२०८२ असार १ आईतवार

काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरुको गैरबैंकिङ सम्पतिको ग्राफ थप चुलिंदै गएको छ । पछिल्लो १ वर्षमा नै बैंक तथा वित्तीय संस्थाहरुको गैरबैंकिङ सम्पति साढे ६३ प्रतिशतले बढेको छ । मुख्यतय: बैंक तथा वित्तीय संस्थाहरुमा निष्क्रिय कर्जा (एनपीएल) बढेसँगै त्यसको असर गैरबैंकिङ सम्पति (एनबीए) मा परेको हो । बैंक तथा वित्तीय संस्थाहरुले साँवा–ब्याज नउठेको कर्जाको धितो लिलामी बिक्री नभएमा आफैंले सकार्दै आएका छन् ।

यसरी सकारेको सम्पत्ति नै गैरबैंकिङ सम्पती हो । गैरबैंकिङ सम्पत्ति सकार गरेकै समयबाट बैंकहरुले यसको जोखिमबाट बच्न शतप्रतिशत रकम गैरबैंकिङ सम्पति प्रावधानमा राख्नुपर्ने हुन्छ । यही कारण बैंकहरुको गैरबैंकिङ सम्पति रकम बढेको हो । पछिल्लो १ वर्षमा बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पति १७ अर्ब ४० करोड रुपैयाँले थपिएको छ ।

राष्ट्र बैंकले हालै प्रकाशित गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल गैरबैंकिङ सम्पति ४४ अर्ब ८० करोड नाघेको छ । गत वर्षको चैतसम्म २७ अर्ब ४० करोड रुपैयाँ बराबर रहेको थियो । पछिल्लो १ वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको गैरबैंकिङ सम्पति ६३.५१ प्रतिशतले बढेको हो ।

बैंकहरुको निष्क्रिय कर्जा बढेपछि त्यसको असर गैरबैंकिङ सम्पतिमा देखिएको हो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको औसत निष्क्रिय कर्जा १.२६ प्रतिशतले विन्दुले बढेको छ । गत वर्षको चैतसम्म ३.९८ प्रतिशत रहेको औसत निष्क्रिय कर्जा यो वर्षको चैतसम्म आइपुग्दा ५.२४ प्रतिशत पुगेको छ ।

गैरबैंकिङ सम्पती सकेसम्म चाँडै बिक्री गर्नुपर्ने हुन्छ । तर पछिल्लो समय अर्थतन्त्रमा आएको शिथिलताले बैंकहरुले गैरबैंकिङ सम्पति बिक्रीका लागि पटक–पटक सूचना जारी गरे पनि बिक्री गर्न सकिरहेका छैनन् । घर–जग्गा कारोबारसमेत सुस्ताएकाले यस्ता धितो बिक्री हुन नसकेका हुन् ।

यही कारण बैंकहरुमा यस्तो सम्पती उल्लेख्य दरमा बढिरहेको हो । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको चैतको तुलनामा चालु आर्थिक वर्षको चैतसम्म वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पति ६२.९४ प्रतिशत, विकास बैंकहरुको ४६.५४ प्रतिशत तथा फाइनान्स कम्पनीहरुको १०७.२१ प्रतिशतले बढेको छ ।

गैरबैंकिङ सम्पति बढ्दा बैंकरहरु तनावमा छन् । धितो लिलामी समेत हुन नसक्दा बैंकहरुमा यस्तो सम्पति उच्च दरमा बढेको एक बैंकरले बताए । ‘यसको प्रत्यक्ष प्रभाव खराब कर्जामा परेको छ, गैरबैंकिङ सम्पत्ति पनि खराब कर्जा नै हो’ उनले भने, ‘यो बढ्नु भनेको खराब कर्जा बढ्नु हो ।’ यसले बैंकहरुको नाफामा पनि असर पुर्याउने उनको भनाइ छ ।

समग्रमा हेर्दा बैंक–वित्तीय संस्थामा गैरबैंकिङ सम्पति थुप्रिएको छ । ऋणीले समयमै कर्जाको साँवा–ब्याज तिर्न नसक्दा बैंकहरुले धितोमा राखेको सम्पति लिलामी गर्नुपर्ने हुन्छ । तर यसरी लिलामी गर्दा पनि सकार्ने ग्राहक नपाएपछि बैंकहरु आफैंले उक्त सम्पति सकार्ने गरे(का छन् । यसैकारण पछिल्ला वर्षहरुमा बैंक–वित्तीय संस्थामा यस्तो सम्पतिको थुप्रो लागेको हो ।

गैरबैंकिङ सम्पति बढ्नुको अर्थ ऋणीको कर्जा तिर्न सक्ने क्षमतामा ह्रास आएको रुपमा पनि बुझ्न सकिन्छ । साँवा–ब्याज भुक्तानीमा समस्या हुनुको मुख्य कारण अर्थतन्त्रमा समस्या देखिनु हो । व्यापार–व्यवसाय शिथिल हुन गएको छ । विशेषगरी घरजग्गा व्यापार शिथिल भएको छ । सेयर बजार पनि खासै चलायमान भएको छैन । उत्पादनमूलक उद्योग तथा सेवा व्यापारमा पनि समस्या छ ।

आयात–निर्यात व्यापारले पनि गति लिन नसक्दा ऋणीले लिएको कर्जा तथा साँवा–ब्याज भुक्तानीमा समस्या देखिएको हो । थोरैले भने नियतवश पनि कर्जा नतिरेका बैंकरहरको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय