काठमाडौँ । वाणिज्य बैंकहरुले ९ महिनाको अवधिमा सरकारलाई १९ अर्ब आयकर बुझाएका छन् । संचालनमा रहेका २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमाससम्मको अवधिमा १९ अर्ब १५ करोड ५ लाख ७४ हजार रुपैयाँ राजस्व तिरेका हुन् ।
चालु आर्थिक वर्षको ९ महिनामा बैंकहरुले बुझाएको राजस्व गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९.९४ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि चैतसम्ममा बैंकहरुले सरकारलाई १७ अर्ब ४१ करोड ९१ लाख २७ हजार रुपैयाँ कर बुझाएका थिए । समिक्षा अवधिमा ८ वटा बैंकको आयकर घटेको छ भने १२ वटाको बढेको हो ।
चालु आर्थिक वर्षको चैतसम्ममा नबिल बैंकले सरकारलाई २ अर्ब ७ करोड ८९ लाख २१ हजार रुपैयाँ राजस्व दिएको हो । जुन गत आर्थिक वर्षको तुलनामा ५.७२ प्रतिशतले बढी हो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । ९ महिनामा बैंकले १ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३८.८५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले सरकारलाई १ अर्ब ४१ करोड ६ लाख रुपैयाँ कर बुझाएको थियो ।
ग्लोबल आइएमई बैंकले सरकारलाई बुझाउने आयकर ४६.७१ प्रतिशतले बढाएर १ अर्ब ८१ करोड १० लाख, एभरेष्ट बैंकले १२७७ प्रतिशतले बढाएर १ अर्ब ६२ करोड र प्रभु बैंकले १ अर्ब ५८ करोड १८ लाख रुपैयाँ रहेको छ । साथै, नेपाल बैंकले १ अर्ब ५३ करोड रुपैयाँ र एनएमबि बैंकले १ अर्ब ५ करोड ५९ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएका छन् ।
चैत मसान्तसम्मको अवधिमा स्टान्र्डड चार्टड बैंकले ९९ करोड ५२ लाख, प्राइम बैंकले ९६ करोड ४४ लाख, लक्ष्मी सनराइजले ७४ करोड ७३ लाख, सिद्धार्थ बैंकले ७२ करोड २० लाख, एसबिआई बैंकले ६० करोड १५ लाख, सानिमा बैंकले ५९ करोड ७२ लाख, राष्ट्रिय वाणिज्य बैंकले ५१ करोड ६१ लाख, माछापुच्छ्रे बैंकले ४७ करोड २५ लाख, कुमारी बैकले ४६ करोड ७५ लाख, सिटिजन्स बैंकले ३८ करोड, हिमालयन बैंकले २१ करोड र एनआईसीले ६ करोड रुपैयाँ आयकर सरकारलाई बुझाएको बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।















