
काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढ्न नसकेपछि बैंकहरुले निरन्तर रुपमा ब्याजदर घटाइरहेका छन् । वाणिज्य बैंकहरुको ब्याजदर घट्ने क्रममा मंसिरसम्म आइपुग्दा कर्जाको भारित औसत ब्याजदर ९ प्रतिशत तल झरेको छ । बैंकहरुले पछिल्लो २१ महिनादेखि लगातार ब्याजदर घटाउँदै आएका छन् । कर्जाको औसत ब्याजदर गत असारदेखि नै एकल अंकमा झरेको हो ।
चालु आर्थिक वर्षको मंसिरसम्म आइपुग्दा कर्जाको भारित औसत ब्याजदर ८.९० प्रतिशतमा झरेको छ । ०७९ फागुनमा सबैभन्दा धेरै १३.०३ प्रतिशत कर्जाको औसत ब्याजदर पुगेकोमा त्यसयता निरन्तर घट्दै आएको छ । पछिल्लो २१ महिनामा कर्जाको भारित औसत ब्याजदर ४.१३ प्रतिशत बिन्दुले घटेको हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार १ वर्षको अवधिमा बैंकहरुले प्रवाह गर्ने कर्जाको ब्याजदर २.९५ प्रतिशत बिन्दुले घटेको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर २०८० मंसिरमा ११.८५ प्रतिशत थियो । त्यसयता घट्दै आएर ०८१ मंसिरमा ८.९० प्रतिशतमा झरेको हो । विकास बैंक र वित्त कम्पनीहरुको ब्याजदर पनि निरन्तर घटिरहेको छ ।
मंसिरमा कर्जाको औसत ब्याजदर घटेर ८.९० प्रतिशतमा आइपुग्दा निक्षेपको औसत ब्याजदर पनि ४.७८ प्रतिशतमा झरेको छ । निक्षेपतर्फ साधारण बचतको ब्याजदर घटेर ३.३५ प्रतिशत र मुद्दति निक्षेपको औसत ब्याजदर ६.८० प्रतिशत कायम भएको छ । कल डिपोजिटको ब्याजदर १.२८ प्रतिशतमा छ । गत वर्षको यसै अवधिमा निक्षेपको औसत ब्याजदर पनि ७.६२ प्रतिशत थियो ।
२०८० मंसिरसम्म निक्षेपतर्फ साधारण बचतको ब्याजदर ५.१३ प्रतिशत र मुद्दति निक्षेपको औसत ब्याजदर ९.६९ प्रतिशत कायम थियो । बैंक ब्याजदर उच्च भएको समय ०७९ फागुनमा निक्षेपको औसत ब्याजदर ८.३७ प्रतिशतमा थियो । सो समयमा निक्षेपतर्फ साधारण बचतको ब्याजदर ६.७८ प्रतिशत र मुद्दती निक्षेपको औसत ब्याजदर १०.९९ प्रतिशत रहेको थियो ।
अर्थतन्त्रमा शिथिलता आएसँगै कर्जाको माग घटेपछि ब्याजदर पनि घट्दो क्रममा रहेको छ । बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएपछि बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर घटाउँदै लगेका हुन् । बैंकहरुले पछिल्लो १ वर्षयता निक्षेपको ब्याजदर पनि लगातार घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घटेसँगै बैंकहरुको लागत घट्न गई आधारदर (बेस रेट) सस्तिँदा पनि कर्जाको ब्याजदर थप घटेको हो । गत मंसिरसम्मको तथ्यांक अनुसार अहिले बैंकहरुको औसत आधार दर ६.८१ प्रतिशत रहेको छ ।
अधिक तरलता रहेको कारण बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा थप्ने प्रिमियम दर समेत घटाएका छन् । प्रणालीमा तरलता कम हुँदा ५ प्रतिशतसम्म प्रिमियम थप्दै आएका बैंकहरुले अहिले एक–डेढ प्रतिशतमात्रै प्रिमियम थपेर कर्जा दिएकाले गर्दा पनि ब्याजदर सस्तिएको हो । बैंकहरुमा कर्जाको माग सुस्त हुँदा कर्मचारीहरुले टार्गेट पूरा गर्न नसकेर हैरानीमा छन् भने बैंक तथा वित्तीय संस्थाको व्यवसायमा समेत प्रत्यक्ष असर परेको छ ।
कतिपय बैंकहरुले अहिले आधार दरमा नै कर्जा दिन थालेका छन् । बैंकका कर्मचारीहरु कर्जा प्रवाह बढाउने दौडमा लागेका छन् । पछिल्लो समयमा उनीहरुले आधार दरमा १ प्रतिशतभन्दा पनि कम प्रिमियम दरमा नै घर जग्गा कर्जाको लागि अफर गर्दै आएका छन् । बैंकका कर्मचारीहरुले सार्वजनिक कार्यक्रम तथा व्यक्तिगत रुपमा नै भेटेर कर्जाको लागि अफर गर्दै आएका छन् ।
राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार सबै कर्जाको ब्याजदर एकल अंकमा झरेको छ । ओभर ड्राफ्ट, रियल स्टेट, हायर पर्चेज, सेयर कर्जालगायत सबै कर्जाको ब्याजदर एकल अंकमा झरेको छ । विपन्न वर्गमा प्रवाह हुने कर्जाको ब्याजदर सबैभन्दा कम ७.९१ प्रतिशतमा झरेको छ ।
यसैगरी, सेयर धितो कर्जाको ब्याजदर थप घट्दो क्रममा छ । गत असारमा १०.५० प्रतिशत रहेको सेयर कर्जाको ब्याजदर मंसिरसम्म आइपुग्दा ९.१२ प्रतिशत कायम भएको छ । गत वर्षको मंसिरसम्म यस्तो कर्जाको औसत ब्याजदर १२.८१ प्रतिशत थियो । ०७९ फागुनमा भने १४.५२ प्रतिशत थियो । चालु आर्थिक वर्षको ५ महिनामा सेयर धितो कर्जा १९.८ प्रतिशतले वृद्धि भएको छ ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाले थप १७ अर्ब ८५ करोड सेयर कर्जा प्रवाह गरेका छन् । मंसिरमसान्त आइपुग्दा कुल सेयर धितो कर्जा १ खर्ब ७ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । सेयर बजार उकालो लाग्दा सेयर धितो कर्जाको माग उच्च रहेको भए पनि अहिले बजार सुस्ताउँदै गएकाले यस्तो कर्जाको माग समेत घट्दै गएको बैंकरहरु बताउँछन् ।
यसैगरी, मंसिरमा हायर पर्चेज कर्जाको ब्याजदर पनि ९.४५ प्रतिशतमा आएको छ । अन्य प्रोडक्टको ब्याजदर ९.४४, आवधिक कर्जाको ब्याजदर ९.२५, चालु पुँजी कर्जाको ब्याजदर ८.६३, ओभर ड्राफ्ट कर्जाको ब्याजदर ९.९८ प्रतिशतमा झरेको छ । यस्तै, क्यास क्रेडिट कर्जाको ब्याजदर ९.०७ प्रतिशत, बिल खरिदतर्फको ब्याजदर ९.२८ प्रतिशत, डेढ करोडसम्मको आवासीय कर्जाको ब्याजदर ९.३१ प्रतिशत तथा रियल स्टेट कर्जाको ९.४१ प्रतिशत कायम भएको छ ।
यसअवधिमा सबैभन्दा विपन्न वर्ग कर्जाको ब्याजदर ७.९१ प्रतिशत तथा सबैभन्दा धरै ओभर ड्राफ्ट कर्जाको ब्याजदर ९.९८ प्रतिशतमा रहेको छ । बैंकहरुले लगभग बेस रेटमै दिंदा पनि अपेक्षा अनुसार कर्जा प्रवाह बढ्न नसक्नुमा मुख्य कारण आर्थिक मन्दी र त्यसले सर्वसाधारण नागरिकको दैनिक जीवनमा पारेको प्रभाव नै हो । सर्वसाधारणले कर्जा लिने क्षमतामै ह्रास आएको छ ।
अधिकांशको व्यक्तिगत आम्दानीका स्रोतहरुमा धक्का लागेको छ । लघु, साना तथा मझौला व्यवसायको कारोबार पनि खस्किएको छ । यता, धेरैले कर्जा लिनका लागि आम्दानीको स्रोत पुष्टि गर्न पनि नसक्दा कर्जा प्रवाहमा समस्या भइरहेको बैंकरहरु बताउँछन् । कतिपय बैंकहरुले अहिले कर्जा प्रवाहभन्दा पनि रिकभरीमा बढी फोकस गरिरहेको बैंकरहरु बताउँछन् ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार अहिले बैंक तथा वित्तीय संस्थासँग ऋण दिन मिल्ने रकम नै ६ खर्ब ३६ अर्ब बढी छ । पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ६६ खर्ब ९३ अर्ब पुगेको छ । यसअवधिमा बैंकहरुले ५३ खर्ब ८७ अर्ब कर्जा लगानी गरेका छन् ।
अहिले बैंक वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसीयो) ७९.२० प्रतिशतमा झरेको छ । बैंक वित्तीय संस्थाहरुले कर्जा निक्षेप अनुपात (सीडी) ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था छ । बैंकहरुको कर्जा निक्षेप अनुपात निकै सहज अवस्थामा रहेकाले पनि कर्जा विस्तारका लागि प्रशस्त स्पेस देखिन्छ ।