२०८१ मंसिर २३ आईतवार

काठमाडौं – पछिल्लो समय वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) निरन्तर घट्दै आएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताको अवस्था आएसँगै बैंकहरुले धमाधम निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घटेसँगै बैंकहरुको आधार दर पनि तल झर्दै आएको हो ।

आधार दरमा निश्चित प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने गर्दछ । तसर्थ, आधार दर घट्दा कर्जाको ब्याजदर पनि घट्ने गर्छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था रहे पनि कर्जा प्रवाहमा छाएको सुस्तता छाएको छ ।

कर्जा प्रवाहमा सुस्तता आउनुको प्रमुख कारण भनेको आन्तरिक अर्थतन्त्र चलायमान नहुनु रहेको बैंकरहरुले बताएका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी आन्तरिक अर्थतन्त्रमा मन्दि छाउँदा ब्याजदर घटेपनि कर्जा प्रवाह हुन नसकेको बताउँछन् । आन्तरिक अर्थतन्त्र चलायमान बनाउन निमार्ण क्षेत्रलाई प्रोत्सहन गर्नुपर्ने उनको धारणा छ ।

पछिल्लो महिना मात्रै वाणिज्य बैंकहरुको औसत आधार दर (बेस रेट) ०.२० प्रतिशत विन्दुले घटेको छ । कात्तिक महिनाको तुलनामा मंसिरमा औसतमा आधार दर ०.२० प्रतिशतले घटेको हो । वाणिज्य बैंकहरुको औसत आधार दर मंसिरको लागि ७.२४ प्रतिशत कायम भएको छ ।

यसअघि कात्तिकमा २० वाणिज्य बैंकहरुको औसत आधार दर ७.४४ प्रतिशत थियो । यस अवधिमा सबैभन्दा कम आधार दर स्टान्डर्ड चार्टर्ड बैंकको रहेको छ । यसको औसत आधार दर जम्मा ५.५३ प्रतिशत निर्धारण भएको छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६.०१ प्रतिशत छ । सबैभन्दा धेरै आधार दर एनआइसी एसिया बैंकको रहेको छ । यसको औसत आधार दर ८.४३ प्रतिशत निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय