काठमाडौं – भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा भारतीय मुद्रामा विगत ३ वर्षयताकै सबैभन्दा ठूलो गिरावट आएको छ । बिहीबार भारतीय रुपैयाँ (भारु) मा सन् २०२२ को फेब्रुअरीयताकै सबैभन्दा ठूलो गिरावट देखिएको ब्लुमबर्गले लेखेको छ । बिहीबार अमेरिकी डलरको तुलनामा भारु १.१ प्रतिशतले कमजोर भएर ८५.७९१३ मा आएको हो ।
बिहीबारको गिरावटसँगै, पछिल्ला ५ कारोबार दिनहरुमा भारतीय मुद्राको मूल्य २.३ प्रतिशतले घटेको छ । नेपाली रुपैयाँ भारतीय मुद्रासँग स्थिर विनिमयदर कायम गरिएका कारण भारुमा गिरावट आउँदा नेपाली रुपैयाँ पनि कमजोर पर्ने गर्छ । बिहीबार भारतको राष्ट्रिय मुद्रासँगै सेयर बजारमा पनि गिरावट देखिएको छ ।
पाकिस्तानले भारतका धेरै सैन्य निशानाहरुमा प्रहार गर्ने प्रयास गरेपछि भारतले पाकिस्तानका एयर डिफेन्स राडार र प्रणालीहरुलाई आक्रमण गरेको पुष्टि गरेको छ । द्वन्द्व थप चर्किने देखिएपछि भारतको राष्ट्रिय मुद्रा कमजोर बनेको हो । यद्दपि, तनाव बढेपनि भारतीय सेयर बजारमा भने खासै ठूलो गिरावट आएको छैन ।















