काठमाडाैं । पछिल्लो समय नेपालमा पर्यटन व्यवसाय लयमा फर्किएसँगै बैंकवित्तीय संस्थाले पनि यस क्षेत्रमा लगानी बढाएका छन् । विशेष गरी होटल, रेस्टुरेन्ट, होमस्टे, र साहसिक पर्यटन सेवाहरूमा बैंकहरूले ऋण सुविधा उपलब्ध गराउँदै आएका छन्। बैंकहरूले यो क्षेत्रलाई सम्भावनायुक्त र प्रतिफलमुखी मान्छन्, किनभने नेपालको पर्यटन उद्योगले देशको अर्थतन्त्रमा ठूलो योगदान दिँदै आएको छ ।
त्यसका साथै, नेपालमा सरकार र नेपाल राष्ट्र बैंकले पनि पर्यटन क्षेत्रमा सहुलियतपूर्ण ऋणको व्यवस्था गरेको छ । केही बैंकहरूले पर्यटन व्यवसायका लागि कर्जा सुविधा लिन चाहने व्यवसायीहरूलाई अनुदान दरमा पनि ऋण सुविधा दिइरहेका छन्।
यसैबीच नेपाल आउने पर्यटकको संख्या गत वर्षको तुलनामा बढेको छ । २०२३ को अक्टोबर महिनामा १ लाख १७ हजार पर्यटक आएकामा यो वर्षको सोही अवधिमा १ लाख २४ हजार पर्यटक आएका हुन् ।
जुन गत वर्षको तुलनामा ६ प्रतिशतले बढी हो । कोरोना महामारीअघि सन् २०१९ को अक्टोबरमा १ लाख ३४ हजार पर्यटक आएका थिए । २०२४ को १० महिनामा ९ लाख ४१ हजार ३२ पर्यटक नेपाल आएका छन् । सबैभन्दा धेरै मार्चमा १ लाख २८ हजार १ सय ६७ पर्यटक नेपाल आएका थिए । सबैभन्दा बढी पर्यटक भने भारतबाट आएका छन् ।
कुल नेपालमा आएका पर्यटकमध्ये भारतबाट १३ दशमलव एक–एक प्रतिशत, अमेरिकाबाट १२ दशमलव आठ–आठ चीनबाट ६ दशमलव दुई–तीन प्रतिशत पर्यटक आएका छन् । कोरोनापछि पर्यटन क्षेत्रमा सुधार आउन थालेको देखिएको छ । कोरोना महामारीअघिको तुलनामा ९२ प्रतिशत सुधार भएको देखिएको हो ।
बढ्दो पर्यटक आगमनले बैंकहरु उत्साहित देखिएका छन् । पर्यटन क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको लगानी बढ्दै गएको देखिएको हो । चालु आर्थिक वर्षको दुई महिनामा मात्रै बैंकहरुले पर्यटन क्षेत्रमा दुई खर्ब बढी लगानी गरेका छन् । यस अवधिमा बैंक तथा वित्तीय संस्थाले पर्यटन क्षेत्रमा २ खर्ब ३८ अर्ब ३२ करोड रुपैयाँ लगानी गरेका हुन् । जुन गत वर्षको सोही अवधिको तुलनामा १०.५७ प्रतिशत अर्थात २२ अर्ब ८० करोड रुपैयाँले बढी हो । गत वर्ष बैंकहरुले पर्यटन क्षेत्रमा दुई खर्ब १५ अर्ब ५२ करोड रुपैयाँ लगानी गरेका थिए ।
राष्ट्र बैंकका अनुसार कुल लगानीमध्ये वाणिज्य बैंकहरुको लगानी सर्वाधिक दुई खर्ब ५ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । त्यस्तै विकास बैंकहरुले पर्यटन क्षेत्रमा २७ अर्ब २५ करोड रुपैयाँ लगानी गरेका छन् भने फाइनान्स कम्पनीहरुले ५ अर्ब ३७ करोड रुपैयाँ लगानी गरेका छन् । आर्थिक विकासको मुख्य आधार रहेको पर्यटक क्षेत्रको सुधारले पर्यटन व्यवसायीहरु पनि उत्साहित देखिएका छन् ।
चालु आर्थिक वर्षको भदौ मसान्तसम्म होटल तथा पर्यटन क्षेत्रमा अधिकांश बैंकहरुको लगानी बढेको छ । यस अवधिमा १५ वटा बैंकको लगानी बढेको छ भने ५ बैंकको लगानी घटेको छ ।
राष्ट्र बैंकका अनुसार होटल क्षेत्रमा कृषि विकास बैंकले ३२.७६ प्रतिशतले लगानी बढाएको छ । गत वर्षको सोही अवधिमा ४ अर्ब ५५ करोड लगानी गरेको बैंकले चालु आवको यस अवधिमा ६ अर्ब ४ करोड रुपैयाँ लगानी गरेको छ ।
त्यस्तै यस अवधिमा प्रभु बैंकले पनि होटल क्षेत्रमा ३२.३१ प्रतिशतले लगानी बढाएको छ । राष्ट्र बैंकका अनुसार पर्यटन क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकको लगानी २३.०६ प्रतिशत, एनएमबि बैंकको २०.८८ प्रतिशत र नेपाल बैंकको लगानी १४.२६ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार भदौं मसान्तसम्म यो क्षेत्रमा एनआईसी एशिया बैंकको लगानी १२.८२ प्रतिशतले घटेको छ । त्यस्तै माछापुच्छ्रे बैंक, स्ट्याण्डर्ड चार्टड, कुमारी र सिटिजन बैंक इन्टरनेशलको लगानी घटेको छ ।