
काठमाडौं – राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार वाणिज्य बैंकहरुले लिने कर्जाको भारित औसत ब्याजदर ८.६९ प्रतिशतमै झरेको छ । १ वर्षको अवधिमा वाणिज्यहरुले लिने कर्जाको औसत ब्याजदर २.६९ प्रतिशत विन्दुले घटेको हो । गत आर्थिक वर्षको पुससम्म वाणिज्य बैंकहरुले लिने कर्जाको भारित औसत ब्याजदर ११.३८ प्रतिशत थियो ।
कर्जाको माग बढ्न नसकेपछि बैंकहरुले निक्षेपको ब्याजदर निरन्तर घटाउँदै आएका थिए । निक्षेपको ब्याजदर घट्दा बैंकहरुको लागत कम भएपछि कर्जाको औसत ब्याजदर पनि घटेको हो । हाल वाणिज्य बैंकहरुले प्रवाह गर्ने सबै प्रकारका कर्जाको ब्याजदर एकल अंकमा रहेको छ ।
राष्ट्र बैंकका अनुसार यसअघि २०७८ असारमा कर्जाको भारित औसत ब्याजदर सबैभन्दा कम ८.४३ प्रतिशतसम्म झरेको थियो । त्यसपछि निरन्तर बढ्न थालेको कर्जाको भारित औसत ब्याजदर २०७९ फागुनमा १३.०३ प्रतिशतसम्म पुगेको थियो । त्यसपछिका निरन्तर २२ महिनादेखि कर्जाको औसत ब्याजदर घट्दो क्रममा रहेको छ । चालु आवको पुस मसान्तसम्म आइपुग्दा ८.६९ प्रतिशतमा झरेको हो ।
राष्ट्र बैंकको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले प्रवाह गर्ने सबै प्रकारका कर्जाको ब्याजदर एकल अंकमा झरेको छ । पुस मसान्तसम्म सबैभन्दा उच्च ब्याजदर रहेको ओभर ड्राफ्ट कर्जाको ब्याजदर नै ९.८२ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको यसैअवधिमा यो शीर्षकमा कर्जाको भारित औसत ब्याजदर १३.१५ प्रतिशत थियो । यस अवधिमा विपन्न वर्गमा प्रवाह हुने कर्जाको ब्याजदर सबैभन्दा कम ७.६८ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा विपन्न वर्गमा प्रवाह हुने कर्जाको ब्याजदर १०.६३ प्रतिशत थियो ।
यस्तै, चालु आर्थिक वर्षको पुस महिनामा आवधिक कर्जा ब्याजदर ८.९६ प्रतिशत कायम भएको छ । गत वर्षको यसै अवधिमा यस्तो कर्जाको ब्याजदर ११.८३ प्रतिशत रहेको थियो । चालु पुँजी कर्जाको ब्याजदर पनि ८.३३ प्रतिशतमा झरेको छ । गत वर्षको पुसमा ११.८८ प्रतिशत रहेको थियो । आवासीय कर्जाको ब्याजदर गत वर्षको पुसमा ११.७४ प्रतिशत रहेकोमा यो वर्ष ९.०८ प्रतिशतमा झरेको छ । यस्तै, रियल स्टेट कर्जाको ब्याजदर ९.१४ प्रतिशत रहेको छ ।
यसैगरी, सेयर धितो कर्जाको ब्याजदर पनि निरन्तर घट्दो क्रममा छ । पुससम्म यो कर्जाको ब्याजदर ८.८४ प्रतिशतमा झरेको छ । गत आवको पुसमा सेयर धितो कर्जाको ब्याजदर १२.३३ प्रतिशत थियो । पुसमा हायर पर्चेज कर्जाको ब्याजदर पनि ९.२२ प्रतिशतमा आएको छ । अन्य प्रोडक्टको ब्याजदर ९.२६ प्रतिशत छ । यस्तै, क्यास क्रेडिट कर्जाको ब्याजदर पुसमा ८.८२ प्रतिशतमा झरेको छ । बिल खरिदतर्फको ब्याजदर पनि घटेर ९.११ प्रतिशतमा आएको छ ।
राष्ट्र बैंकका अनुसार चालु आवको पुसमा बैंकहरुको औसत आधार दर घटेर ६.६५ प्रतिशतमा झरेको छ । गत वर्षको पुसमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.३५ प्रतिशत थियो । बैंकहरुमा अधिक तरलता रहेको कारण बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा थप्ने प्रिमियम दर समेत घटाएका छन् । तरलता कम हुँदा ५ प्रतिशतसम्म प्रिमियम थप गर्ने बैंकहरु अहिले एक डेढ प्रतिशत प्रिमियम थपेर कर्जा दिन थालेका छन् ।
पुसम्म बैंकहरुको स्प्रेडदर ३.९४ प्रतिशत छ । गत आवको पुससम्ममा यस्तो दर ४.०६ प्रतिशत थियो । कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर स्प्रेड दर हो । यस्तै, २०८१ पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर बचतमा ३.३४ प्रतिशत, मुद्दतिमा ६.५१ प्रतिशत छ । यस अवधिमा निक्षेपको भारित औसत ब्याजदर ४.७५ प्रतिशत रहेको छ ।