
काठमाडाैं । खातामा पैसा नभए पनि कार्डबाट भुक्तानी गर्न सकिने सेवासहितको क्रेडिट कार्डको प्रयोगमा नेपालीको ‘क्रेज’ बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ७ महिनाको वित्तीय विवरणमा नेपालीले कुल ६ अर्ब माथिको ऋण क्रेडिट कार्डबाट लिएको उल्लेख छ। माघ मसान्तसम्म आइपुग्दा नेपालीहरुले क्रेडिट कार्डबाट ६ अर्ब १२ करोड रुपैयाँ ऋण लिएका हुन्।
गत वर्ष सोही अवधिमा ५ अर्ब ३५ करोड रुपैयाँ लिएका थिए। चालू आवको सात महिनामा भने क्रेडिट कार्डबाट ७७ करोड रुपैयाँ ऋण लिएका हुन्। माघ मसान्तमा मात्रै क्रेडिट कार्डवाहकहरुले २ लाख ५१ पटकमा १ अर्ब ८५ करोड रुपैयाँको कारोबार गरेका छन्। सीमित शर्तसहित बैंकहरुले आफ्ना ग्राहकलाई प्रदान गर्ने उक्त कार्डबाट खातामा पैसा नभएको अवस्थामा पनि भुक्तानी गर्न सकिन्छ।
कार्डमा खर्च भएको रकम कार्डवाहकले निश्चित समयपश्चात् सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई तोकिएको ब्याजसहित ऋण चुक्ता गर्नुपर्ने हुन्छ। कुनै वस्तु तथा सेवा खरिद गर्दा पैसा नभएको खण्डमा पनि सहजै भुक्तानी गर्न सकिने हुँदा पछिल्लो समय बैंकहरुले जारी गर्ने क्रेडिट कार्डको प्रयोग बढ्न थालेको छ।
क्रेडिट कार्ड पनि बैंकले उपलब्ध गराउने प्लाष्टिक पेमेन्ट कार्ड हो, जसबाट खातावालले आफ्नो खातामा रकम उपलब्ध नभएको अवस्थामा पनि ऋणको रूपमा रकम निकाल्ने वा रकम भुक्तानी गर्न सक्दछ । यस्तो कार्डबाट प्रयोगकर्ताले भविष्यमा रकम भुक्तानी गर्ने शर्तमा ऋणको रूपमा रकम उपभोग गर्न सक्दछ भने बैंकले तोके अनुरूपको समयावधीमा प्रयोगकर्ताले उक्त उपभोग गरेको रकमलाई भुक्तानी गर्नु पर्दछ ।
क्रेडिट कार्डलाई भुक्तानी कार्डका रुपमा प्रयोग गरिन्छ । ग्राहकले कुनै वस्तु वा सेवा खरिद गरेपछि क्रेडिट कार्डमार्फत भुक्तानी दिन सक्छ । यो कार्ड भएको व्यक्तिले निश्चित रकमसम्मको वस्तु वा सेवा उधारोमा खरिद गर्न सक्छ । ‘अहिले खर्च गर, पछि तिर्दै गए हुन्छ’ भन्नेगरि यो कार्ड जारी गरिएको हुन्छ ।
कुनैपनि व्यक्तिले भविश्यमा तिर्न सक्ने क्षमतामा राख्छ भन्नेमा विश्वास गरेपछि बैंकले क्रेडिट कार्ड जारी गर्न सक्छ । यो एक प्रकारको बिना धितो बैंकले दिने र ग्राहकले निश्चित समयका लागि उधारोमा खर्च गर्न सक्ने रकम हो ।
क्रेडिट कार्डबाट एटिएम मेसिन प्रयोग गरी रकम निकाल्न पनि मिल्छ । तर, यसका लागि केही शुल्क भने काटिन्छ । नेपालमा क्रेडिट कार्ड कम मात्रामा प्रयोग हुन्छ । बैंकहरूले पनि क्रेडिट कार्ड जारी गर्न खासै चासो देखाएको पाईंदैन । नेपालमा यस्तो प्रणालीको विकास क्रमशः भइरहेको छ ।