
काठमाडौं – पछिल्लो ८ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सेयर कर्जा (मार्जिन प्रकृतिको कर्जा) ३१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको फागुनसम्मको तथ्यांक अनुसार असार मसान्तको तुलनामा सेयर धितोकर्जा ३१.५ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा सेयर कर्जा २८ अर्ब ४० करोड ७८ लाख रुपैयाँले बढेको हो । राष्ट्र बैंकका अनुसार चालु आवको फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाले १ खर्ब १८ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह गरेका छन् । गत आवको आसर मसान्तसम्म यस प्रकारको कर्जा ९० अर्ब ९ करोड प्रवाह गरेका थिए ।
बैंक तथा वित्तीय संस्थामा तरलता पर्याप्त रहेको, ब्याजदर घट्दो क्रममा रहेको, लगानीका अन्य क्षेत्रमा अपेक्षित रुपमा सुधार हुन नसकेको, हालसम्मको उच्च विन्दुको तुलनामा सेयर बजार धेरै तल झरेको लगायत कारण केही महिनायता सेयर कर्जा बढ्न थालेको जानकारहरु बताउँछन् ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले संस्थागत लगानीकर्तालाई लाग्दै आएको २० करोडको सीमा खारेज गरेको छ । यो व्यवस्थाले पनि ठूला लगानीकर्ता उत्साहित भएकाले सेयर कर्जा बढेको हो । सेयर कर्जामा व्यक्तिगत लगानीकर्ताले कर्जा लिन पाउने अधिकतम १५ करोडको सीमा भने यथावत छ । सेयरलगानीकर्ताहरुले यसलाई हटाउनु पर्ने माग राख्दै आएका छन् ।
चालु आवको फागुनसम्मको तथ्यांक हेर्दा २ प्रकृतिका कर्जाको वृद्धिदर ऋणात्मक देखिएको छ भने अरु बाँकी शीर्षकका सबैजसो कर्जाको वृद्धिदरमा भने सुधार आएको छ । समीक्षा अवधिमा व्यक्तिगत ओभरड्राफ्ट (अधिविकर्ष) र विपन्न वर्ग कर्जाको वृद्धिदर ऋणात्मक देखिएको हो ।
समीक्षा अवधिमा सेयर कर्जा, आवधिक कर्जा, आयात कर्जा, आवासीय घर कर्जा, हायर पर्चेज, क्यास क्रेडिट, रियल स्टेट, बिल्स खरिद र अन्य प्रकारका कर्जाहरु भने बढेका छन् ।