काठमाडौं – अर्थतन्त्रको बाह्य पक्ष सबल देखिएपनि आन्तरिक अर्थतन्त्रमा देखिएको शिथिलताका कारण बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग बढ्न सकेको छैन । रेमिटेन्स आप्रवाहमा आएको निरन्तर सुधारले वित्तीय प्रणालीको निक्षेपमा सुधार भइरहेको छ । निक्षेप बढे अनुसार कर्जा लगानी बढ्न नसक्दा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या देखिएको हो। आर्थिक गतिविधि चलायमान नहुँदा कर्जा लगानी बढाउन नसकेपछि बैंकहरुको ३ खर्ब २८ अर्ब ५० करोड रुपैयाँ केन्द्रीय बैंकमा जम्मा भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले आइतबारमात्रै नेपाल राष्ट्र बैंकमा १ खर्ब ६९ अर्ब ४५ करोड रुपैयाँ जम्मा गरेका छन् । कर्जा विस्तार गर्न नसक्दा बैंकहरुले प्रणालीमा भएको अधिक रकम अल्पकालीन उपकरणहरुमा लगानी गरेका हुन् । बैंकहरुले आइतबार १ खर्ब १९ अर्ब ४५ करोड स्थायी निक्षेप सुविधा (एसडीएफ) मा राखेका छन् । त्यस्तै, निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब राष्ट्र बैंकमा बुझाएका हुन् । यो सँगै बैंकहरुको कर्जा लगानी गर्न नसकेको ३ खर्ब २८ अर्ब ५० करोड रुपैयाँ केन्द्रीय बैंकमा जम्मा भएको छ ।
वित्तीय प्रणालीमा पैसा धेरै भएपछि राष्ट्र बैंकले आइतबार निक्षेप संकलन उपकरणमार्फत ५० रुपैयाँ वित्तीय प्रणालीबाट झिक्न चाहेको थियो । बैंक तथा वित्तीय संस्थाले ६४ अर्ब ५५ करोड रुपैयाँ राख्न प्रस्ताव गरे । राष्ट्र बैंकले औसत २.९७ ब्याजदर दिने गरी ५० अर्ब निक्षेप संकलन गरेको छ । यो निक्षेप २१ दिनका लागि लिएको हो, जुन आगामी पुस ७ गते परिपक्क हुनेछ ।
चालु आर्थिक वर्ष सुरु भए यता मंसिर १६ गते आइतबारसम्म बैंकहरुले निक्षेप संकलन उपकरण मार्फत २८ पटक गरेर ९ खर्ब ८४ अर्ब ४५ करोड बुझाएका छन् । त्यस्तै यही अवधिमा बैंकहरुले १०७ खर्ब ८८ अर्ब २० करोडको स्थायी निक्षेप सुविधा (एसडीएफ) लिएका छन् । बैंकहरुले ५४ पटकमा उक्त रकम राष्ट्र बैंकमा राखेका हुन्। उक्त उपकरणमा लगानी गर्दा बैंक वित्तीय संस्थाले ३ प्रतिशत ब्याज पाउने गरेका छन् ।
वित्तीय प्रणालीमा पैसा धेरै भएकै कारण ब्याजदर निकै तल नझरोस् भन्नकै लागि राष्ट्र बैंकले केही दिनको अन्तरमा बजारबाट पैसा झिक्दै आइरहेको छ । हालको व्यवस्था अनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनुपर्छ । अहिले अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झरेकाले राष्ट्र बैंकले बजारबाट पैसा तानेकोे हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार अहिले अधिकांस कर्जाको ब्याजदर एकल अंकमा झरेको छ । कर्जाको माग बढ्न नसकेपछि बैंकहरुले निक्षेपको ब्याजदर निरन्तर घटाउँदै आएका थिए । निक्षेपको ब्याजदर घट्दा बैंकहरुको लागत कम भएपछि कर्जाको औसत ब्याजदर एकल अंकमा आएको हो।
राष्ट्र बैंकका अनुसार असोज महिनामा वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर ९.३३ प्रतिशत कायम भएको छ । त्यसैगरी, बैंकहरुको औसत आधार दर घटेर ७.२९ प्रतिशतमा झरेको छ । बैंकहरुमा अधिक तरलता रहेको कारण बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा थप्ने प्रिमियम दर समेत घटाएका छन् । तरलता कम हुँदा ५ प्रतिशतसम्म प्रिमियम थप गर्ने बैंकहरु अहिले एक डेढ प्रतिशत प्रिमियम थपेर कर्जा दिन थालेका छन्। तर पनि अपेक्षित रुपमा कर्जा विस्तार हुन सकेको छैन् ।
ब्याजदर एकल अंकमा झरे पनि आर्थिक गतिविधि बढ्न नसक्दा कर्जाको माग भने खासै बढ्न सकेको छैन। जसले गर्दा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था रहेको छ । अधिक तरलता भएपनि कर्जा लगानी विस्तार हुन नसक्दा बैंकहरुले अल्पकालीन उपकरणमा लगानी गरेर आम्दानी गर्ने गरेका छन ।
राष्ट्र बैंकको तथ्यांक अनुसार अहिले बैंकहरूमा कुल ६६ खर्ब २७ अर्ब रूपैयाँ निक्षेप रहेको छ । यसअवधिमा बैंकहरुले ५२ खर्ब ९६ अर्ब कर्जा लगानी गरेका छन। बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.५८ प्रतिशत छ। यसलाई हेर्दा बैंकहरुसँग लगभग साढे ६ खर्ब ६८ अर्ब रुपैयाँ लगानीयोग्य रकम देखिन्छ ।