
काठमाडौं – विश्वव्यापीरुपमा भौतिक पैसाको ठाउँ डिजिटल मुद्रा अथवा क्रिप्टो करेन्सीले लिन थालेको छ । सरकारी तवरबाट नभई पहिचान नै नखुलेका निजी क्षेत्रद्वारा प्रवर्द्धित क्रिप्टो करेन्सीले विश्वव्यापीरुपमा ‘डोमिनेन्स’ सुरु गरेको हो । र, यसको बाछिटा नेपालसम्म फैलिएको छ ।
जबकि, नेपालमा कानूनीरुपमा क्रिप्टो करेन्सीको कारोबार अवैध छ । र, पनि कारोबारीहरू क्रिप्टोको कारोबार र यसमा लगानी गर्न उत्साहित बन्दै गएको तथ्यले देखाउन थालेको छ । नेपाल सरकारको व्यवस्थाअनुसार नेपाल राष्ट्र बैंकले विभिन्न समयमा क्रिप्टो नेपालमा अवैध रहेकाले कारोबार नगर्न आह्वान गर्दै आइरहेको छ ।
केन्द्रीय बैंकले सन् २०१९ र २०२१ मा छुट्टाछुट्टै नीति तथा निर्देशन जारी गर्दै नेपालमा क्रिप्टोको कारोबार अवैध रहेको जनाएको थियो । तर, राष्ट्र बैंकको सचेतनाका बाबजुद कारोबारीहरूको संख्या घट्नुको साटो उल्टै बढ्दै गइरहेको पछिल्ला अनुसन्धानले देखाउँछ । सन् २००९ बाट बिटक्वाइनकारुपमा सुरु भएको क्रिप्टो करेन्सीले यतिबेला धेरै रुप लिइसकेको छ। क्रिप्टोको दुनियाँमा सबैभन्दा पुरानो करेन्सी बिटक्वाइन नै हो ।
यसको मूल्य प्रतिगोटा ८० हजार अमेरिकी डलरसम्म छोएको थियो भने बजार मूल्य ट्रिलियन डलरमा कायम छ । यसबाहेक हाल विश्वमा यस्ता धेरै करेन्सीहरु प्रचलनमा आइसकेका छन् । विश्वका अन्य मुलुकको प्रभावका कारण प्रतिबन्ध बाबजुद पनि किप्टो कारोबार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका घटनाहरू दैनिक जसो आउने गरेको छ ।
बढ्दैछ क्रिप्टो कारोबार किन ?
थाेरै समयमा धेरै सम्पत्ति आर्जन गर्ने प्रलोभनमा परेर सर्वसाधारण क्रिप्टो कारोबार तर्फ आकर्षित हुने गरेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोले गत वर्ष मात्र ५ वटा क्रिप्टो कारोबारको घटना फेला परेको थियो । त्यस घटनामा संलग्न रहेको अभियोगमा ११३ जनालाई प्रहरीले पक्राउ गरी अर्बौँ रकम बरामद गरेको थियो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताले लुकेर कारोबार गर्नेहरुको लागि एक ठाउँबाट अर्को ठाउँमा ठुलो रकम कारोबार गर्न सहज हुने भएकाले किप्टो कारोबारमा संलग्न हुने गरेको बताए । क्रिप्टोमा लगानी गर्दा धेरै नाफा आर्जन गर्न सकिन्छ भनेर कारोबार गर्ने गरेको उनी बताउँछन् । प्रहरीले यस्ता कारोबारमा संलग्न रहेका व्यक्तिहरूलाई अनुसन्धान गर्ने पक्राउ गर्ने कारबाही गर्ने गरेको उनले बताए ।
नेपालमा किन प्रतिबन्ध छ ?
क्रिप्टो करेन्सीमा लगानी गर्दा डुब्ने सम्भावना बढी हुने गर्छ । आर्थिक स्थिति कमजोर भएका मुलुकले क्रिप्टोमा लगानी गर्दा आयात गर्न राखिएको विदेशी विनिमयको सञ्चिति सकिन सक्छ । नेपालजस्तो सानो अर्थतन्त्र भएको देशको विदेशी मुद्रा क्रिप्टो कारोबारमार्फत बिदेसिने जोखिम समेत सरकारले देखेको छ । यही र यस्तै डरका कारण नेपालमा प्रतिबन्ध गरिएको नेपाल राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपाने बताउँछन् ।
‘विदेशी मुद्रा र क्रिप्टो करेन्सीमा लगानी गर्दा डुब्ने अथवा विदेशी विनियमको सञ्चिति सकिने जोखिम छ । नेपालको पुँजी पलायनको जोखिमका कारण प्रतिबन्ध लगाइएको हो,’ उनले बैंकिङ्ग समाचारसँग भने । ठुला देशहरुको पुँजीको स्थिति बलियो हुने हुनाले उनीहरूलाई यस्ता करेन्सीमा लगानी गर्दा डुबे पनि आफ्नो मुद्राकोमार्फत स्थिति ठिकठाक गर्न सक्छन् ।
सीबीडीसी निमार्ण गर्न राष्ट्र बैंकको योजना
क्रिप्टोलाई इटरनेश्लन फाइन्सीयल डिजिटलकोरुपमा लिएकाले क्रिप्टो करेन्सी नेपालमा बन्द गरिएको छ । राष्ट्र बैंकले राष्ट्र बैंकको रुपैयाँलाई इलोक्टोनिक रुपौयाँमा परिणत गर्नका लागी एउटा (सिबिडिसी) केन्द्रीय बैंक डिजिटल करेन्सीको निमार्ण काम भइरहेको न्यौपानेले बताए । विदेशमा लगानी गर्न प्रतिबन्ध लगाएको ऐन अनुसार, राष्ट्र बैंकको नीतिगत र प्रहरीको प्रशासकीय व्यवस्था अनुसार किप्टो कारोबारमा हुने गतिविधिको नियन्त्रण गरी प्रहरीहरूले अनुसन्धान गरी रहेकाे उनले बताए ।
नेपालको लागि क्रिप्टो बनाउन एउटा छुट्टै कानुनको निमार्ण गरी काम गर्नुपर्ने भएकाले हालका लागी भने राष्ट्र बैंकले केन्द्रीय बैंक डिजिटल करेन्सीका काम गरी रहेको उनले बताए । उनले केन्द्रीय बैंक डिजिटल करेन्सीको निर्माणले गर्दा किप्टो कारोबारका घटनाहरूमा कमी आउने बैंकिङ्ग समाचारलाई बताए । राष्ट्र बैंकमा सर्वसाधारणको विश्वास रहेको हुँदा निजी क्षेत्रका क्रिप्टो करेन्सीमाभन्दा पनि केन्द्रीय बैंक डिजिटल करेन्सीकाे कारोबारमा जनता अग्रसर हुने उनको भनाइ छ ।