रतिशतले बढेको छ भने निक्षेपको वृद्धिदर ६.७५ प्रतिशतमात्र रहेको छ ।
यसले आर्थिक गतिविधिमा सामान्य सुधार देखिन थालेको संकेत गर्छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार अर्थतन्त्रका सबै क्षेत्र सकारात्मक छन् । त्यसका साथै अर्थतन्त्रका बाह्य क्षेत्रमा पनि उल्लेख्य सुधार रहेको केन्द्रीय बैंकले जनाएको छ । पछिल्लो समयमा आयातमा सुधार आएकाले कर्जा पनि वृद्धि भएको हो ।
केन्द्रीय बैंकका अनुसार यो अवधिमा वस्तु आयात बढ्दा समग्र कर्जा परिचालनमा सुधार आएको हो । आयाततर्फको कर्जा प्रवाह सबैभन्दा धेरै ६०.५९ प्रतिशतले बढेको छ ।
लामो समयदेखि कर्जा विस्तार गर्न नसकेर अधिक तरलता (लगानीयोग्य पुँजी थुप्रिने) समस्या व्यहोरिरहेका बैंक तथा वित्तीय संस्थालाई वस्तु आयातमा भएको वृद्धिले लाभ पुर्याएको छ । वस्तु आयात गर्दा व्यवसायीले लिने कर्जा प्रवाहमा भएको वृद्धिसँगै समग्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह विस्तार भएको हो ।
आयात कर्जा बढी लिनेमा सेवा क्षेत्र र औद्योगिक क्षेत्रका कम्पनीहरु रहेका छन् । त्यसो त हाइड्रोपावर परियोजनाहरुमा बैंकहरुले पछिल्ला दिनहरुमा लगानी बढाएका छन् । अन्य क्षेत्रमा पनि विस्तारै कर्जा जानेक्रम बढ्न थालेको तथ्यांकहरुले देखाएको छ । पछिल्लो १० महिनामा वाणिज्य बैंकहरुको कर्जा प्रवाह बढेको छ ।
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१–८२ को साउनदेखि वैशाख मसान्तसम्ममा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ७.४४ प्रतिशतले बढेर ४९ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ ।
गत असार मसान्तसम्म वाणिज्य बैंकहरुले ४५ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यता, चालु आर्थिक वर्षको ८ महिनामा निक्षेप संकलन ६.७५ प्रतिशतले बढेर ६१ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ । असार मसान्तसम्म वाणिज्य बैंकहरुले ५७ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । पछिल्लो समय कर्जा प्रवाहमा केही सुधार संकेत देखिएको बैंकरहरु बताएका छन् ।