
काठमाडौँ । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । नॅंया ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने ब्याजदर समग्रमा घटेको देखिएको छ। वैशाख महिनामा ५.९७९ प्रतिशत रहेको औसत ब्याजदर जेठमा घटेर ५.९५२ प्रतिशतमा झरेको छ।
१४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत राखेका छन् भने तीन बैंक– नेपाल बैंक, एभरेस्ट र सानिमाले जेठमा ब्याजदर सामान्य वृद्धि गरेका छन्। त्यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी र सिद्धार्थ बैंकले ब्याजदरमा सामान्य कटौती गरेका छन्।
कर्जाको माग न्यून र पूँजीगत खर्चको सिजन रहेकाले निकट भविष्यमा ब्याजदरमा तीव्र वृद्धि हुने सम्भावना छैन। राष्ट्र बैंकले व्यक्तिगत र संस्थागत निक्षेपबीच न्यूनतम १ प्रतिशत विन्दुको अन्तर हुनुपर्ने व्यवस्था गरेकाले व्यक्तिगत ब्याजदर घटेपछि अन्य निक्षेपका दरहरू पनि घट्न सक्ने अनुमान गरिएको छ।
जेठ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम ब्याजदर नेपाल बैंकले ५.४५ प्रतिशत तोकेको छ भने सबैभन्दा बढी ब्याजदर एभरेस्ट बैंकले ६.६४ प्रतिशत निर्धारण गरेको छ।
बैंकहरू लामो अवधिका मुद्दती निक्षेपमा थोरै उच्च ब्याजदर दिने र छोटा अवधिका निक्षेपमा दर घटाउने रणनीतिमा देखिएका छन्। बैंकहरूलाई पूँजी कोषको दबाब र तरलता व्यवस्थापनको आवश्यकता अनुसार ब्याजदर समायोजन गर्नुपरेको हो। यही परिवेशमा ऋणीहरूलाई कर्जाको ब्याजदरमा केही राहत पुग्ने अपेक्षा गरिएको छ।
बैंक | ब्याजदर %, जेठ | ब्याजदर %, वैशाख |
नेपाल | ५.४५ | ५.१५ |
एसबीआई | ५.५ | ५.५ |
हिमालयन | ५.५ | ५.५ |
इन्भेस्टमेन्ट मेगा | ५.५ | ६.५ |
कृषि विकास | ५.५१ | ५.५१ |
सिटिजन्स | ५.६५ | ५.६५ |
लक्ष्मी सनराइज | ५.७५ | ५.७५ |
नबिल | ५.७५ | ५.७५ |
सिद्धार्थ | ५.७५ | ६ |
कुमारी | ५.९१ | ५.९२ |
ग्लोबल आईएमई | ६ | ६ |
माछापुच्छ्रे | ६ | ६ |
राष्ट्रिय वाणिज्य | ६ | ६ |
प्रभु | ६.१ | ६.१ |
प्राइम कमर्सियल | ६.२५ | ६.२५ |
स्टान्डर्ड चार्टर्ड | ६.२५ | ६.२५ |
सानिमा | ६.३३ | ५.९५ |
एनएमबी | ६.६ | ६.६ |
एनआईसी एसिया | ६.६ | ६.६ |
एभरेस्ट | ६.६४ | ६.६१ |